निर्वाचन नलडेका कांग्रेस शीर्ष नेता गृह जिल्ला जान थाले
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि देखिएको विवाद समाधान हुन सकेको छैन।
- निर्वाचनमा उम्मेदवार नबनेका कांग्रेसका शीर्ष नेताहरू आफ्नो गृह जिल्ला पुगेर चुनावी प्रचार प्रसारमा जुटेका छन्।
- सर्वोच्च अदालतमा विचाराधीन विवाद र पार्टीभित्रको असन्तुष्टिले आगामी निर्वाचनमा असर पार्ने देखिएको छ।
काठमाडौँ । विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि देखिएको नेपाली कांग्रेसभित्रको विवाद अझै समाधान भएको छैन ।
१४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहको बहिस्कारबिच गत पुस २७ देखि ३० गतेसम्म भएको भएको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा चुनिएका थिए । त्यो विशेष महाधिवेशनविरुद्ध देउवा र डा. कोइराला समूह निर्वाचन आयोगमा गएको थियो । तर, माघ २ गते आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि विवाद सर्वोच्चसम्म पुगेको छ । सर्वोच्चले विवादको निरूपण नगर्दै प्रतिनिधिसभा निर्वाचन नजिकमा आइसकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रको विवादका कारण अधिकांश शीर्ष नेता उम्मेदवार बनेका छैनन् ।
उम्मेदवार नबनेका नेताहरू आफ्ना गृह जिल्ला नजाँदा समस्या हुने देखिएको थियो । निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू बद्री पाण्डे, उमाकान्त चौधरी र जीवन परियार निर्वाचनमा उम्मेदवार छैनन् । पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला तथा नेताहरू बालकृष्ण खाण, रमेश लेखक, बलबहादुर केसी पनि उम्मेदवार छैनन् । महामन्त्री शर्मा विशेष महाधिवेशनबाट उपसभापतिमा सर्वसम्मत चयन भएकाले पार्टीको ‘निर्वाचन परिचालन समिति’को संयोजक भएर काम गरिरहेका छन् । यस्तै चाहनाविपरीत उम्मेदवार बन्न नपाएका नेताहरू बिस्तारै जिल्लामा जान थालेका छन् । जसले कांग्रेस एक रहेको भन्ने सन्देश दिएर माहौल सुध्रिएको नेताहरू बताउँछन् ।
निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति खड्का, पूर्वमहामन्त्री डा. कोइरालाबाहेका नेताहरू निर्वाचनको प्रचार प्रसारका लागि गृह जिल्लामा पुगेका हुन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह भने काठमाडौँमा निर्वाचनका कार्यक्रममा देखिएका छैनन् ।
अहिले निर्वाचन नलडेका निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू बालकृष्ण खाण, रमेश लेखकलगायतका नेताहरू गृह जिल्ला पुगेका छन् ।
निवर्तमान सहमहामन्त्री पाण्डेले निर्वाचन नलडी पार्टीको काममा लाग्ने घोषणा गरेका थिए । पाण्डे अघिल्लो सातादेखि गृह जिल्ला बाजुरामा छन् ।
अर्का निवर्तमान सहमहामन्त्री परियार भने गृह जिल्ला कास्की पुगेर चुनावी प्रचार प्रसारमा छन् । उनी माघ ११ गते नै कास्की पुगेर चुनावी प्रचार प्रसारमा लागिरहेका थिए ।
निवर्तमान उपसभापति धनराज गुरुङ पनि गृह जिल्ला स्याङ्जामा छन् । उनले स्थाङ्जामा पुगेर फागुन २१ गतेको निर्वाचन बनाउने र भत्काउनेबीचको प्रतिस्पर्धा भएको बताएका छन् । ‘बनाउन गाह्रो हुन्छ तर भत्काउन सजिलो हुन्छ । यसपालीको निर्वाचन बनाउने र भत्काउने बिचको प्रतिस्पर्धा हो,’ गुरुङले स्याङ्जा पुगेर निर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गर्न लागेको तस्बिर सामाजिक सञ्जालमा राखेर लेखेका छन् ।
त्यस्तै कांग्रेस नेता बालकृष्ण खाण र रमेश लेखक पनि गृह जिल्ला पुगेका छन् । खाण गृह जिल्ला रुपन्देहीमा सोमबारबाट निर्वाचन लक्षित कार्यक्रममा सहभागी भइरहेका छन् । निवर्तमान गृहमन्त्री लेखक स्थानहद फुकुवापछि माघ १२ गते पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । उनी अझै गृहजिल्लामै छन् ।
निवर्तमान सभापति देउवाको स्थानमा अहिले युवा नेता नैनसिंह महर उम्मेदवार बनेका छन् । महरले पनि देउवा प्रचार प्रसारका लागि डडेलधुरा जाने जानकारी दिए । ‘मैले काठमाडौँ पुगेर उहाँलाई भेटेर आएको छु । उहाँले डडेलधुरा आउँछु भन्नुभएको छ,’ महरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण