बालबाटिकाका विद्यार्थीको प्रस्तुति: सहिदकी आमाको पीडा देख्दा दर्शकका आँखा रसाए
सारांश
- बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलले २१औँ वार्षिक अभिभावक दिवस मनायो, जहाँ विद्यार्थीहरूले विशेष नाटकीय नृत्य प्रस्तुत गरे।
- नृत्यमा जेनजी आन्दोलन र त्यसले समाजमा पारेको प्रभावलाई देखाइएको थियो, जसमा आमा र छोराको द्वन्द्वलाई जीवन्त रूपमा उतारिएको थियो।
- कार्यक्रममा विद्यार्थीहरूले देशप्रेम, क्रान्तिका दृश्यहरू प्रस्तुत गरे, र आमाको पीडादायी संवादले दर्शकलाई भावुक बनायो।
काठमाडौँ । राजधानीको बालाजुस्थित बालबाटिका पाठशाला (बालबाटिका इन्टरनेशनल स्कुल)ले शनिबार आफ्नो २१औँ वार्षिक अभिभावक दिवस सम्पन्न गरेको छ । राजधानीको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको एक विशेष नाटकीय नृत्यले हलमा उपस्थित सबैलाई भावुक बनायो ।
हालैको जेनजी आन्दोलन र त्यसले समाजमा पारेको गहिरो प्रभावलाई समेटेर तयार पारिएको उक्त प्रस्तुतिमा छोराले देश परिवर्तनका लागि आन्दोलनमा जान गरेको अठोट र आमाको ममताबीचको द्वन्द्वलाई जीवन्त रूपमा उतारिएको थियो ।
प्रस्तुतिको सुरुमा आमा र छोराबीचको मर्मस्पर्शी संवाद थियो । आमाले "त्यहाँ के हुन्छ थाहा छैन, नजा" भनी रोक्दा छोराले "तपाईंहरूको पुस्ताले गर्न नसकेको कुरा अब हामी गर्नेछौँ" भन्दै क्रान्तिको बाटो रोजेको दृश्यले सुरुमै दर्शकको ध्यान खिचेको थियो ।
त्यसपछिको सामूहिक नृत्यमा देशप्रेम, क्रान्तिका दृश्यहरूलाई कलात्मक ढंगले देखाइयो । विशेषगरी पृष्ठभूमिमा गुन्जिएको "ब्युँझौँ जन्मजात नेपाली..." बोलको गीत र विद्यार्थीहरूको अभिनयको तालमेल निकै लोभलाग्दो थियो ।
प्रस्तुतिको अन्त्यतिर आन्दोलनमा छोराको मृत्यु भएपछि आमाले पोखेको पीडाले दर्शकहरूलाई स्तब्ध बनायो । आमाको भूमिकामा रहेकी छात्राले "मेरो छोराको तातो रगत अझै मेरो छातीमा पोलिरहेको छ, मेरो छोरालाई सहिद नबनाइदिनुस्, सहिदलाई त सबैले बिर्सिन्छन्" भन्दै गरेको कारुणिक संवादले हलमा सन्नाटा छाएको थियो ।

सरकारले दिने '१० लाख' राहतलाई छोराको रगतसँग तुलना नगर्न र "प्राण र पैसा एउटै होइन" भन्दै सत्तामा बस्नेहरूलाई गरिएको खबरदारीले प्रस्तुतिलाई थप अर्थपूर्ण बनाएको थियो ।
कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले किताबी ज्ञानका साथै विद्यार्थीहरूलाई देशको यथार्थ, इतिहास र सामाजिक संवेदनाका साथै संस्कारका बारेमा पनि सिकाएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा विद्यार्थीहरूले अन्य विभिन्न सांस्कृतिक नृत्य, गीत र प्रहसनहरू पनि प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल रमेश प्रसाईंले जानकारी दिए । उनले बालबाटिकाले संस्कारसहितको व्यवहारिक शिक्षालाई जोड दिँदै आएको बताउँदै आगामी दिनमा पठन पाठनलाई थप परिस्कृत बनाउँदै लगिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
-
२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार
-
नेपालमा सार्वजनिक भयो जीडब्लुएम ओरा ५ ईभी, एकपटकको चार्जमा ५२० किमिसम्म चल्ने दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण