सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा

सोमबार, ०८ असार २०८३, १७ : ३०
सोमबार, ०८ असार २०८३

सारांश

  • केप भर्डेले फिफा विश्वकपमा स्पेन र उरुग्वे जस्ता बलिया टोलीविरुद्ध बराबरी खेल्दै इतिहास रच्ने संघारमा पुगेको छ।
  • करिब ५ लाख २५ हजार जनसंख्या रहेको यस टापु राष्ट्रले विश्वकपमा दुई महारथीलाई कडा टक्कर दिएको छ।
  • यस प्रदर्शनपछि केप भर्डे नकआउट चरणमा पुग्ने बलियो दाबेदार बनेको छ र यो विश्वकपको सबैभन्दा सुन्दर कथाहरू मध्ये एक बन्दैछ।

केप भर्डेको विश्वकप यात्रा इतिहासको पानामा दर्ता हुनेछ । उनीहरू अब एक कदम अगाडि बढ्ने संघारमा छन्।

आफ्नो पहिलो विश्वकपै फिफा वरीयतामा ६५ स्थान माथि रहेको स्पेनसँग बराबरी खेल्दै उनीहरूले यसअघि नै सबैलाई आश्चर्यचकित पारिसकेका थिए।

‘द ब्लु सार्कस’ उपनामले चिनिने केप भर्डेकोले आइतबार खेलकुदको सबैभन्दा ठुलो मञ्चमा दुई पटकको विजेता उरुग्वेलाई बराबरीमा रोक्दै फेरि आफ्नो स्तर प्रमाणित गरे। अब उनीहरू नकआउट चरणमा प्रवेश गर्ने बलियो दाबेदार बनेका छन्।

रोमाञ्चक २-२ को बराबरीमा उनीहरू रचनात्मक, मनोरञ्जनात्मक र आत्मविश्वासी देखिए। स्पेनविरुद्धको खेलमा जस्तै यसपटक पनि उनीहरूले उच्च दृढता प्रस्तुत गरे।

विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार करिब ५ लाख २५ हजार जनसंख्या रहेको र आन्ध्र महासागरका १० वटा टापु मिलेर बनेको यस देशले विश्वकपका दुई महारथीलाई कडा टक्कर दिएको छ।

स्पेनविरुद्धको खेलअघि इन्स्टाग्राममा ४० हजार फलोअर्स रहेका गोलकिपर भोजिन्हाको फलोअर्स अहिले १ करोड ५० लाखभन्दा बढी पुगेको छ। यस खेलमा उरुग्वेलाई मात्र दुईवटा अन-टार्गेट सटमा सीमित राखेकाले भोजिन्हाले कुनै चामत्कारिक बचाउ गर्नु परेन, तर मैदानको अर्को छेउमा भने नयाँ नायकहरू जन्मिए।

cape-verde-2

बीबीसी वानमा बोल्दै वेल्सका पूर्व डिफेन्डर एस्ले विलियम्सले भने, ‘आफ्नो फलोअर्स कति पुगे भनेर उनीहरू फोन हेरिरहेका हुनेछन्।’

अमेरिका प्रवेश गर्न भिसा शुल्क महँगो भएका कारण भोजिन्हाकी आमा स्पेनविरुद्धको खेल हेर्न उपस्थित हुन सकेकी थिइनन्। तर मियामीमा भएको यस खेलमा भने उनी उपस्थित थिइन् र एक उत्कृष्ट खेल हेर्ने अवसर पाइन्।

पहिलो मिनेटदेखि नै केप भर्डेले आक्रामक खेल पस्किँदै उरुग्वेलाई दबाबमा राख्न निरन्तर बल अगाडि बढाउने प्रयास गर्‍यो। केप भर्डेको जाँगर र उत्साहसामु दक्षिण अमेरिकी महारथी उरुग्वे सुरुमै दबाबमा परेको थियो।

त्यसपछि इतिहास रच्ने क्षण आयो। केभिन पिनाले ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा उरुग्वेका खेलाडीहरूले बनाएको पर्खाल उफ्रिँदा फाट्न पुग्यो। त्यही बिचबाट छिरेको बल गोलकिपर फर्नान्डो मुसलेरालाई पार गर्दै गोलमा परिणत भयो। उनीहरूको पहिलो गोलसँगै केप भर्डेको राजधानीमा खुसियाली छायो।

उरुग्वेविरुद्धको खेलअघि विश्लेषकहरूले उनीहरूलाई कमजोर आँकेका थिए। बीबीसी वानमा विलियम्स र बेनी म्याकार्थी दुवैले केप भर्डेले हार्ने भविष्यवाणी गरेका थिए। तर, उनीहरूले त्यो अनुमानलाई गलत साबित गरिदिए।

विपक्षीको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल भयो र खेल बराबरीमा पुग्यो। हेलियो भरेलाले उत्कृष्ट टचमार्फत अगाडि बढेका गोलकिपर मुसलेरालाई छक्याउँदै सुन्दर गोल गरे।

त्यसपछि स्पेनविरुद्ध जस्तै उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै केप भर्डे एक अंक जोड्न सफल भयो। रक्षात्मक खेलसँगै उनीहरूले आक्रामक रणनीतिलाई पनि निरन्तरता दिँदै पूरै तीन अंक खोस्ने प्रयास गरिरहे।

यस प्रदर्शनपछि दक्षिण अफ्रिकाका पूर्व स्ट्राइकर म्याकार्थीले केप भर्डेप्रति आफ्नो सम्मान झनै बढेको बताए। वेल्सका पूर्व डिफेन्डर विलियम्सले आफूले कभर गरेका विश्वकप खेलमध्ये यो अहिलेसम्मकै ‘सबैभन्दा मनोरञ्जनात्मक’ खेल भएको दाबी गरे।

म्याकार्थीले भने, ‘उनीहरू साँच्चै खेल्नकै लागि मैदानमा आएका थिए। उनीहरूको प्रदर्शन सानदार रह्यो। मलाई उनीहरू निकै निडर लागे। उनीहरूले अट्याकिङ थर्डमा पुगेपछिको मुभमेन्ट, शान्त स्वभाव र खेलको अन्तिम क्षणमा लिने निर्णयमा भने सुधार गर्न आवश्यक छ। यस प्रदर्शनपछि उनीहरूले धेरैको मन जितेका छन् भन्ने मलाई लाग्छ।’
cape-verde-3

अमेरिकाको एक फ्यान पार्कमा बीबीसी स्पोर्टसँग कुरा गर्दै केप भर्डेका एक समर्थकले भने, ‘सबैले हामीमाथि शंका गरे, हामी अगाडि बढ्न सक्दैनौँ भन्ने सबैलाई लागेको थियो। तर आज हामी यहाँ छौँ।’

यस्ता भनाइले केप भर्डेको वर्तमान माहोललाई प्रस्ट पार्छ। यो टोली यस वर्षको विश्वकपको सबैभन्दा सुन्दर कथामध्ये एक बनिरहेको छ।

  • सुरुवाती दुई खेलमा अपराजित : के केप भर्डे नकआउट चरणमा पुग्ला ?

उरुग्वेसँगको बराबरीपछि दुई अंकसहित केप भर्डे समूह ‘एच’ को तेस्रो स्थानमा छ। उरुग्वेको पनि समान दुई अंक छ।

यस पटकको विस्तारित विश्वकपको नयाँ फर्म्याटका कारण आफ्नो पहिलो विश्वकपमै केप भर्डेलाई नकआउट चरणमा पुग्ने राम्रो अवसर छ। उनीहरूले समूह चरणको अन्तिम खेलमा शनिबार साउदी अरबको सामना गर्नेछन्। साउदी अरबले उरुग्वेसँग १-१ को बराबरी खेलेको थियो भने स्पेनसँग ४-० को लज्जास्पद हार बेहोरेको थियो।

बीबीसी वानमा म्याकार्थीले भने, ‘यस्तो प्रदर्शनका आधारमा उनीहरूले साउदी अरबलाई हराउनेछन् भन्ने मलाई लाग्छ।’

तेस्रो स्थानमा रहने उत्कृष्ट १२ मध्ये ८ टोली अन्तिम ३२ मा प्रवेश गर्नेछन् भने प्रत्येक समूहका शीर्ष दुई टोली स्वतः छनोट हुनेछन्। साउदी अरबविरुद्धको जितबाट प्राप्त हुने तीन अंक उनीहरूलाई अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ।

यसअघि हालको केप भर्डे (६३औँ स्थान) भन्दा तल्लो वरीयतामा रहेर नकआउट चरणमा पुग्ने टोलीमा नाइजेरिया (सन् १९९८ मा ७४औँ) र रुस (सन् २०१८ मा ७०औँ) मात्र हुन्।

केप भर्डेको आत्मविश्वासबारे विलियम्सले भने, ‘हामी छनोट हुन सक्छौँ भन्ने उच्च मनोबलका साथ उनीहरू साउदी अरबविरुद्ध मैदानमा उत्रिनेछन्।’

cape-verde-4

  • अंक जोड्न सफल केप भर्डेको खेल ‘हेर्न लायक’

बीबीसी रेडियो फाइभ लाइभमा बोल्दै इंग्ल्यान्डकी पूर्व फरवार्ड सु स्मिथले डेब्युटान्ट टोलीको प्रदर्शनको सार प्रस्तुत गरिन्। उनले भनिन्, ‘केप भर्डेको प्रदर्शन फेरि पनि उत्कृष्ट रह्यो।’

उनीहरूले १२ वटा सट प्रहार गर्दा ४ वटा अन-टार्गेट थिए, जुन उरुग्वेको भन्दा दुईले बढी हो। खेलमा फर्कन र जितको खोजी गर्न उनीहरूले दोस्रो हाफमा बढी अवसर सिर्जना गरेका थिए। विश्रामपछिको समयमा मात्र उनीहरूले १० सट प्रहार गरेका थिए।

स्मिथले थपिन्, ‘यो टोलीको कथा अघि बढिरहेको छ।’

वेल्सका पूर्व डिफेन्डर विलियम्सका अनुसार केप भर्डेको प्रदर्शन स्पष्ट रूपमा ‘एक अंकको हकदार’ थियो। उनले थपे, ‘केप भर्डे उत्कृष्ट थियो। खेलको अन्त्यसम्म पनि उनीहरू जित चाहन्थे, त्यो पनि उरुग्वे जस्तो बलियो टोलीविरुद्ध।’

यो बराबरीसँगै उनीहरू सन् २००२ मा सेनेगलपछि आफ्नो सुरुवाती दुई विश्वकप खेलमा अपराजित रहने पहिलो डेब्युटान्ट टोली बनेका छन्।

स्कटल्यान्डका पूर्व फरवार्ड जेम्स म्याकफ्याडेनले भने, ‘मेरो लागि सबैभन्दा ठुलो कुरा केप भर्डेले खेलमा कति रमाइरहेको छ भन्ने हो। उनीहरूले भरपूर आनन्द लिइरहेका छन्। उनीहरूलाई खेल्दै गरेको हेर्नु निकै रमाइलो छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप