बागलुङ–१ मा पुराना दललाई विरासत जोगाउने र नयाँलाई प्रतिष्ठा बनाउने चुनौती
सारांश
- बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको चहलपहल सुरु भएको छ, जसमा विभिन्न दलका उम्मेदवारहरूको सक्रियता बढेको छ।
- २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस क्षेत्रमा कांग्रेस, एमाले, रास्वपा र जनमोर्चाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
- अघिल्लो निर्वाचनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका थिए, तर यसपटक उनको उत्तराधिकारीलाई जित निकाल्न चुनौती छ।
बागलुङ । प्रतिनिधि सभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवारहरूको सक्रियता बढ्न थालेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसमेत समेटिएको क्षेत्र नम्बर १ लाई नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्नो गढका रूपमा लिँदै आएका छन् ।
२०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले जितेको थियो । त्यसबेला हालको क्षेत्र नम्बर २ को गलकोट र ताराखोलासहितका केही स्थान क्षेत्र नम्बर १ मा थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका हरि खड्का १३ हजार ५०० मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हिराबहादुर केसीले ११ हजार ९६३ मत प्राप्त गरेका थिए ।
यस्तै, तत्कालीन माओवादीका कृष्णबहादुरले केसीले ६ हजार ३ र राष्ट्रिय जनमोर्चाका तीर्थसिंह थापाले दुई हजार १५९ मत प्राप्त गरेका थिए । एमालेका उनै केसी यसपाली पनि चुनावी मैदानमा छन् । संविधान सभा निर्वाचनमा केसीलाई पराजित गरेका हरिबहादुरको दुर्घटनामा मृत्यु भएपछि २०७१ चैतमा संविधान सभा सदस्य उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनमा नेपाली कांग्रेसकी चम्पादेवी खड्का विजयी भइन् । उनी स्वर्गीय हरि खड्काकी धर्मपत्नी हुन् । चम्पादेवीले १७ हजार १५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी एमालेकी मना केसीले १५ हजार ६८ मत ल्याएकी थिइन् । सो निर्वाचनमा माओवादीका कृष्ण केसी नै उम्मेदवार थिए । उनले २ हजार ५०५ मत पाएका थिए । जनमोर्चाका नेत्र बुढाथोकीले एक हजार ९४९ मत पाएका थिए । केसी र बुढाथोकीको जमानत नै जफत भएको थियो ।
०७० को संविधान सभा सदस्य र ०७१ को उपनिर्वाचनमा विजय प्राप्त गरेको नेपाली कांग्रेसले २०७४ मा वाम गठबन्धन हुँदा हार व्यहोर्नु परेको थियो भने २०७९ मा जनमोर्चासँग तालमेल गर्दा उम्मेदवारी दिन पाएको थिएन ।
०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका सूर्य पाठक निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसकी चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पराजित गरे । पाठकले ३३ हजार ६५७ मत पाउँदा खड्काले २० हजार ६१६ मत प्राप्त गरेकी थिइन् ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत पाँच दलीय गठबन्धन भएको थियो, जसमा कांग्रेसले प्रदेश सभाका दुई सांसद पाएको थियो । प्रतिनिधि सभातर्फ सोही गठबन्धनका साझा उम्मेदवारका रूपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका थिए ।
चित्रबहादुरले २१ हजार ४६४ मत पाएका थिए भने एमालेका पाठकले १८ हजार ८४५ मत पाए । त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खीमानन्त कँडेलले ९ हजार १९१ मत पाएका थिए । रास्वपाले कुनै संगठनबिनै यस क्षेत्रमा उल्लेख्य मत पाएको थियो ।

- जनमोर्चा–नेकपा गठबन्धन, अरु ‘सिङ्गल–सिङ्गल’
यस पटकको निर्वाचनमा बागलुङ–१ मा ११ जना उम्मेदवार छन् । त्यसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा कांग्रेसबाट भीम श्रीस, एमालेबाट हिराबहादुर केसी, जनमोर्चा–नेकपा गठबन्धनबाट कृष्णप्रसाद अधिकारी र रास्वपाबाट सुशील खड्का चुनावी मैदानमा छन् ।
अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्दा यस क्षेत्रमा नेपाली कांग्रेस पहिलो बनेको थियो । कांग्रेसले १६ हजार ४९३, एमालेले १५ हजार ४२८, रास्वपाले ७ हजार ८७७ र नेकपा–जनमोर्चाको ८ हजार ३२५ मत छ । अहिले नयाँ शक्तिको माहोल बढ्दै गएको हुँदा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । पुराना दललाई विरासत जोगाउने र नयाँलाई स्थापित हुने दबाब छ ।
जेनजी आन्दोलनपछि चुनाव हुन लागेकाले कसले बाजी मार्ला भन्नेमा आकलन गर्न गाह्रो छ । कांग्रेस, रास्वपा र जनमोर्चाले नयाँ उम्मेदवार उठाए पनि एमालेले पुरानै अनुहार दोहो-याएको छ । एमालेले उम्मेदवार बनाएका हिराबहादुर केसीको हारको शृङ्खला लामो छ । उनी ०७० को संविधान सभा सदस्यको चुनावदेखि ०७९ को प्रदेश सभा सदस्यमा समेत पराजित भएका हुन् ।

गत मंसिर २७ मा काठमाडौँमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा समेत केसी पराजित भएका थिए । कांग्रेसका श्रीस, गठबन्धनका अधिकारी र रास्वपाका खड्काले चुनावको पहिलो अनुभव लिँदैछन् ।
- चित्रबहादुरको उत्तराधिकारीलाई जित निकाल्न चुनौती
अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका थिए । नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको सहयोगमा निर्वाचित भएका केसी यसपाली समानुपातिकमा बसेर उनको सचिवालयमा लामो समय काम गरेका कृष्णप्रसाद अधिकारीलाई जनमोर्चाले उम्मेदवार बनाएको छ ।
यस क्षेत्रमा जनमोर्चाको सांगठनिक मत र नेकपाको साथलाई लिएर परिणाम आफ्नो पक्षमा पार्ने दाउमा अधिकारी छन् । तर पछिल्लो समय कमजोर बन्दै गएको जनमोर्चाको संगठन र कम मत भएको नेकपासँगको गठबन्धनले जित आफ्नो पोल्टामा पार्न त्यत्ति सहज भने छैन । त्यसमाथि नयाँ दलको आक्रामक उदयले जित निकाल्न ठुलो मेहनत गर्नुपर्ने देखिन्छ ।
- कांग्रेस–एमालेलाई पनि धक्का
०७९ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले लिएको मत यसपाली थप बढ्ने धेरैको आकलन छ । अघिल्लो पटक रास्वपाका खीमानन्द कँडेलले ९ हजार १९१ मत पाएका थिए । यसपाली पनि टिकट पाउने आशामा रहेका कँडेललाई पन्छाएर रास्वपाले सुशीललाई उम्मेदवार बनाएसँगै कँडेल बिच्किएका छन् । उनले सामाजिक सञ्जालबाटै विरोध गरिरहेका छन् ।

कँडेलसहित केही रास्वपा नेताले खड्कालाई सहयोग गरे कांग्रेस र एमाले उम्मेदवारलाई भारी पर्ने र विगतको नतिजामा फेरबदल ल्याउने देखिन्छ । खड्का बागलुङ बजारवासी भएको हुँदा बजारी क्षेत्रबाट ठुलो मत रास्वपाले आफ्नो पक्षमा ल्याउने आकलन छ ।
यद्यपि गाउँमा भने रास्वपाको सांगठनिक संरचना कमजोर छ । कांग्रेस, एमालेको सबै तहबाट सांगठानिक मत सही रूपमा पाए रास्वपालाई पनि गाह्रै पर्ने देखिन्छ ।
- यस्तो छ पालिकाको मत
दुई गाउँ र दुई नगर गरी यस क्षेत्रमा चार पालिका छन् । जसमध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्व छ भने जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको नेतृत्व छ । स्थानीय तहमा पनि नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादीको गठबन्धा थियो ।
यस क्षेत्रमा ३७ वडा छन् । बागलुङ नगरपालिकाको १४ वटा वडा मध्ये १, ३, ८, ९, ११, १२, १३ र १४ वडा नेपाली कांग्रेस, वडा नम्बर २, ४, १० नेकपा, वडा नम्बर ५, ६ र ७ नेकपा एमालेले जितेको छ ।
१० वटा वडा रहेको जैमिनीमा वडा नम्बर १, २, ५, ७, ८ नेपाली कांग्रेस, ३, ४, ६ नेकपा, वडा नम्बर ९ नेकपा एमाले र वडा नम्बर १० राष्ट्रिय जनमोर्चाले जितेको छ ।
८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा वडा नम्बर १, ५, ६, ८ नेपाली कांग्रेस, २, ३, ७ नेकपा एमाले र वडा नम्बर ४ राष्ट्रिय जनमोर्चाले जितेको छ ।
राष्ट्रिय जनमोर्चाको गढ मानिने बरेङ गाउँपालिकामा ५ वटा वडा छन् । वडा नम्बर १ र २ राष्ट्रिय जनमोर्चा, वडा नम्बर ४ र ५ नेपाली कांग्रेस र वडा नम्बर ३ नेकपा एमालेले जितेको छ ।
यस क्षेत्रमा ४८ मतदानस्थलको ११५ वटा मतदान केन्द्र छन्, जसमा ९८ हजार आठ सय ४६ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण