प्रलोपा उपयुक्त विकल्प हुन सक्छ : मनऋषि धिताल
सारांश
- जुम्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल उम्मेदवार छन्, जो यसअघि माओवादीमा थिए।
- उनले चुनावको तयारी तीव्र पारेका छन्, र जनतामा उत्साह देखेका छन्, नयाँ विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्दै।
- धितालले पुराना नेताहरूबाट वाक्क भएका मतदाता र युवा पुस्ताको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।
सुर्खेत । जुम्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल उम्मेदवार छन् । उनी ०७९ को निर्वाचनमै उम्मेदवार बन्न चाहन्थे तर अन्तिम समयमा गोमा गौतमलाई उम्मेदवार बनाइएको थियो । अहिले धिताल प्रचण्डको पार्टी एकीकरणमा सहभागी नभई जनार्दन शर्मा नेतृत्वको प्रलोपामा छन् ।
युद्ध पत्रकारसमेत रहेका धिताल बौद्धिक वर्गमा चिनिएका नेता हुन् । उनीसँग गरिएको चुनाव केन्द्रित छोटो कुराकानीः
- माओवादीमा पसिना बगाएको मान्छे अहिले प्रलोपामार्फत गृहजिल्ला जुम्लामा उम्मेदवार बन्नुभयो, के–कस्तो तयारी भइरहेको छ ?
चुनावको तयारी तीव्र रूपमा अगाडि बढेको छ । उम्मेदवारी दर्तापछि ८ वटा स्थानीय तहमध्ये ६ वटामा पुगेर पहिलो चरणको सामान्य भेटघाटका कार्यक्रम गरेँ, अब दुई वटामात्र बाँकी छन् । ६० वटा वडामा हाम्रा सम्पर्क व्यक्तिहरू खटिसक्नुभएको छ । लामो समय बाहिर भए पनि अब जुम्लाको सेवामा खटिनुपर्छ भन्ने मनोभावनाका साथ चुनावी मैदानमा होमिएको हो ।
- जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
मप्रति जनतामा उत्साह देखिएको छ । अहिलेसम्म पुराना पार्टी र अनुहारहरूलाई मात्र देखिरहेका जनताका लागि म नयाँ विकल्पका रूपमा आएको हो । जुम्लाका जनताले शिक्षा, स्वास्थ्य र विकासमा परिवर्तन चाहेका छन् । मैले लामो समयदेखि युवाहरू र समुदायमा काम गरेकाले उहाँहरूले मप्रति भरोसा देखाउनुभएको छ । पुराना नेतृत्वबाट जनता आजित भइसकेकाले यस पटक नयाँ सोच र जोसलाई मतदान गर्ने मुडमा हुनुहुन्छ । जुम्लाले मलाई खोजेको छ ।
- जुम्लामा तपाईंकै पूर्वसहकर्मी नरेश भण्डारी, ज्ञानेन्द्र शाही लगायतका उम्मेदवार चुनाव मैदानमा छन् । तपाईंको पार्टी संगठन पनि त्यहाँ छैन, तर पनि चुनाव लड्नु भयो नि ?
लोकतन्त्रमा प्रतिस्पर्धा हुनु राम्रो कुरा हो । जनताले अब व्यक्तिभन्दा पनि एजेन्डा र काम गर्ने शैली हेर्नुपर्छ । पुराना उम्मेदवारहरूले पटक–पटक अवसर पाउनुभयो तर जुम्लाको अवस्था जहाँको त्यहीँ छ । मेरो मुख्य आधार भनेको जुम्लाका युवाहरू र यहाँका आधारभूत समस्यासँगको मेरो निकटता हो ।
म जनताको प्रतिनिधित्व गरेर शासन बदल्ने र विकासको नयाँ मोडेल ल्याउने उद्देश्यका साथ आएको हुँ । जनताले यस पटक फरक र नयाँ विकल्प खोजिरहेकाले म जित्नेमा विश्वस्त छु ।
- भर्खरै दल गठन भएको छ, संगठन पनि छैन । यसले अप्ठ्यारो पर्दैन ?
हो, हाम्रो संगठन विस्तार भइरहेको अवस्था होइन । हाम्रो पार्टी भर्खरै युवाहरूको आन्दोलनबाट जन्मिएको शक्ति हो । पुरानो ढाँचाको संगठन नभए पनि हामीसँग ३० वर्षदेखि राजनीति र सामाजिक क्षेत्रमा काम गरेका अनुभवी साथीहरू हुनुहुन्छ । हामी नयाँ र भिन्न किसिमको संगठनात्मक संरचना बनाउँदैछौँ ।
ठुला भनिएका पार्टीहरूका संगठनमा पनि अहिले असन्तुष्टि छ । प्रतिस्पर्धा को बिच हुन्छ भन्ने त चुनावपछि नै थाहा होला । अहिलेसम्म जुम्ली जनताको अभिमत लिएर काठमाडौँमा व्यक्तिगत नायकत्त्व मात्रै स्थापित गर्ने काम भयो, बाहुबली मान्छेहरू नै यहाँका मुक्तिदाता हुन् भन्ने भाष्य छ । त्यो ठाउँमा मजस्ता पात्र जाँदा बाहुबली होइन, सरल मान्छेहरू पनि हाम्रो नेता हुनसक्छ भन्ने भावना जनतामा पाएको छु ।
विशेषगरी नयाँ पुस्ता र पुराना पार्टीहरूसँग निराश भएका मतदाताहरूको ठुलो हिस्सा हामीसँग जोडिएको छ ।
- तपाईंकै पूर्वसहकर्मीदेखि अन्य उम्मेदवारले तपाईंलाई कमजोर उम्मेदवारका रूपमा चित्रण गरेका छन् नि ?
हैन, त्यो त उहाँहरूको अलोकतान्त्रिक र सङ्कीर्ण सोच हो । लोकतन्त्रमा कसैले पनि ‘यो मेरोमात्र भोट हो’ भन्न मिल्दैन । हामी कसैको भोट काट्न होइन, जनताको विश्वास जित्न आएका हौँ । हामीले आफ्नो एजेन्डा लिएर चुनाव लड्ने अधिकार राख्छौँ । जनताले कसलाई चुन्ने भन्ने कुरा उहाँहरूकै विवेकमा भर पर्छ । हामी जित्ने लक्ष्यका साथ मैदानमा छौँ । जुम्ला थाहै होला– सांसद नदोहोर्याउने जिल्ला हो । त्यो विकल्प मै पनि हुन सक्छु । जनताका लागि प्रलोपा एउटा विकल्प हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाद समाधानकाे जिम्मा रविलाई दिइएपछि बन्दसत्र सुरु, तस्बिरहरू
-
‘यो त बाहिरवालाको सरकार हो, यसले नेपाली जनताको हित गरेन’
-
सरकारमा जाँदा संगठन कमजोर भएको जनमत पार्टीको निष्कर्ष
-
भारतीय केन्द्रीय राज्यमन्त्री जर्ज कुरियनद्वारा राजीनामा, मोदी मन्त्रिपरिषद्मा हेरफेरको सम्भावना
-
गर्मीले रास्वपा महाधिवेशनका क्रममा दुई जना बेहोस
-
महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण