शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

हुम्लामा पुराना दललाई टासी ल्हान्जोमले टक्कर दिन सक्लिन् ?

बिहीबार, २२ माघ २०८२, १० : ३३
बिहीबार, २२ माघ २०८२

सारांश

  • हुम्ला जिल्लाको चुनावमा विभिन्न दलका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ, जसमा नेकपा, एमाले, र कांग्रेसका उम्मेदवारहरू छन्।
  • कांग्रेसका जयपती रोकाया, एमालेका दल फडेरा, र नेकपाबाट डा. दीपेन्द्र रोकाया प्रमुख उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।
  • रास्वपाकी टासी ल्हान्जोम र प्रलोपाका जटिल कार्कीले पनि प्रतिस्पर्धामा भाग लिँदैछन्, जसले चुनावलाई थप रोचक बनाएको छ।

सुर्खेत । कर्णालीको हिमाली जिल्ला हुम्लामा यस पटकको चुनावमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ११ जनाले उम्मेदवारी दर्ता गराएको हुम्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट डा. दीपेन्द्र रोकाया, नेकपा एमालेबाट दल फडेरा र कांग्रेसबाट जयपती रोकायाको उम्मेदवारी छ ।

यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जटिल कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टासी ल्हान्जोमलगायत चुनावी मैदानमा छन् । 

कांग्रेसका उम्मेदवार रोकाया यसअघि पार्टीको जिल्ला सभापति भइसकेका व्यक्ति हुन् । २०७९ मा समानुपातिक उम्मेदवार भए पनि सांसद बन्न सकेका थिएनन् । हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य हुन् । एमालेका फडेरा ०७४ मा गाउँपालिका अध्यक्ष जितेका, ०७९ मा पुनः अध्यक्षमा लडेर पराजित भएका नेता हुन् । यति मात्र होइन, उनी ०७९ को प्रदेश सभा चुनावमा समेत टिकट पाएर पराजित नेता हुन् ।

प्रदेशमा उनी गोरख बोगटी समूहका नेता हुन् । बोगटीकै जोडबलमा उनले पुनः टिकट ल्याउन सफल भए । सोही कारण दल रावलले टिकट पाउन सकेका थिएनन् ।

नेकपाले भने  डाक्टर दीपेन्द्र रोकायालाई उम्मेदवार बनाएको छ । उसो त रोकाया ०७९ मै चुनाव लड्ने तयारीमा थिए । तर प्रचण्डले उनलाई त्यो वेला रोकेर छिरिङ डम्डुललाई टिकट दिए । रोकाया माओवादीभित्र बौद्धिक तथा इमानदार छवि भएका युवा नेताका रूपमा चिनिन्छन् ।

कर्णाली योजना आयोगको सदस्य बनेर उनले कर्णालीको प्रथम पञ्चवर्षीय गुरुयोजना निर्माण गरी ‘विकासको कर्णाली मोडल’ अगाडि बढाए । १० वर्षे सशस्त्र युद्धका क्रममा युद्ध पत्रकारिता गरेका उनी लेखकसमेत हुन् । कर्णालीको इतिहास सम्बन्धित ‘कर्नालीको मर्म’ नामक पुस्तकमा कर्णालीको वर्तमान र भावी योजना समेटेका छन् । उनलाई बलिया उम्मेदवारका रूपमा हेरिएपनि माओवादीबाटै विभाजित भएर बनेको प्रलोपाबाट उम्मेदवार बनेका सहिदपुत्र जटिलले नेकपाको मत क्षति गर्ने आकलन गरिएको छ ।

३० वर्षीय जटिलका बुबालाई ०५८ साल जेठमा तत्कालीन सरकारले गिरफ्तार गरी हत्या गरेको थियो । ०७० सालमा माओवादी निकट विद्यार्थी संगठनमा आबद्ध उनी सीटीईभीटीको उपत्यका जिल्ला समितिमा सदस्य, सचिवालय सदस्य हुँदै सीटीईभीटी राष्ट्रिय समितिको प्रमुख सचिव भए । यसअघिको राष्ट्रिय सम्मेलनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । 

यसैगरी रास्वपाकी टासीको उम्मेदवारीले तीन दल दबाबमा देखिन्छन् । हुम्लामा ३४ हजार ३७२ कुल मतदाता संख्या छ । भौगोलिक विकटता र अधिकांश जिल्ला बाहिर हुने हुँदा यहाँ मत संख्या निकै कम खस्छ । यद्यपि यहाँ लामा समुदायका मतदाता रिसाउन सक्ने उम्मेदवारले चुनाव जित्न सक्ने आकलन विगतदेखिनै गर्ने गरिएको छ । 

अन्य दलबाट सो समुदायका उम्मेदवार नरहँदा रास्वपाले रास्वपाले टासीलाई उम्मेदवार बनाएको हो  । उनी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीबाट मन्त्री बन्ने तयारीमा थिइन् । तर, उनको नाममा विवाद भएको थियो । पछि रास्वपाबाट समानुपातिक बन्दसूचीमा अटाइन् । तर त्यहाँबाट पनि नाम हटाएर रास्वपाले उनलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएर हुम्ला पठाएको हो । उनी जलवायु अभियन्ता हुन् ।

विगतको नतिजा

२०७९ को निर्वाचनमा कांग्रेसको समर्थन पाएका माओवादीका छिरिङ डम्डुल लामाले १४ हजार ४७१ मतसहित चुनाव जितेका थिए ।

एमालेका दल रावलले ९ हजार ५१६ पाउँदा राप्रपाका उम्मेदवारले ३७८ मत मात्रै पाए । उक्त चुनावमा प्रत्यक्षतर्फ जम्मा तीन जना उम्मेदवार थिए । यद्यपि समानुपातिकमा कांग्रेसले सबैभन्दा बढी ८ हजार १९२ मत पाएको थियो । माओवादीले ७ हजार ३६३, एमालेले ५ हजार ९०७, एकीकृत समाजवादीले १ हजार २१ मत पाएका थिए । प्रदेश सभातर्फको समानुपातिकमा भने माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रोमा छन् ।

त्यो बेला माओवादी र समाजवादीले पाएको मत जोड्दा अहिले नेकपा नै पहिलो दल हो । ७ वटा स्थानीय तह रहेको हुम्लामा एमालेले एउटा पनि स्थानीय तह निर्वाचन जितेको छैन । कांग्रेस र माओवादीले ३/३ स्थानीय तह जितेका थिए भने एक स्वतन्त्र उम्मेदवारले जिते । प्रदेश सभातर्फ पनि(१)मा माओवादीका रणसिंह परियारले ६ हजार ४८१ मतसहित चुनाव जित्दा स्वतन्त्र (कांग्रेस बागी)उम्मेदवार दिएका मंगलबहादुर शाहीले दोस्रो स्थानमा ४ हजार ६३० मत ल्याएका थिए । हाल एमालेबाट उम्मेदवार बनेका फडेराले जम्मा २ हजार ९८ मत पाएका थिए ।

(२)मा भने कांग्रेसका प्रभावशाली नेता जीवनबहादुर शाहीले चुनाव जिते । उनले ७ हजार ५६ मत पाउँदा एमालेबाट चुनाव लडेका छम्कबहादुर लामाले २ हजार ९७९ मत पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप