शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विचार

नेपाली सुरक्षा निकायहरूलाई पत्र

आइतबार, ०३ फागुन २०८२, १० : १७

सारांश

  • नेपाली सेना दिवसको अवसरमा सेनाको योगदानको प्रशंसा गर्दै राष्ट्र र जनताको सुरक्षामा समर्पित सेनाप्रति उच्च सम्मान व्यक्त गरिएको छ।
  • लेखमा सुरक्षा निकायको महत्व, राजनीतिक हस्तक्षेपका चुनौती र आगामी निर्वाचनको सफलताका लागि सेनाको भूमिकाबारे चर्चा गरिएको छ।
  • जेनजी विद्रोह र सरकारको भूमिकाबारे प्रश्न उठाइएको छ, सुरक्षा निकायलाई कमजोर बनाउने प्रयासबारे सचेत गराइएको छ।

नेपाली सेना दिवसको हार्दिक शुभकामना !
राष्ट्रको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाका लागि समर्पित सम्पूर्ण नेपाली सेनाप्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गर्दछु ।
हाम्रा प्रिय सेना, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान जवानहरू,

देशको जटिल भौगोलिक बनावट, समय–समयमा देखिने राजनीतिक अस्थिरता, सुरक्षा सङ्गठनको समयअनुसार वृद्धि–विकास नहुनु र आधुनिक उपकरणहरूको कमीका बाबजुद पनि राष्ट्र र जनताको सुरक्षाका लागि तपाईंहरूले निर्वाह गरिरहनुभएको भूमिकाप्रति म हार्दिक सम्मान प्रकट गर्न चाहन्छु। सेवा सुविधा र पदोन्नतिका क्रममा हुने राजनीतिक हस्तक्षेपजस्ता चुनौतीहरूका बिच पनि तपाईंहरूले प्रदर्शन गर्नुभएको व्यावसायिकता, अनुशासन र समर्पण प्रशंसनीय छ।

हाम्रो समाजमा केही अस्थिरतावादी तत्त्वहरूले तपाईंहरूका बारेमा भ्रम सिर्जना गर्ने कोसिस गरेकाले सुरक्षा निकायको महत्त्वबारे केही विचार सार्वजनिक गर्ने क्रममा यो पत्र लेख्दै छु, ताकि तपाईंहरूको योगदानप्रति समाजमा थप सकारात्मक सन्देश जाओस्। साथै, यो लेख र पत्रले निकट भविष्यमा असहज परिस्थिति बिच सम्पन्न हुन गइरहेको आम निर्वाचन सफल पार्न तपाईँहरूमा अझ आत्मविश्वास, उत्साह र राष्ट्रसेवाको भावना अभिवृद्धि गरोस् भन्ने अपेक्षा राख्दछु।

राष्ट्र र जनताको सेवामा तपाईंहरूको समर्पण सधैँ सम्मानयोग्य रहनेछ।

एउटा मानव जन्मिनासाथ उसको पहिलो अधिकार बाँच्नु हो र त्यसपछि सुरक्षित रूपमा बाँच्नु  हो। जीवनलाई अनुशासित र मर्यादित ढङ्गले अघि बढाउँदै जाने क्रममा मानिसको अन्तिम चाहना शान्तिसँग बाँच्न पाउनु नै हो। हाम्रो धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार पनि प्रार्थनाको अन्त्यमा “शान्ति, शान्ति, शान्ति” उच्चारण गरिन्छ। एकजना धर्मगुरुले भन्नुभएको छ—विश्वका प्रत्येक मानव जाति शान्ति स्थापना गर्न चाहन्छन् र त्यसकालागि प्रयास गरिराखेका हुन्छन्। मानवताका मार्गबाट विचलित केही व्यक्ति वा समूह मात्र शान्ति भङ्ग गर्ने, शान्तिमा बस्न नचाहने, शान्ति नै मन नपराउने र समाजमा अशान्ति मच्चाइरहने गर्छन् । यो सन्देशले शान्तिको सर्वोच्च महत्त्वलाई झल्काउँछन्।

शान्ति बिना न व्यक्ति सुरक्षित रहन सक्छ, न समाज व्यवस्थित हुन सक्छ, न राष्ट्र समृद्ध हुन सक्छ। यही यथार्थलाई आत्मसात् गर्दै विश्वमा दिगो शान्ति स्थापना गर्न विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको स्थापना गरिएको छ। संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले द्वन्द्व न्यूनीकरण, मानवअधिकार संरक्षण र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनमार्फत विश्व शान्तिको आधार निर्माण गर्ने प्रयास गरिरहेका छन्। 

त्यसैले राष्ट्रहरूबिच सहकार्य, कूटनीति र अन्तर्राष्ट्रिय कानुनको पालनाबाट मात्र दिगो विश्व शान्ति सम्भव छ। विश्वका सुरक्षा निकायहरू यस दिशामा निरन्तर क्रियाशील छन्। यसरी हेर्दा, शान्ति मानव जीवनको आधारभूत आवश्यकता मात्र होइन, समग्र विश्व सभ्यताको मूल स्तम्भ हो।

 देशभित्र राष्ट्रिय सुरक्षा तथा शान्ति स्थापना गर्न गरिने धेरै प्रयासहरूमध्ये शक्तिशाली सुरक्षा निकायहरूको अहम् उपस्थिति हुन्छ। राष्ट्रिय सुरक्षा र सुरक्षा निकायको अपरिहार्यता कुनै पनि राष्ट्रको स्थायित्व, शान्ति र समृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। सुरक्षा निकाय भनेका देशको आन्तरिक तथा बाह्य सुरक्षा सुनिश्चित गर्ने संस्थाहरू हुन्, जसमा सेना, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागजस्ता निकाय पर्दछन्। यी निकायहरू बिना कुनै पनि राज्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन हुन सक्दैन।

सुरक्षा निकायको पहिलो र प्रमुख काम भनेको देशको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्नु हो। बाह्य आक्रमण वा आन्तरिक विद्रोहको अवस्थामा राष्ट्र र नागरिकको ज्यान–माल जोगाउने जिम्मेवारी यिनै निकायहरूको काँधमा हुन्छ। 

त्यसैगरी, कानुनको कार्यान्वयन, अपराध नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्ने कार्यमा पनि सुरक्षा निकायको योगदान अत्यन्त ठुलो हुन्छ। 

प्राकृतिक विपत्ति—जस्तै भूकम्प, बाढी, पहिरो वा महामारीको समयमा उद्धार, राहत र पुनःस्थापनामा सुरक्षा निकाय अग्रपंक्तिमा रहेर काम गर्छन्। यसले मानवता, अनुशासन र सेवाभावको उदाहरण प्रस्तुत गर्दछ।

सुरक्षा निकाय जनताको भरोसाको आधार हुन्। सक्षम, अनुशासित र उत्तरदायी सुरक्षा निकायले मात्र देशमा स्थायी शान्ति, विकास र सुशासन कायम गर्न सक्छन्। त्यसैले सुरक्षा निकायको सुदृढीकरण र सम्मान गर्नु सबै देशवासीको साझा दायित्व हो।

सांसद बन्न जनताको भोट चाहिन्छ, प्रधानमन्त्री बन्न सांसदहरूको सङ्ख्या चाहिन्छ; तर सफल सरकार सञ्चालन गर्न सुरक्षा निकायको पूर्ण सहयोग आवश्यक पर्छ। त्यसैले सुरक्षा निकायलाई क्षणिक राजनीतिक स्वार्थमा प्रयोग गर्नु हुँदैन। अर्कोतर्फ, नेताहरूले आफ्नो स्वार्थका लागि सेनालाई राजनीतिमा प्रवेश गराएर हस्तक्षेप गराएका देशहरूमा गृहयुद्ध र विखण्डन भएका धेरै उदाहरण छन्। त्यसैले संवेदनशील संस्थालाई जबर्जस्ती निहित स्वार्थका लागि राजनीतिमा धकेल्नु हुँदैन। स्वार्थभन्दा माथि राष्ट्रहित राखिनुपर्छ।

विकसित देशहरूका साथै हाम्रा छिमेकी मुलुकहरू—भारत र पाकिस्तानमा समेत सुरक्षा निकायको ठुलो सम्मान छ। ती मुलुकका जनता राष्ट्रिय सुरक्षाको विषयमा अत्यन्त संवेदनशील छन्। त्यहाँ सुरक्षा निकायप्रति सामान्यतः नकारात्मक सोच राखिँदैन। सुरक्षा संयन्त्र अत्यधिक हातहतियारले सुसज्जित हुनु राष्ट्रको मात्र होइन, आफ्नै गौरवको विषय ठानिन्छ। आफ्ना सेनाहरू माथि गरेका नकारात्मक टिप्पणी त्यहाँका जनता रुचाउँदैनन् ।

 उदाहरणको लागि भारतमा सम्पन्न भएको आम चुनाव २०१९ ठिक अगाडि भारतीय जनता पार्टीको सरकारले पाकिस्तान नियन्त्रित काश्मिर पुलवामा सर्जिकल स्ट्राइक गरेको थियो। जसमा विपक्षी दल कांग्रेस आईले चुनाव अगाडि भारतीय जनता पार्टीको प्रोपोगाण्ड मात्र हो, त्यहाँ कुनै किसिमको सर्जिकल स्ट्राइक भएको छैन, यो झुटा सर्जिकल स्ट्राइक हो । यदि हो भने प्रमाण पेस गर भन्ने आवाज उठाएका थिए। त्यसपछि भारतीय जनता पार्टीले, काङ्ग्रेस आईले उठाएको सेनाको शक्तिमाथिको आशंकालाई चुनावी मुद्दा बनाए। सेनाले गरेको आक्रमणलाई झुट भन्ने, सेनाको शक्तिको प्रमाण माग्ने र सेनाको मनोबल  गिराउने भन्दै सशक्त रूपमा मुद्दा उठाएपछि काङ्ग्रेस आई ले नराम्रोसँग चुनावमा हार बेहोर्नुपर्‍यो। त्यसको असर अहिलेसम्म भोगिराखेको देखिन्छ।

भारतमा सुरक्षा निकायको महत्त्वलाई आत्मसात् गर्दै मुम्बईमा प्रसिद्ध कलाकारहरूले प्रत्येक वर्ष सुरक्षाकर्मीहरूको सम्मानमा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्ने परम्परा रहिआएको छ। यसको भाव यही हो— “तपाईंहरूका कारण देश र हामी सुरक्षित छौँ।”

हाम्रा जवान तथा सिपाहीहरू,

गणतन्त्र स्थापना भएपछि केही नेताहरूको स्वार्थका कारण देशमा भ्रष्टाचार मौलायो, सुशासन कमजोर भयो र बेरोजगारी बढ्यो। देशले अपेक्षित राजनेता पाउन सकेन। जनता र नेताबिच विश्वासको खाडल झन् गहिरिँदै गयो। समाज भित्र स्वार्थ समूहहरू जन्मिए । समाज विद्रोहतर्फ उन्मुख भयो। नकारात्मक विचारले स्थान पाउन थाले। सामाजिक सञ्जालमा आक्रोश पोखिन थाल्यो। देशभित्र सुरक्षा चुनौती बढ्दै गयो । सुरक्षाको प्रत्याभूति दिने क्रममा सुरक्षा निकायबाट बल प्रयोग गर्ने स्थिति आयो। त्यसको कारणले  तपाईंहरूमाथि  नकारात्मक  धारणा बन्न थाल्यो । दोष राज्य सञ्चालन गर्नेको थियो, तपाईँहरूको थिएन। यसरी बुझिदिनु होला।

तपाईँहरूले बुझ्नुपर्ने कुरा के छ भने केही समूहहरू सुरक्षाकर्मीलाई मात्र कमजोर बनाउन तिर लागेका छैनन्, तिनीहरू  बिरामी बचाउन रातदिन खटिने चिकित्सकमाथि आक्रमण गर्छन् अनि  शिक्षाको ज्योति दिने गुरुमाथि कालोमोसो दल्छन्। संसदलाई कानुन बनाउन नसक्ने अवस्थामा र न्यायालयलाई न्याय दिन नसक्ने अवस्थामा पुर्‍याइएको छ । यस्तो अवस्थामा तपाईंहरूमाथि आएका चुनौतीहरूबाट  विचलित नहुनुहोला।

राजनीतिक हस्तक्षेप र सुरक्षा निकायभित्रका केही स्वार्थी प्रवृत्तिका कर्मचारीका कारण  संगठन  को मनोबल गिरेको हुनसक्छ । तर विचलित नहुनुहोस्। 

विश्वासको वातावरण कमजोर बन्दै गएको अवस्थामा तपाईंहरूले गर्ने हरेक काम–कारबाही प्रजातन्त्रको मूल्य मान्यता आत्मसात् गर्दै र मानव अधिकार को संरक्षण गर्दै , देशको नियम कानुनअनुसार हुनुपर्छ। द्वन्द्व, भीड र आन्दोलन नियन्त्रण सुरक्षा कार्यविधिअनुसार हुनुपर्छ। जुनसुकै तहको बल प्रयोग पनि प्रक्रियागत हुनुपर्छ। प्रक्रियागत गरेका कार्यहरू जनताले सजिलैसँग ग्रहण गर्दछन्। प्रमाण र भिडियो अभिलेख सुरक्षित राख्नुपर्छ, ताकि भविष्यमा कसैले तपाईंहरूलाई अन्यायपूर्वक फसाउन नसकोस्। देश परिवर्तनको संघारमा छ। आशा छ—जनता र तपाईंहरूको संगठनले भविष्यमा सकारात्मक निकास पाउनेछ।

प्रिय जवानहरू, भदौ २३ र २४ गते जेनजी विद्रोहमा नागरिक तथा भौतिक संरचना जोगाउन नसकेको विषयमा प्रश्न उठेको छ। यी घटनाहरूको सम्बन्धमा सुरक्षा  विज्ञहरूका बहसको सारांश, बुँदागत रूपमा प्रस्तुत गर्न गइरहेको छु।

सामाजिक सञ्जालमार्फत जेनजी पुस्ताले विरोध प्रदर्शन गर्दै छ भन्ने जानकारी पहिले नै सार्वजनिक थियो। जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट त्यसको लागि पूर्व स्वीकृति लिइएको थियो। भदौ २३ गते माइतीघरमा भेला हुने कार्यक्रम स्पष्ट रूपमा सार्वजनिक गरिएको थियो। आन्दोलनबारे कुनै कुरा लुकीछिपी थिएन, सूचना प्रस्ट थियो।

जब भदौ २३ गते जुलुस संसद् भवनतर्फ अगाडि बढ्यो, सधैँझैँ सडकमा विभिन्न तहमा ब्यारिकेट राखिएको देखिएन। यदि तह तहमा ब्यारिकेट राखिएको भए, तोडिनुभन्दा पहिले माइकिङ गर्न सकिन्थ्यो, अश्रुग्यास प्रहार गर्न सकिन्थ्यो, पानीको फोहरा प्रयोग गर्न सकिन्थ्यो। मानौँ, जुलुस ब्यारिकेट तोड्दै संसद् भवनको गेट अगाडि पुगिसकेको भए हवाई फायर गर्न सकिन्थ्यो। त्यसले पनि नियन्त्रणमा नआएको भए रबरको गोली प्रहार गर्न सकिन्थ्यो। त्यसपछि पनि नियन्त्रण गर्न नसकिएको अवस्थामा खुट्टामा गोली हान्न सकिन्थ्यो। त्यसले पनि नियन्त्रण गर्न गाह्रो भएको भए बालबालिकाले आफ्नै संसद् भवन नियन्त्रणमा लिएको खुसीयालीमा केहीबेर रमाउँदै, सेल्फी खिचेर घर फर्किन्थे होला।

अमेरिकामा डोनाल्ड ट्रम्प समर्थकले क्यापिटल हिल नियन्त्रणमा लिँदा पनि अमेरिकी सरकार संयमित देखिएको थियो। त्यहाँ कुनै अप्रिय दुर्घटना हुन पाएन ।

आक्रोश, भिड, आन्दोलन, विद्रोह र लडाइँलाई रणनीतिक माध्यमबाट जित्न वा क्षति न्यूनीकरण गर्न सकिन्छ। तर जेन्जी आन्दोलनबारे सुरक्षा समितिको बैठक नै बसेन, सुरक्षा समितिले रणनीति नै बनाएन भन्ने प्रश्न उठेको छ। तत्कालीन प्रधानमन्त्री भदौ २२ गते गोदावरीमा आफ्ना कार्यकर्ताहरूको भिड देखेर आफूलाई सर्वशक्तिमान् ठानेर जेनजीलाई ललकार्दै आन्दोलनलाई झन् उक्साइरहेको जस्तो देखिन्थ्यो। तत्कालीन गृहमन्त्री आईजीपीसमेत लिएर संसदभित्रै छलफलमा थिए, तर आन्दोलनकारीले संसद् भवन घेरेको थाहा पाएनन्।

भदौ २४ गते साँझ ५ बजे सर्वदलीय बैठक डाकियो। कर्फ्यु आदेश जारी भएको देखिएन। सुरक्षा परिषद्को बैठक बसेको सुनिएन। प्रक्रियागत रूपमा सेना सञ्चालन गर्न आदेश दिएको प्रमाण देखिएन।जबकि भदौ २३ गते बालबालिकामाथि गोली चलेपछि भदौ २४ गते ठुलो आँधीबेहरी आउने सङ्केत अधिकांश नेपालीले बुझिसकेका थिए, तर सरकार संवेदनशील देखिएन। तत्कालीन प्रधानमन्त्रीले संसद् भवन अगाडि बालबालिका गोलीबाट ढालेदेखि आफ्नो राजीनामा नआउँदासम्म कुनै किसिमको क्षति न्यूनीकरण गर्ने प्रयास गरेको देखिएन। त्यसैले भदौ २३ र २४ मा भएका घटनाहरूको सम्पूर्ण दोष तपाईँहरूप्रति औंल्याएर जिम्मेवार व्यक्तिहरू उम्कन पाउने छैनन् ।

अन्तमा, गौरवमय इतिहास बोकेको सुरक्षा निकायलाई कमजोर बनाउन केही स्वार्थ समूहहरूले सामाजिक सञ्जालमा राख्ने नकारात्मक टिप्पणीले विचलित हुनुहुँदैन। तपाईंहरू  धर्म नछोडी, आफ्नो कर्तव्यमा अनुशासित र मर्यादित भई निर्वाचन सम्पन्न गराई देशमा सधैँ शान्ति स्थापना गर्न अग्रसर रहनुहोस्। नेपाली जनता सधैँ तपाईंहरूको साथमा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठ
लेखकबाट थप