रोकिएन बालेनको वेग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले मोरङ र सुनसरीका विभिन्न स्थानमा चुनावी अभियान चलाए, तर धेरै समर्थकले उनलाई भेट्न सकेनन्।
- बालेनले सप्तकोशीमा डुङ्गा चढेर धार्मिक विधि अनुसार पूजा गरेर सांस्कृतिक पक्षलाई पनि जोड दिए।
- राजनीतिक विश्लेषकका अनुसार बालेन शाहको लोकप्रियताले पुराना दलहरूलाई दबाबमा पारेको छ, जसले गर्दा चुनावी नतिजा अप्रत्याशित हुनसक्छ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार मोरङ र सुनसरीका दर्जनौँ स्थानमा पुगे, तर जुन–जुन स्थानमा उनी पुगे, कतिपय समर्थकले उनको अनुहारको झल्को मात्र देख्न पाए भने कतिपयले देख्नै पाएनन् ।
बालेन शाहको सचिवालयले मंगलबार अबेर सार्वजनिक गरेको सेड्युलअनुसार उनी मोरङको क्षेत्र नम्बर १ अन्तर्गत उर्लाबारीदेखि क्षेत्र नम्बर ३, २, ४ र ६ का विभिन्न स्थानमा पुगेका थिए । ती स्थानहरूमा बालेन आउने हल्लासँगै समर्थकहरूको भिड लागेको थियो । बालेन पुगेका अधिकांश स्थानमा भिड देखिन्थ्यो । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पथरीमा भने उनले तुलनात्मक रूपमा लामो समय बिताएका थिए । त्यहाँ उनले करिब १० मिनेट समय दिएको उक्त क्षेत्रका उम्मेदवार गणेश कार्कीले बताए ।
त्यसबाहेक क्षेत्र नम्बर १ अन्तर्गत उर्लाबारी, लेटाङ तथा विराटनगरमा उनले २–३ मिनेट मात्र समय दिए । विराटनगरमा त जिल्ला कार्यालय रहेको फुटबल चोकमा गाडीबाटै हात हल्लाउँदै समर्थकलाई अभिवादन गरी उनी सुनसरीको दुहबीतर्फ प्रस्थान गरे ।

बुधबारको उनको कार्यतालिका निकै व्यस्त थियो । बिहान ७ बजे मोरङको उर्लाबारीबाट निस्किएका बालेन ७ बजेर २० मिनेटमा पथरी पुगेका थिए । त्यहाँ उनले १० मिनेट समय खर्चेर पार्टीको क्षेत्र नम्बर ३ को कार्यालयमा नेता तथा कार्यकर्तासँग भेटघाट गरे । त्यसपछि उनको यात्रा लेटाङ, डाइनिया र रंगेली हुँदै विराटनगरसम्म पुगेको थियो । मोरङको कार्यक्रम सकेपछि उनी सुनसरी प्रवेश गरे । विराटनगरबाट निस्किएपछि उनी दुहबी, इटहरी र इनरुवा हुँदै बराहक्षेत्रसम्म पुगे । दिनभरको दौडधुपपछि उनी दिउँसो करिब ३ बजे उदयपुरतर्फ प्रस्थान गरेका थिए ।
बालेनको यस प्रकारको तीव्र चुनावी अभियानले देशव्यापी तरङ्ग सिर्जना गरेको छ । तराईका जिल्ला होऊन् वा पहाडी भेग, जहाँ पुगे पनि उनको सेड्युल उस्तै व्यस्त रहने गरेको छ र भिडभाड पनि उल्लेख्य देखिन्छ । जब बालेन गाडीको सनरुफबाट बाहिर निस्केर हात हल्लाउँछन् र घण्टी बजाउँछन्, सयौँ युवाहरू उनलाई छुन र तस्बिर खिच्न तँछाडमछाड गरिरहेका देखिन्छन् । यो दृश्यले उनीप्रतिको समर्थकहरूको बलियो भरोसा झल्काउँछ ।
बालेनले बुधबार नै सप्तकोशीको पानीमा डुङ्गा चढेर धार्मिक विधिअनुसार पूजा गरेका थिए । यसबाट उनले सांस्कृतिक मूल्य र मान्यतालाई पनि सँगसँगै अघि बढाउन चाहन्छन् भन्ने सन्देश दिन खोजेको देखिन्छ । त्यसक्रममा उनले केही धार्मिक र सभ्यतासम्बन्धी कुरा पनि गरेका थिए ।
बुधबारका कुनै पनि भेटघाट कार्यक्रममा नबोलेका बालेनले सामाजिक सञ्जाल फेसबुकमा सप्तकोशीमा बोटिङ गर्दै गरेको तस्बिर साझा गर्दै खुवालुङ सप्तकोशी क्षेत्र किराँती तथा नेपालीहरूका लागि पवित्रस्थल रहेको र यसलाई मुन्धुममा सभ्यताको द्वार मानिने बताएका छन् । ‘मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो । यसले किराती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्छ,’ उनले लेखेका छन् ।
उनको यो स्टाटसले पहिचान र संस्कृति संरक्षणको आन्दोलन गरिरहेका कोशी प्रदेशका किराँत धर्मावलम्बीहरूको समर्थन लिन खोजिएको देखिन्छ ।
मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार तथा रास्वपा नेता गणेश कार्कीका अनुसार बालेन शाहको यो चुनावी दौड केवल एक जिल्लामा सीमित छैन । कार्की भन्छन्, ‘बालेनजीले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने लक्ष्य राख्नुभएको छ । सोही योजनाअनुसार उहाँले कोशी र सुदूरपश्चिमका अधिकांश क्षेत्र भ्याइसक्नुभएको छ ।’

कार्कीका अनुसार बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मात्र होइन, देशका हरेक निर्वाचन क्षेत्रमा पुगेर पार्टीलाई जिताउने संकल्प लिएका छन् । उनलाई प्रश्नबाट भाग्ने गरेको भन्ने आरोपको खण्डन गर्दै कार्कीले भने, ‘उहाँ प्रश्नबाट भाग्नुहुन्न, बरु जतिसक्दो धेरै प्रश्न आओस् भन्ने चाहनुहुन्छ । ती सबै प्रश्न र जिज्ञासाको एकमुष्ट जवाफ रास्वपाले चुनावी मैदानबाटै दिनेछ ।’
बालेन शाहको बढ्दो क्रेज र वैकल्पिक राजनीतिको उदयले पुराना दलहरूलाई दबाबमा पारेको देखिन्छ । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नेकपासँग मिलौँ भन्ने प्रस्ताव राख्नु पनि यही परिस्थितिको परिणाम हो ।
‘एमाले अध्यक्ष ओलीले नेकपासँग एकता वा सहकार्यको प्रस्ताव राख्नुले उनी अत्तालिएको स्पष्ट हुन्छ । बालेन शाह र रास्वपाप्रति देखिएको जनलहरले ठुला भनिएका दलहरूको सातो उडाएको छ,’ पोखरेलले भने ।
पोखरेलका अनुसार बालेनले अहिले सामाजिक सञ्जाल र सडकमा पाइरहेको क्रेजलाई मतदानको दिनसम्म भोटमा रूपान्तरण गर्न सके अपेक्षाभन्दा धेरै मत ल्याउने सम्भावना छ । ‘अहिलेको मुख्य चुनौती भनेकै यो क्रेजलाई कसरी मतपत्रमा झार्ने भन्ने हो,’ उनले भने ।
बालेन शाहको यो तीव्र गतिले नेपाली राजनीतिमा पुराना खेलाडीहरूलाई पुनर्विचार गर्न बाध्य तुल्याएको र आगामी निर्वाचनको परिणाम अप्रत्याशित हुनसक्ने पोखरेलको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण