सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पुँजी बजारमा सूचनाको एकाधिकार तोड्नुपर्नेमा अर्थमन्त्रीको जोड

शुक्रबार, ०१ फागुन २०८२, १४ : ४७
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले सूचनाको सही प्रवाहले अर्थतन्त्रलाई सही दिशा दिने बताए।
  • उनले गलत सूचनाले बजारमा अस्थिरता ल्याउने र लगानीकर्ताहरूलाई असर गर्ने चेतावनी दिए।
  • मन्त्री खनालले सूचनाको हकको दुरुपयोग र अपुष्ट सूचनाबारे सचेत गराए।

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले देशको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सूचनाको सही प्रवाह अपरिहार्य रहेको बताएका छन्। राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तक्रियामा बोल्दै मन्त्री खनालले गलत सूचनाले समग्र अर्थतन्त्रमै गम्भीर असर पार्न सक्ने चेतावनी दिएका हुन्। 

सही समयमा सही सूचना प्राप्त नहुँदा बजारमा अस्थिरता पैदा हुने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने उनको तर्क छ। पुँजी बजारको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै मन्त्री खनालले सूचनामा केही सीमित व्यक्तिहरूको एकाधिकार रहँदा उनीहरूले मात्र लाभ लिइरहेको र आम लगानीकर्ताहरू निर्णय लिनबाट बञ्चित भएको धारणा राखेका छन्। 

सबै लगानीकर्ताले समान रूपमा र समयमै सूचना पाउनुपर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनले प्रस्ट पारे। यद्यपि, सूचनाको हकलाई दुरुपयोग गर्दै अवाञ्छित गतिविधिमा संलग्न हुने प्रवृत्तिप्रति पनि उनले सचेत गराएका छन्।

समाजलाई शान्त र सभ्य राख्न नागरिकलाई सही कारणका लागि सही समयमा सूचना दिनु राज्यको जिम्मेवारी भएको मन्त्री खनालको भनाइ छ। अपुष्ट र अप्रमाणित सूचनाकै कारण जेनजी आन्दोलनमा ठुलो जनधनको क्षति भएको स्मरण गर्दै उनले सूचना प्रवाहमा थप गम्भीरता अपनाउन आग्रह गरे।

सही सूचना प्रवाहका लागि सञ्चारमाध्यम मात्र नभई संवैधानिक निकाय, संसद् र न्याय प्रणाली लगायतका सबै अङ्गहरू उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप