शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रणवीर सिंहलाई ज्यान मार्ने धम्की, कडा बनाइयो सुरक्षा व्यवस्था

मङ्गलबार, २७ माघ २०८२, २१ : ०३
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की आएको छ, फिरौतीको माग गरिएको छ।
  • मुम्बई प्रहरीले रणवीरको घरको सुरक्षा बढाएको छ र घटनाको अनुसन्धान सुरु गरेको छ।
  • धम्की एउटा भ्वाइस नोट मार्फत आएको थियो, जसलाई फरेन्सिक जाँचको लागि पठाइएको छ।

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहलाई मंगलबार ज्यान मार्ने धम्की आएको छ ।

एक ह्वाट्सएप भ्वाइस नोटमार्फत करोडौं रुपैयाँ फिरौतीको माग गरिएको हो । भारतीय अनलाइन पत्रिका भाष्करका अनुसार धम्की आएलगत्तै मुम्बई प्रहरीले रणवीरको बान्द्रास्थित निवासबाहिर सुरक्षा व्यवस्था कडा पारेको छ । थप प्रहरी बल परिचालन गरिएको छ र आवागमनमाथि कडा निगरानी राखिएको छ । 

यो घटना जनवरी ३१ मा फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर भएको पाँच राउन्ड गोलीकाण्डपछि आएको हो, जसले मुम्बई प्रहरीलाई थप सचेत बनाएको छ । 

प्रहरी अधिकारीहरूले बताएअनुसार धम्कीपूर्ण भ्वाइस नोटमा आरोपीले आफूलाई गम्भीर अपराधसँग सम्बन्धित रहेको बताएको छ । ठुलो रकम नदिए नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको छ । प्रहरीले भ्वाइस नोटलाई फरेन्सिक अनुसन्धानका लागि पठाएको छ । 

मुम्बई प्रहरीको साइबर सेल र क्राइम ब्रान्च मिलेर ह्वाट्सएप नम्बर र भ्वाइस स्याम्पलका आधारमा आरोपीको लोकेसन पत्ता लगाउन जुटेका छन् । प्रारम्भिक अनुसन्धानमा धम्की दिने व्यक्ति कुनै आपराधिक गिरोहसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । 

प्रहरीले रणवीर सिंहलाई आएको धम्कीको रोहित शेट्टीको घरमा भएको गोलीकाण्डसँग सीधा सम्बन्ध छ वा यो डर फैलाउने षड्यन्त्र मात्र हो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । प्रहरीले चाँडै नै आरोपीलाई पक्राउ गर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप