मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अटो

‘ईभीको क्रेज बढे पनि लामो दूरी र दुर्गमका लागि अझै ३० प्रतिशत बजार पेट्रोल गाडीकै छ’

शुक्रबार, ०१ फागुन २०८२, १६ : ००
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • एमएडब्लु ग्रुपले काठमाडौँको चन्द्रागिरि हिल्समा स्कोडाको नयाँ एसयूभी 'काइल्याक' सार्वजनिक गर्‍यो।
  • 'काइल्याक' नेपाली बजारको लागि उपयुक्त, १.० लिटरको टीएसआई इन्जिन र सुरक्षा मापदण्डसहितको छ।
  • एमएडब्लु ग्रुपका अध्यक्षका अनुसार, विद्युतीय र पेट्रोल दुवै गाडीको बजार आफ्नो ठाउँमा छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले मंगलबार काठमाडौँको चन्द्रागिरि हिल्समा एक कार्यक्रमको आयोजना गरी युरोपेली ब्रान्ड स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी ‘काइल्याक’ सार्वजनिक गरेको छ । 

नेपालको भौगोलिक बनावट सुहाउँदो मानिएको यो गाडीले पावर, पर्फमेन्स र सुरक्षाका दृष्टिले नेपाली बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । स्कोडाको २.० रणनीति अन्तर्गत तयार पारिएको यो गाडीमा १.० लिटरको टीएसआई इन्जिन रहेको छ । जसले ११५ ब्रेक हर्स पावर र १७८ एनएम टर्क गाडी नेपाली बजारमा ल्याएको हो ।

म्यानुअल भेरियन्टको ४५ लाख ९० हजार र अटोमेटिकको ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ । विद्युतीय सवारी को बढ्दो क्रेजका बिच पेट्रोलियम पदार्थबाट चल्ने गाडी ल्याउनुको औचित्य, एमएडब्लुको ६ दशक लामो व्यावसायिक यात्रा, ग्राहकको विश्वास र समग्र अटोमोबाइल क्षेत्रको भविष्यबारे एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश:

  • चन्द्रागिरिको यो उचाइमा स्कोडाको नयाँ एसयूभी ‘काइल्याक’ सार्वजनिक भएको छ । यो नयाँ गाडीबाट नेपाली बजारमा कस्तो बजार पाउने अपेक्षा राख्नुभएको छ ?

–आज हामी अत्यन्तै उत्साहित छौँ । स्कोडा एउटा यस्तो युरोपेली ब्रान्ड हो । जसले नेपाली ग्राहकको मनमा गहिरो छाप छोड्न सफल भएको छ । आज सार्वजनिक भएको काइल्याक विशेष गरी नेपालजस्तो भौगोलिक विविधता भएको देशका लागि डिजाइन गरिएको हो । यसमा भएको १.० लिटरको टीएसआई इन्जिनले दिने ११५ ब्रेक हर्स पावर र १७८ एनएम टर्क नेपाली उकालो–ओरालो र अफरोड बाटोका लागि पर्याप्त मात्र होइन, उत्कृष्ट पनि छ । हामीले यसको सुरुवाती मूल्य ४५ लाख ९० हजार (म्यानुअल) र ५२ लाख ९० हजार (अटोमेटिक) तोकेका छौँ । जुन यो सेगमेन्टमा उपलब्ध अन्य गाडीको तुलनामा निकै प्रतिस्पर्धी र आकर्षक छ । 

यसले ग्राहकलाई भ्यालु फर मनी दिनेछ भन्नेमा म विश्वस्त छु । यो गाडीले स्कोडाको ड्राइभिङ डाइनामिक्स र सेफ्टीलाई कम्प्याक्ट एसयूभी सेगमेन्टमा पुनः परिभाषित गर्नेछ । 

  • पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीसाधनको प्रयोग अत्यधिक रूपमा हुन थालेको छ । धेरै कम्पनीहरू डिजेल–पेट्रोल गाडीका नयाँ सेगमेन्टलाई प्राथमिकता दिनुभयो ? 

–यो एकदमै महत्त्वपूर्ण प्रश्न हो । अहिले ईभीको बजार हिस्सा बढ्दो छ र एमएडब्लु ग्रुप स्वयंले पनि दीपाल, सेरेस र नामीजस्ता उत्कृष्ट विद्युतीय गाडीहरू बिक्री गरिरहेको छ । तर, हामीले के बिर्सनु हुँदैन भने आज पनि नेपालको अटोमोबाइल बजारको करिब ३० प्रतिशत हिस्सा आईसीई अर्थात् पेट्रोल/डिजेल गाडीकै छ । 

हाम्रो भौगोलिक अवस्था, लामो दूरीको यात्रा, चार्जिङ पूर्वाधार नपुगेका दुर्गम स्थानहरूको यात्रा र अफरोड ट्र्याकहरूमा अझै पनि पेट्रोल गाडीको माग र आवश्यकता उत्तिकै छ । 

अझै नेपाली बजारमा एउटा ठुलो जमात छ । जसलाई लामो दूरीमा निस्फिक्री यात्रा गर्न पेट्रोल गाडी नै रोज्ने गरेका छन् । ईभीले सहर र सुगम ठाउँमा राम्रो गरिरहेको छ तर ३० प्रतिशतको यो ठुलो बजारलाई हामीले बेवास्ता गर्न मिल्दैन । 

स्कोडा काइल्याक त्यही वर्गका ग्राहकहरूका लागि हो जसले युरोपेली प्रविधि, सुरक्षा र पर्फमेन्स खोजिरहेका छन् । त्यसैले ईभी र आईसीई दुवैको बजार आफ्नै ठाउँमा छ । 

एमएडब्लुले ईभीलाई बाहिर राखेर आईसीईलाई मात्रै प्राथमिकता दिएको छैन । कम्पनीले ईभी र आईसी दुवै प्रकारका गाडी प्रयोग गर्ने  ग्राहकको मागलाई सम्बोधन गर्ने गरी अघि बढ्ने योजना बनाएको छ। 

  • एमएडब्लु ग्रुपले ६ दशकभन्दा लामो समयदेखि नेपाली अटोमोबाइल क्षेत्रमा काम गरिरहेको छ । यो लामो यात्रा र सफलतालाई कसरी लिनुभएको छ ? 

–एमएडब्लु ग्रुप सन् १९६४ मा स्थापना भएको हो। विगत ६० वर्षभन्दा लामो समयदेखि हामीले निरन्तर नेपाली ग्राहकलाई सेवा दिइरहेका छौँ । हाम्रो सफलताको मूल मन्त्र नै ग्राहक केन्द्रित सेवा र विश्वास हो। हामी एउटा यस्तो अटोमोबाइल कङ्लोमरेट हौँ । जसले मोटरसाइकलदेखि हेभी इक्विपमेन्टसम्म र प्यासेन्जर कारदेखि कमर्सियल भेहिकलसम्म सबै क्षेत्रमा उपस्थिति जनाएको छ। हामीले यामाहा मोटरसाइकल, जेसीबी हेभी इक्विपमेन्ट, जिप , स्कोडा, फोटोन जस्ता विश्वस्तरीय ब्रान्डहरू नेपाली बजारमा स्थापित गरायौँ । 

आज हामीसँग २ हजार भन्दा बढी दक्ष कर्मचारीहरू कार्यरत छन् । देशभर ५८० भन्दा बढी टच प्वाइन्टहरू मार्फत हामी सेवा दिइरहेका छौँ । हामीले केवल गाडी मात्रै बेचेका छैनौँ । 

हामीले सम्बन्ध बेचेका छौँ । स्पेयर पार्ट्सको उपलब्धता र आफ्टर सेल्स सर्भिसमा हामीले कहिल्यै सम्झौता गरेनौँ । यही निरन्तरता र प्रतिबद्धताले नै हामीलाई यहाँसम्म ल्याएको हो भन्ने लाग्छ । 

  • ‘स्कोडाको पार्ट्स महँगो हुन्छ भन्ने सुनिन्छ । अहिलेको अवस्था कस्तो छ ?

– स्कोडाको व्यवसाय हामीले सन् २००७ बाट सुरु गरेका हौँ । करिब १८ वर्षको यो यात्रामा धेरै उतारचढाव आए ।  सुरुवाती दिनमा मानिसहरूमा पार्ट्स महँगो हुन्छ कि भन्ने चिन्ता थियो । तर स्कोडा चढ्ने ग्राहकहरूले यसको वास्तविक भ्यालु बुझ्नुभएको छ । स्कोडाका गाडीहरू टिकाउ हुन्छन्। एकपटक किनेपछि वर्षौँसम्म ढुक्क हुन्छ । 

हामीले पार्ट्सको उपलब्धता र सर्भिसको गुणस्तरलाई यति सुलभ बनाएका छौँ । ग्राहकले मर्मत खर्चको चिन्ता लिनुपर्दैन। स्कोडा चढ्ने बानी परेका ग्राहकले अपग्रेड गर्दा पनि स्कोडा नै खोज्ने गर्नुभएको छ । जुन हाम्रो लागि ठुलो सम्पत्ति हो। 

  • नेपाली सडकमा सुरक्षा सधैँ चासोको विषय बन्ने गरेको छ । काइल्याक र समग्र स्कोडाका गाडीहरू सुरक्षाका दृष्टिले कस्ता छन् ?

–युरोपेली गाडीहरूको पहिलो प्राथमिकता नै सुरक्षा हो । स्कोडाले सुरक्षामा कहिल्यै सम्झौता गर्दैन । हाम्रा गाडीहरू बलियो स्टिल र आधुनिक सुरक्षा प्रविधिले बनेका हुन्छन् । 

काइल्याकमा पनि त्यही युरोपेली सुरक्षा मापदण्ड अपनाइएको छ । यसमा ६ वटा एयरब्याग, ईएससी र उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । परिवारको सुरक्षा चाहनेहरूका लागि यो गाडी पहिलो रोजाइ बन्न सक्छ । 

  • अहिले देशको आर्थिक अवस्था अलि सुस्त देखिन्छ । अटोमोबाइल क्षेत्र पनि यसबाट प्रभावित छ । तपाईंले आगामी दिनलाई कसरी हेर्नुभएको छ ?

–पक्कै पनि पछिल्लो समय अर्थतन्त्रमा केही शिथिलता देखिएको छ । तर म सधैँ आशावादी छु। व्यवसायमा चक्रहरू आइरहन्छन्। कोभिडको समय र त्यसपछिको आर्थिक मन्दीले चुनौती थपेको थियो।  तर अब बिस्तारै सुधारको सङ्केत देखिन थालेको छ । तरलताको अवस्था सहज बन्दैछ र सरकार पनि अर्थतन्त्र चलायमान बनाउन सकारात्मक देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप