नेपालले निर्णय लिनेबित्तिकै भारतीय सेनामा गोर्खा भर्ती सुचारु हुन्छ: पूर्वमहानिर्देशक सिंह
काठमाडौँ । भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोर्खा भर्ती प्रक्रिया अस्थायी भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल सरकारले निर्णय लिनेबित्तिकै यो प्रक्रिया पुनः सुचारु हुने दाबी गरेका हुन्।
नेपाल र भारतबिचको सम्बन्ध शताब्दीऔँ पुरानो रहेको उल्लेख गर्दै उनले गोर्खा सैनिकबारे देखिएका हालका असमझदारीहरू छिट्टै हल हुने विश्वास व्यक्त गरे। अग्निवीर योजनाका कारण सिर्जित अन्योलताबारे प्रस्ट पार्दै सिंहले यसलाई 'सेटब्याक' नभई युवाहरूका लागि अवसरका रूपमा लिनुपर्ने तर्क गरे।
ऐतिहासिक सन्दर्भ जोड्दै उनले सन् १९७५ सम्म पनि भारतीय सेनामा सात वर्षे सेवा अवधि रहने गरेको र त्यो पेन्सनयोग्य नभएको स्मरण गराए। ‘यो प्रणाली युवाहरूलाई अनुशासित बनाउने र उनीहरूलाई सक्षम बनाएर नागरिक समाजमा फिर्ता पठाउने अवधारणामा आधारित छ,’ उनले भने। नेपालको चासो सम्बोधन भएपछि भर्ती प्रक्रिया पुरानै लयमा फर्कने र गोरखाहरू भारतीय सेनाको अभिन्न अङ्ग बनिरहने उनको भनाइ छ।
कार्यक्रममा सिंहले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि कनेक्टिभिटीका कारण व्यावहारिक रूपमा 'सामुद्रिक राष्ट्र' नै भएको धारणा राखे। भारतको ९६ प्रतिशत तेल र नेपालमा आउने इन्धन समुद्रबाटै आपूर्ति हुने भएकाले समुद्री सुरक्षाले नेपाललाई प्रत्यक्ष असर गर्ने उनले उल्लेख गरे। भारतको 'सागरमाला' परियोजनामार्फत बन्दरगाह कनेक्टिभिटीमा सुधार भएको र यसले नेपालको सामान ढुवानीको समय घटाएर व्यापारमा ठुलो सहजीकरण गरेको उनले दाबी गरे।
दुई देशबीचको सम्बन्धलाई दशक वा वर्षमा नभई साझा इतिहास र सभ्यताका आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै उनले आपसी सहयोग र समन्वयका साथ अघि बढ्नुपर्ने बताए। भर्ती प्रक्रियामा देखिएको अवरोधलाई प्राविधिक विषयका रूपमा व्याख्या गर्दै उनले दुवै देशको सहमतिमा यो छिट्टै टुङ्गिने सङ्केत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण