सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पूर्वगाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियाको निधन

मङ्गलबार, २० माघ २०८२, ०७ : ५३
मङ्गलबार, २० माघ २०८२

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका नेता श्रीप्रसाद मुखियाको हृदयाघातका कारण निधन भयो।
  • यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष मुखियाको उपचारका क्रममा बाटोमै निधन भएको हो।
  • मुखिया रौतहटको राजनीतिमा प्रभावशाली र जुझारु नेताको रूपमा परिचित थिए।

रौतहट । नेपाल कम्युनिस्ट पार्टीका नेता श्रीप्रसाद मुखिया (चन्द्रिका) को हृदयाघातका कारण निधन भएको छ । यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका मुखियाको सोमबार राति उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

राति करिब १२ बजे अचानक हृदयाघात भएपछि उनलाई तुरुन्तै वीरगञ्ज लैजान खोजिएको थियो । जनयुद्धकालमा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका मुखिया रौतहटको राजनीतिमा एक प्रभावशाली र जुझारु नेताका रूपमा परिचित थिए । उनको असामयिक निधनको खबरले रौतहटको राजनीतिक तथा सामाजिक क्षेत्र स्तब्ध बनेको छ ।

मुखिया २०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा उनले गाउँपालिकाको विकास र सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण कार्य गरेको स्थानीयहरु सम्झन्छन् । पार्टी संगठन विस्तार र जनताको हकहितका लागि उनले जीवनभर खेलेको भूमिकाको सहकर्मी र शुभेच्छुकहरुले उच्च मूल्याङ्कन गरेका छन् ।

उनको निधनले पार्टीले एक निष्ठावान र इमानदार नेता गुमाएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् । मुखियाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज यमुनामाईस्थित उनकै निवासमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप