मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्धविश्वासले निम्त्यायो सडक दुर्घटना : ‘अशुभ’ भन्दै ट्राफिक ऐना घुमाउने महिला पक्राउ

आइतबार, २५ माघ २०८२, १२ : ४८
आइतबार, २५ माघ २०८२

सारांश

  • साङ्घाईमा एक महिलाले फेंगशुईको विश्वासमा बाटोको ऐना घुमाउँदा शृङ्खलाबद्ध दुर्घटना भए।
  • महिलाले आफ्नो स्वास्थ्य समस्याको कारण ऐनालाई दोष दिएकी थिइन् र दिशा परिवर्तन गरेकी थिइन्।
  • प्रहरीले ती महिलालाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र ज्यान जोखिममा पारेको आरोपमा कारबाही गर्यो।

साङ्घाई । चीनको साङ्घाईमा एक महिलाले आफ्नो खराब स्वास्थ्य र दुर्भाग्यको कारण ‘फेंगशुई’ बिग्रेको भन्दै बाटोको ट्राफिक ऐना नै घुमाइदिएपछि छिमेकमा शृङ्खलाबद्ध कार दुर्घटनाहरू भएका छन्। 

आफ्नो घरको ठिक अगाडि एक दशकदेखि रहेको ट्राफिक ऐनाले ‘नकारात्मक ऊर्जा’ दिएको अन्धविश्वासका कारण ती महिलाले पटक-पटक ऐनाको दिशा परिवर्तन गरिदिएकी थिइन्। ती महिलाका श्रीमानका अनुसार केही समययता स्वास्थ्य बिग्रिएपछि उनीहरूले फेंगशुई विशेषज्ञलाई बोलाएका थिए, जसले उक्त ऐनालाई समस्याको जड बताएका थिए।

चिनियाँ पौराणिक कथामा मानिसको भेषमा रहेका राक्षसलाई चिन्ने ‘राक्षस ऐना’ (डिमन-रिभिलिङ मिरर) सँग तुलना गर्दै ती दम्पतीले आफ्नो घरतर्फ फर्किएको ऐनाले अशुभ गर्ने दाबी गरेका थिए। छिमेकीहरूले उक्त ऐना चालकहरूको सुरक्षाका लागि अनिवार्य रहेको बताएपछि व्यवस्थापन समितिले बिचको बाटो निकाल्दै सडकको अर्को तर्फ अर्को ऐना थपिदिएको थियो। 

सुरुमा सहमति जनाए पनि फेरि आफ्नो भाग्य बिग्रिएको महसुस हुनासाथ ती महिलाले दुवै ऐनाको दिशा बिगारिदिइन्, जसका कारण मोडमा गाडीहरू ठोक्किएर दुर्घटना हुन थाले।

फेंगशुई अर्थात् हावा र पानीको बहाव मिलाएर सुख र समृद्धि मिल्ने विश्वासमा डुबेकी ती महिलालाई छिमेकी र व्यवस्थापन समितिले सम्झाउने प्रयास गरे पनि उनले मानिनन्। अन्ततः प्रहरीलाई खबर गरियो र प्रहरीले उनलाई कडा चेतावनी दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र ज्यान जोखिममा पारेको आरोपमा कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

फेंगशुईको नाममा गरिएको यस्तो हर्कतले कसैको ज्यान जान सक्ने भन्दै अहिले साङ्घाईका स्थानीयहरूले सामाजिक सञ्जालमा ती महिलाको चर्को आलोचना गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप