इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको हरेक इच्छा अनुसार आफूले काम नगर्ने बताएका छन् ।
- उनले ५० वर्षअघि इजरायलको रक्षा गर्ने क्रममा लेफ्टिनेन्ट कर्नल योनी नेतान्याहुलाई गुमाएको स्मरण गरे ।
- १९७६ मा भएको एयर फ्रान्स विमान अपहरण र त्यसपछि एन्टेबे विमानस्थलमा इजरायली कमाण्डोद्वारा गरिएको सफल उद्धार अभियानको यस लेखमा विस्तृत वर्णन गरिएको छ ।
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको हरेक इच्छा अनुसार आफूले काम नगर्ने प्रस्ट पारेका छन् । लेबनानमा इजरायली कारबाहीलाई समर्थन गर्ने ट्रम्पको टिप्पणीको जबाफमा आइतबार उनले यस्तो बताएका हुन् ।
आफ्नो दाजुलाई सम्झँदै नेतान्याहुले इजरायलको रक्षा गर्ने प्रतिबद्धता जनाए । उनले भने, '५० वर्षअघि मैले मेरो दाजु, इजरायलका नायक, लेफ्टिनेन्ट कर्नल योनी नेतान्याहुलाई गुमाएँ । उहाँको सम्झना सधैँ हामीसँगै छ ।'
बेन्जामिन नेतान्याहुका दाजु लेफ्टिनेन्ट कर्नल योनाथन नेतान्याहु को थिए ?
यो घटना १९७६ जुन २७ मा एउटा विमान अपहरणबाट सुरु भएको थियो, जब तेल अभिभबाट पेरिसतर्फ जाँदै गरेको एयर फ्रान्सको विमान एथेन्समा केहीबेरको विश्रामपछि गन्तव्यतर्फ उड्दै थियो । पेस्तोल र ग्रेनेड बोकेका चार यात्रुले सो विमानलाई नियन्त्रणमा लिए ।
कसैले विरोध गर्ने प्रयास गरेमा विमानलाई नै उडाइदिने धम्की अपहरणकारीले दिएका थिए । उनीहरूले पाइलटलाई लिबियाको बेन्गाजी सहरमा विमान लैजान आदेश दिए । चार अपहरणकारीमध्ये दुई प्यालेस्टिनी र दुई जर्मन नागरिक थिए ।
बेन्गाजीमा सात घण्टा रोकिएपछि इन्धन भरेर अपहरणकर्ताहरूले पाइलटलाई युगान्डाको एन्टेबे विमानस्थलमा विमान लैजान आदेश दिए ।
त्यतिबेला युगान्डामा तानाशाह इदी अमीनको शासन थियो । अपहरणकर्तासँग उनको सहानुभूति थियो । एन्टेबे विमानस्थलमा पुगेपछि अपहरणकारी समूहमा अन्य चार जना थपिए ।
उनीहरूले विमानमा रहेका यहूदी बन्धकहरूलाई अलग गरेर राखे । विश्वभरका जेलमा रहेका ५४ प्यालेस्टिनी कैदी रिहाइ गरिनुपर्ने उनीहरुको माग थियो । यसो गरिएन भने एक-एक गरी विमानका यात्री मारिदिने धम्की उनीहरुले दिए ।
एन्टेबे विमानस्थल इजरायलबाट लगभग ४,००० किलोमिटर टाढा थियो, त्यसैले कुनै पनि उद्धार अभियानको बारेमा सोच्न कठिन थियो । यसैबिच, यात्रुका आफन्तहरूले तेल अभिभमा विरोध प्रदर्शन गर्न थाले । तत्कालीन इजरायली प्रधानमन्त्री रबिनमाथि बन्धकहरूलाई कुनै पनि हालतमा रिहा गर्न दबाब बढ्दै गइरहेको थियो ।
मोसादले मोर्चा सम्हाल्यो
अपहरणकर्ताहरूले ४७ जना गैर-यहूदी यात्रुलाई रिहा गरे, जसलाई विशेष विमानमा पेरिस लगिएको थियो । इजरायली गुप्तचर संस्था 'मोसाद'का जासुसहरूले पेरिस पुगेका यात्रुहरूसँग कुरा गरेर एन्टेबेको बारेमा स-साना विवरण सङ्कलन गर्ने प्रयास गरे ।
मोसाद एजेन्टले केन्यामा एउटा विमान भाडामा लिएर एन्टेबेको आकाशमाथि उडान गर्दै तस्बिरहरू खिचे । बन्धकहरूलाई राखिएको एन्टेबे विमानस्थलको टर्मिनल एक इजरायली कम्पनीले निर्माण गरेको थियो ।
कम्पनीले टर्मिनलको नक्सा उपलब्ध गरायो । सोही नक्सासँग मिल्दो जुल्दो संरचना रातारात निर्माण गरेर इजरायली कमाण्डोहरूले सैन्य कारबाहीको अभ्यास गरे ।
इजरायलले केही घण्टा अघि लगभग असम्भव मानिएको सैन्य कारबाहीको लागि तयारी गर्यो । इजरायली सेनाका २०० उत्कृष्ट सिपाहीहरूलाई अप्रेसनका लागि छनोट गरिएको थियो ।
सम्पूर्ण मिसनको जिम्मेवारी ब्रिगेडियर जनरल डम शोमरोनलाई दिइएको थियो भने लेफ्टिनेन्ट कर्नल योनातन नेतान्याहुलाई फिल्ड अप्रेसनको जिम्मेवारी दिइएको थियो ।
कमाण्डो मिसनमा सबैभन्दा ठुलो बाधा भनेको एन्टेबे विमानस्थलस्थित रनवेका बत्तीहरू रातमा निभाइन्छ कि भन्ने थियो ।
यसैबीच, इजरायल सरकारले कमाण्डोहरूलाई सैन्य कारबाहीका लागि आवश्यक तयारी गर्न समय निकाल्न सकियोस् भनेर अपहरणकारीहरूसँग वार्ताको पहल गर्यो । इदी अमीनका साथी मानिने पूर्वसैन्य अधिकारी बार लेभलाई उनीहरूसँग वार्ता गर्न खटाइएको थियो । उनले अमीनसँग फोनमा धेरै पटक कुरा गरे, तर बन्धकहरूलाई मुक्त गर्न असफल भए ।
यसैबिच, इदी अमिन अफ्रिकी एकता संगठनको बैठकमा भाग लिन मौरिससको राजधानी पोर्ट लुइस गए, जसले इजरायललाई सैन्य कारबाहीको तयारी गर्न थप समय दियो ।
यस सम्पूर्ण मिसनको सबैभन्दा ठुलो चुनौती चार हजार किलोमिटरको यात्रा र त्यति नै दुरी फर्किनु थियो ।
इजरायलसँग तीन विकल्प थिए: पहिलो, विमान प्रयोग गरेर आक्रमण गर्ने । दोस्रो, डुङ्गाबाट घटनास्थलमा पुग्ने र तेस्रो, केन्याबाट सडक मार्ग हुँदै युगान्डा प्रवेश गर्ने ।
तर अन्ततः एन्टेबे पुग्न विमान नै प्रयोग गर्ने निर्णय गरियो । युगान्डाका सैनिकहरूले अवतरण गर्न लागेको विमानमा आफ्नै राष्ट्रपति अमीन विदेश यात्राबाट फर्किरहेका ठानुन् भन्ने गरी चलाखीपूर्ण रुपमा योजना बनाइयो ।
जुलाई ४ मा, चार हर्कुलस विमानहरू इजरायलको सिनाई बेसबाट उडान भरे । राडारबाट पत्ता लाग्नबाट बच्न केवल ३० मिटरको उचाइमा उड्दै तिनीहरूले इजिप्ट, सुडान र साउदी अरेबियामा लाल सागर पार गरे ।
बाटोमा इजरायली कमाण्डोहरूले युगान्डाका सैनिकहरूको पोशाक लगाएका थिए । विमानहरू उडेपछि मात्र इजरायली प्रधानमन्त्री रबिनले यस मिसनको बारेमा मन्त्रिपरिषद्लाई जानकारी गराए ।
सात घण्टाको निरन्तर उडानपछि पहिलो हर्कुलस विमान बिहान १ बजे एन्टेबेमा आइपुग्यो । अपहरणकर्ताहरूलाई अवतरण गर्न र पराजित गर्न सो सैन्य टोलीसँग केवल ६ मिनेटको समयमात्र थियो ।
त्यतिबेला रनवेका बत्ती बलिरहेका थिए । अवतरण गर्नुभन्दा आठ मिनेट अघि नै मिसनको समय कम गर्न हर्कुलसको र्याम्पहरू खोलिएको थियो ।
अवतरण गर्दा पाइलटले विमानलाई धावनमार्गको बिचमा रोके ताकि प्याराट्रूपरहरूको टोलीलाई झारियोस् र धावनमार्गमा पछाडि आउने विमानहरूको लागि उनीहरुले आपतकालीन बत्तीहरू बाल्न सकून् ।
इजरायली विमानबाट कालो मर्सिडिज कार झारिएको थियो । यो राष्ट्रपति अमिनले प्रयोग गरेको कारसँग धेरै मिल्दोजुल्दो थियो ।
कमाण्डोले भरिएका दुई ल्यान्डरोभर पछि लागे र तिनीहरू टर्मिनलतर्फ तीव्र गतिमा अघि बढ्न थाले । कमाण्डोहरूलाई टर्मिनल नपुगुन्जेल गोली नचलाउन आदेश दिइएको थियो ।
युगान्डाका सैनिकहरूले कालो मर्सिडिज कार देखेर इदी अमीन बन्धकहरूलाई भेट्न आएका हुन् भन्ने सोच्नेछन् भन्ने इजरायली टोलीको अपेक्षा थियो, तर उनीहरूलाई थाहा थिएन कि अमीनले केही दिन अघि आफ्नो कार परिवर्तन गरेका थिए । उनले सेतो मर्सिडिज कार प्रयोग गर्न थालेका थिए ।
यसले टर्मिनल बाहिर उभिरहेका युगान्डाका सैनिकहरू सशङ्कित भएर पोजिसनमा आए । इजरायली कमाण्डोहरूले साइलेन्सर जडित बन्दुकले उनीहरूलाई गोली हान्न थाले । त्यतिन्जेलसम्म इजरायली मिसनको पर्दाफास भइसकेको थियो ।
गोली चल्ने बित्तिकै कमाण्डरले कमाण्डोहरूलाई आफ्नो गाडीबाट ओर्लन र यात्रुहरूलाई राखिएको टर्मिनल भवनमा आक्रमण गर्न आदेश दिए । बुलहर्न प्रयोग गर्दै कमाण्डोहरूले अंग्रेजी र हिब्रू भाषामा बन्धकहरूलाई आफू इजरायली सैनिक रहेको र उनीहरूलाई उद्धार गर्न आएको बताए ।
उनीहरुले यात्रुहरूलाई तुरुन्तै सुत्न भने र अपहरणकारीहरू कहाँ छन् भनेर सोधे ।
यात्रुहरूले मुख्य हलमा जाने ढोकातिर औँल्याए । कमाण्डोहरू हाते ग्रेनेड फ्याँक्दै हलमा प्रवेश गरे । इजरायली कमाण्डोहरूलाई देखेपछि अपहरणकारीहरूले गोली चलाएका थिए ।
त्यसपछि भएको गोली हानाहानमा सबै अपहरणकारी मारिए ।
यस समयमा तीन जना बन्धकलाई पनि गोली लाग्यो । यसैबिच इजरायली सैनिक सवार दुई इजरायली विमान अवतरण गरे । उद्धार गरिएका बन्धकहरूलाई लैजान एउटा विमान खाली आएको थियो ।
एन्टेबेमा अवतरण गरेको बीस मिनेटभित्र बन्धकहरूलाई ल्यान्ड रोभरमा लोड गरेर खाली विमानमा लगिँदै थियो । अचानक युगान्डाका सैनिकहरूले गोली चलाइदिए र विमानस्थलको बत्तीहरू काटिदिए ।
सम्पूर्ण अप्रेसनमा केवल एक इजरायली सैनिकको मृत्यु भयो । नियन्त्रण टावरको माथिबाट चलाइएको गोली लेफ्टिनेन्ट कर्नल नेतान्याहुको छातीमा लाग्यो र उनको घटनास्थलमै मृत्यु भयो ।
एन्टेबे छोड्नु अघि प्रत्येक इजरायली सिपाहीको गणना गरियो । सैनिकहरूले घाइते नेतान्याहुलाई विमानमा राखे र उद्धार गरिएका यात्रुहरूलाई लिएर एन्टेबेबाट उडान भरे । त्यसपछि उनीहरूले एन्टेबेमा राखिएका ११ मिग विमानहरूलाई नष्ट गरे, ताकि आफूलाई पछ्याउन नसकून् ।
जुलाई ४ को बिहान उद्धार गरिएका १०२ यात्रु र इजरायली कमाण्डो नैरोबी हुँदै तेल अभिभ आइपुगे । यो सम्पूर्ण अप्रेसनलाई इजरायली इतिहासको सबैभन्दा साहसी कार्यमध्ये एक मानिन्छ ।
फर्कने क्रममा जोनाथन नेतान्याहुको मृत्यु भयो । अभियानमा सबै सात अपहरणकारीहरू र २० युगान्डाका सैनिकहरू मारिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण