रातो बाँदर फेरि एक वर्ष ‘हानिकारक वन्यजन्तु’ घोषणा, धपाउन र समात्न अनुमति
सारांश
- वन मन्त्रालयले जङ्गली रातो बाँदरलाई थप एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ।
- किसानहरूले आफ्नो खेतबारीमा नोक्सानी गर्ने बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाउनेछन्, तर केही सर्तहरू पालना गर्नुपर्नेछ।
- बाँदर मरेमा स्थानीय प्रतिनिधि र स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडा गरी वन कार्यालयमा जानकारी गराउनुपर्नेछ।
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले किसानको खेतीबालीमा क्षति पुर्याउने जङ्गली रातो बाँदरलाई थप एक वर्षका लागि ’कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ । यसअघि २०८१ माघ १० गते सरकारले जङ्गली रातो बाँदरलाई पहिलो पटक कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले फेरि २०८२ माघ २९ गते राजपत्रमा सूचना प्रकाशित गर्दे दोस्रो पटक यो व्यवस्था लागू गरेको हो ।
बाँदर धपाउन के गर्न पाइन्छ ?
अब किसानहरूले आफ्नो निजी खेत, खला वा बारीमा आई बालीनाली वा धनजनको हानि नोक्सानी पुर्याउने रातो बाँदरलाई विना इजाजत धपाउन, लखेट्न वा पक्रन पाउनेछन् । यो निर्णयले लामो समयदेखि बाँदरको आतङ्कबाट पीडित किसानहरूलाई ठुलो राहत दिने अपेक्षा गरिएको छ ।
मन्त्रालयले यो सुविधा प्रयोग गर्दा केही निश्चित सर्तहरू पालना गर्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । किसानले एकल वा सामूहिक रूपमा बाँदरलाई नियन्त्रणमा लिन सक्ने भए पनि समातिएको बाँदरलाई तत्कालै नजिकैको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, डिभिजन वन कार्यालय वा सो मातहतका कार्यालयमा बुझाउनुपर्नेछ । यसका साथै बाँदर नियन्त्रणमा लिइएको जानकारी स्थानीय वडा कार्यालयलाई पनि दिनुपर्नेछ । यद्यपि, यो व्यवस्था राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रभित्र भने लागू हुने छैन । ती क्षेत्रहरूमा बाँदरलाई धपाउन वा पक्रन अझै पनि निषेध गरिएको छ ।
मरेमा मुचुल्का
बाँदर धपाउने, लखेट्ने वा पक्रने क्रममा यदि बाँदरको मृत्यु भएमा त्यसको प्रक्रिया अझ कडा बनाइएको छ । यस्तो अवस्थामा सम्बन्धित वडाका एक प्रतिनिधि र कम्तीमा पाँच जना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडा गरेर मात्र मरेको बाँदरलाई गाड्नु पर्नेछ ।
यसरी बाँदर मरेको जानकारी र मुचुल्का सम्बन्धित वन कार्यालय र वडा कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । सरकारले यो सम्पूर्ण प्रक्रियाको नियमित अनुगमन गर्ने र हरेक दुई महिनामा सम्बन्धित निकायले मन्त्रालय र विभागमा विवरण पेस गर्नुपर्ने नियम तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण