बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरवारबाट रुँदै बाहिरिए ‘शेर’, के उनी षड्यन्त्रको शिकार भए ?

मङ्गलबार, ०८ साउन २०७५, १७ : ००
मङ्गलबार, ०८ साउन २०७५

काठमाडौं–चैत्र ३ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदभार ग्रहणको क्रममा नागरिकलाई आवश्यक पर्ने धेरै कानुनहरू बनाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसलाई तीव्रता दिने बताएका थिए । 

उनले संविधानको मर्मअनुसार कानुन बनाउने, कानुन र न्याय क्षेत्रको बेथिति हटाउनेलगायतका विषयमा त्यतिबेला बोलेका थिए ।

तर, कानुनमन्त्री शेरबहादुर तामाङले साउन ४ गते एउटा विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दा उनको जागिर नै गयो ।

समृद्धिको सपना बोकेका मन्त्री यो कार्यक्रममा नगएका भए विवादबाट बच्थे होला । 

सपथ लिएको ४ महिना ८ दिनमा नै कानुनमन्त्रीले मन्त्रीपदबाट राजीनामा दिनुपर्ने अबस्था आयो ।

पुशपति शमरेर जवरालाई चुनाव हराएर तामाङ चर्चामा आएका थिए । 

रुँदैरुँदै कानुनमन्त्रीले राजीनामा दिए : अनि भने-केही तत्व मेरो पछाडि लागे

राजीनामा गर्न मन्त्रालयमा बोलाएको पत्रकार सम्मेलनमा उनी भावनामा बगे र आँसु नै झारे । राम्रो काम गर्ने कोशिष गर्दागर्दै राजीनामा दिन बाध्य पारिएको उनको संकेत थियो । 

उनले आफुमाथि षडयन्त्र भएको बताएर नयाँ बहस चाहिँ शुरु गराएका छन् । 

राजीनामाले मन्त्री तामाङलाई आघात पुगेपनि प्रधानमन्त्री ओलीका लागि भने यो राहत हुनेछ, किनभने यसले सरकारको आलोचना गरिरहेकाहरु एक कदम पछाडि हट्नु पर्ने छ ।  

सिंहदरबारमा कानूनमन्त्रीको  ‘भावुक’ पत्रकार सम्मेलन, २३ तस्बिरमा हेर्नुहोस्

यति मात्र होइन तामाङको राजीनामाले अब सवैमन्त्रीमाथि दबाब पैदा भएको छ, मूलत उनीहरुको आचरण र अभिव्यक्तिको विषयमा । 

नैतिकका आधारमा राजीनामा दिएर तामाङले राजनीतिक लडाईं भने जितेका छन् । 

राजीनामा दिँदै मन्त्री तामाङले भने, ‘मैले चालेका कदमहरु भ्रष्टाचार उन्मुलन गर्ने, न्यायाक्षेत्रको पारदर्शिता, सार्वजनिक निकाय र सार्वजनिक व्यक्तिको पारदर्शिताको मुद्दा र दाृत निकायबाट नेपालमा आउने पैसा सरकारको एउटैद्धारबाट मात्र कानुनमा व्यवस्था गरेर आउनुपर्छ भन्ने कुराहरु जुन राष्ट्रको लागि अति अपिरहार्य र आबश्यकता हो । त्यसमाथि प्रहार हो भन्ने लागेको छ ।’

त्यसो भए, यस्तो प्रहार कहाँबाट भएको थियो ? प्रश्न उठेको छ । 

पत्रकार सम्मेलनमा रोए कानुनमन्त्री तामाङ

उनले भनेका छन्, ‘प्रधानमन्त्री र सरकारलाई सफल बनाउन र निहित स्वास्र्थ बोकेकाहरुलाई परास्त गर्न म मेरो पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताका आधारमा सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा पेश गर्न गईरहेको छु ।’

विद्यार्थीहरूलाई विदेश नगएर नेपालमै पढ्नुपर्ने विषयमा ‘प्रशिक्षण’ दिँदै गर्दा मन्त्री तामाङले छात्राहरूको अस्मिताको सम्बन्धमा प्रश्न उठाइदिए । 

सम्बोधनमा क्रममा मन्त्री तामाङले बङ्गलादेशमा अध्ययन गर्ने नेपाली छात्राहरूले सर्टिफिकेट लिनका लागि शरीर सुम्पनुपरेको बताएपछि त्यसको व्यापक विरोध भयो । 

नेपाली छात्राहरूको आत्मसम्मानमा चोट पुग्नेगरी कानुनमन्त्रीकै लज्जास्पद टिप्पणी आएपछि मन्त्री तामाङमाथि चौतर्फी हमला भयो । प्रतिपक्ष मात्रै होइन, सत्तापक्षबाट उनको राजीनामा माग भयो । 

यसकारण विवादमा तानियो कानुनमन्त्री र व्यवसायी प्रसार्इंको अभिव्यक्ति (भिडियो), के बंगलादेशमा साँच्चै समस्या छ ?

त्यसपछि सोमबार साँझ बसेको सत्तारुढ नेकपाको शीर्ष नेताको वैठकले मन्त्रीलाई राजीनामा दिन निर्देशन दियो । पार्टीको निर्णयअनुसार मन्त्री तामाङले मङ्गलबार दिउँसो सिंहदरवारमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरे, अनि प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाए । प्रधानमन्त्री ओलीले कानुनमन्त्रीलाई राजीनामा दिन लगाएर अरु मन्त्रीलाई ‘सोचविचार गरेर बोल्न’सन्देश दिएका छन् । 

मन्त्रीले आफ्नो बोलीमा लगाम लगाउन नसक्दा वा भावनामा बग्दा राजीनामा दिनुपर्ने अवस्था आएको छ । 

त्यसो त यसअघि पनि मन्त्री तामाङका केही अभिव्यक्ति विवादमा आएको थियो । उनले चैत २१ गतेको एउटा कार्यक्रममा अदालतका न्यायाधीशका फैसलाबाट राज्यलाई अर्बौं घाटा भएको भन्दै त्यस्ता न्यायाधीशका फैसलाबारे छानबिन हुने टिप्पणी गरेका थिए । 

आफ्नै बोलीले फसे कानुनमन्त्री, आज राजीनामा !

त्यसैगरी मन्त्री तामाङले मलेसियामा जाने नेपाली कामदारबाट अर्बौं रुपियाँ ठगी भएको तर त्यसका सञ्चालक रामप्रसाद श्रेष्ठलाई मात्रै १० लाख धरौटीमा छाडेको भन्दै उनीमाथि पनि छानबिन हुने भन्दै टिप्पणी गरेका थिए । 

खेलकुद मन्त्रीको भाइरल फोटोको यो हो खास कथा

फाइभस्टार होटलमा हेरे समाजवादी मन्त्रीले विश्वकप फाइनल

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठका यस्ता छन् ५ ‘विवाद’!

सगरमाथाको पानी विदेश पुर्राउने खानेपानी मन्त्रीको योजना, तर ८१ प्रतिशतलाई छैन सुरक्षित खानेपानीको सुविधा

पर्यटनमन्त्री रवीन्द्र अधिकारीका ४ महिनाका ५ विवाद !

ओली सरकारका मन्त्रीबीच नै मनमुटाव !

ठेकेदारमाथि ‘एक्सन’ लिने–नलिनेमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीबीच बिवाद

मन्त्री तामाङको यस्तो टिप्पणीलाई लिएर न्यायक्षेत्रमा उनको आलोचना भएको थियो । यद्यपि यी विषयहरू पब्लिक सेन्टिमेन्टसँग जोडिएको विषय भएकाले त्यसको त्यति धेरै विरोध भने भएको थियो । 

तर साउन ४ गते शुक्रबार बङ्गलादेशमा पढ्ने नेपाली छात्राबारे गरिएको टिप्पणीले भने उनको जागिर नै गएको छ । 

दुई तिहाई बहुमतको स्थायी सरकारका एक मन्त्रीले ४ महिनामै जागिरबाट हात धुनुको मुख्य कारण भनेको बोलीमा लगाम लगाउन नसक्नु नै हो । 

कसले खाला मन्त्री क्वाटरको ‘अर्गानिक’ तरकारी ?

कानुनमन्त्री शेरबहादुर तामाङले पुल्चोकस्थित मन्त्री क्वाटरमा अर्गानिक तरकारी फलाउने भन्दै खनजोत गरेर तरकारी लगाउन थालेका थिए ।

चैतको तेस्रो साताबाट मन्त्री तामाङ आफै सक्रिय भएर तरकारी लगाउन थालेका थिए । तर अब त्यो अर्गानिक तरकारी मन्त्री तामाङले खान नपाउने भएका छन् । अर्गानिक तरकारी खान अब केही दिनमा नै नयाँ मन्त्री आउनेछन् । 

त्यसो त कानुनमन्त्री शेरबहादुर तामाङ मात्रै होइन, विभिन्न कालखण्डमा विभिन्न मन्त्रीहरूले आफ्नो हर्कत र बोलीका कारण मन्त्री पद गुमाएका छन् । 

उनीहरूको फेहरिस्त यस्तो छ । 

मात्रिका यादव

तत्कालीन नेकपा माओवादीका नेता मात्रिका यादव २०६४ सालमा समानुपातिक सभासद् भनेपछि गठित सरकारका वनमन्त्री बने । वनमन्त्री रहँदा ज्यादै ‘क्रान्तिकारी स्वभाव’ देखाएका यादवले ललितपुरका एलडीओलाई ट्वाइलेटको थुनेको विषय ज्यादै पेचिलो बन्यो ।

२०६५ साल असार ४ गते ललितपुरका स्थानीय विकास अधिकारी (एलडीओ) डण्डुराज घिमिरेलाई मन्त्रालयकै ट्वाइलेटमा थुनिदिएका थिए । 

तत्कालीन समयमा ललितपुरमा अवैधरूपमा सञ्चालित ढुङ्गा खानी बन्द गर्न मन्त्रीले निर्देशन दिए पनि एलडीओले नटेरेपछि वातावरण बिग्रिए के हुन्छ भनेर देखाउन मन्त्री यादवले एअडीओलाई ट्वाइलेटमै थुनिदिएका थिए । 

त्यसपछि विवादमा परेका मन्त्री यादवले पछि यही विषयलाई लिएर व्यापक आलोचना भएपछि राजीनामा गरेका थिए । 

करिमा बेगम

तत्कालीन समयमा फोरम लोकतान्त्रिकको तर्फबाट कृषि तथा सहकारी मन्त्री थिइन् करिमा बेगम । प्रचण्ड नेतृत्वको सरकार ढलेलगत्तै माधवकुमार नेपालले सत्ताको बागडोर सम्हालेका थिए र त्यो सरकारमा फोरम नेपाल सहभागी थियो ।

करिमा बेगम एक त्यस्ती भाग्यमानी मन्त्री थिइन्, जसले कृषि राज्यमन्त्री पद पाइन् । तर मन्त्री भएकै अवस्थामा २०६६ साल कात्तिक २४ गते आफ्नो गृहजिल्ला पर्सा पुग्दा उनले तल्लो स्तरको हर्कत गरिन् । 
पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थोत्रो गाडी पठाएको र भव्य स्वागत नगरेको भन्दै सीडीओको कार्यकक्षमै गएर हातपात गरिन् । त्यसपछि उनको व्यापक विरोध भयो । 
फोरम लोकतान्त्रिकका नेताहरूले नै बेगमलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाए । तत्कालीन गृहमन्त्री भीम रावलले बेगमलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई उर्दीसमेत गरे । 
तर संयुक्त सरकार धरापमा पर्ने डरले प्रधानमन्त्री माधवकुमार नेपालले बेगमलाई कारवाही नगर्न निर्देशन दिए र कारवाहीको प्रक्रिया रोकियो । यद्यपि त्यस हर्कतपछि करिमा बेगम राजनीतिमा अगाडि आउन सकिनन् र अहिले गुमनाम जस्तै छिन् । 

शरदसिंह भण्डारी

बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा फोरम लोकतान्त्रिकका तर्फबाट शरदसिंह भण्डारी रक्षमन्त्री बनेका थिए । २०६८ सालभरि नै तराई अशान्त बनेको थियो ।

यही विषयलाई लिएर तत्कालीन रक्षामन्त्री शरदसिंह भण्डारीले २०६८ साल असोज ९ गते रिपोर्टस क्लबमा भएको एक कार्यक्रममा २२ जिल्लाले नेपालबाट अलग्गिने निर्णय गरे कुन कानुनले रोक्छ भन्दै देश टुक्रने अभिव्यक्ति दिएका थिए ।

रक्षामन्त्रीकै यस्तो अभिव्यक्तिपछि विपक्षी दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेले भण्डारीको राजीनामा माग गर्दै संसद् नै अवरुद्ध गरे । तर भण्डारीले राजीनामा दिने सुरसार देखाएनन् । त्यसपछि प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्री भण्डारीलाई बर्खास्त गर्ने चेतावानी दिए ।

भण्डारीको दल फोरम लोकतान्त्रिकले पनि भण्डारीलाई फिर्ता बोलाउने निर्णय गर्यो । त्यसपछि मन्त्री भण्डारीको पद खोसियो ।   

हरिप्रसाद पराजुली

सुशील कोइराला प्रधानमन्त्री बनेका बेला कृषिमन्त्री थिए एमालेका नेता हरिप्रसाद पराजुली । कृषिमन्त्रीका हैसियतले २०७२ साल असार १५ गते धान दिवसको दिन उनी मूलपानीको खेतमा धान रोप्न पुगे । तर धान दिवसका दिन मन्त्री पराजुलीको अचम्मको हर्कत देखियो । 

एक महिलालाई असहज हुने क्रियाकलाप गरेपछि उनको सर्वत्र विरोध भयो र उनको राजीनामा नै माग भयो । त्यसअघि नै उनले सार्वजनिक स्थानमा सुर्ती माडेको काण्डले आलोचना बेहोर्नुपरेको थियो । मन्त्री पराजुलीको हर्कतका कारण उनले पार्टीभित्र स्पष्टीकरण मात्रै दिनु परेन, राजीनामा नै दिनुपर्यो । 

रोपाइँ काण्डकै कारण पराजुलीले २०७२ साल असार १७ गते प्रधानमन्त्री सुशील कोइरालालाई आफ्नो राजीनामा बुझाए । यतिबेला कुनै समयका मन्त्री अहिले गुमनामजस्तै छन् । 

भीम आचार्य
सुशील कोइराला नेतृत्वको सरकारका तत्कालिन एमाले नेता भीम आचार्य पर्यटनमन्त्री थिए । कांग्रेस र एमालेको संयुक्त सरकारमा आचार्यलाई २०७० सालको फागुन १३ गते पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको थियो । तर मन्त्री पदमा रहँदा पार्टीको मर्यादा कायम राख्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइयो । त्यसबाहेक आचार्यमाथि विभिन्न विमानस्थल निर्माणको क्रममा कमिशन माग गरिएको र राजनीतिक नियुक्ति गर्न पैसा असुल गर्न खोजेको आरोप लाग्यो । पार्टी भित्रैबाट बारम्बार दबाब आएपनि उनले राजीनामा दिएनन् । त्यसपछि एमालेले प्रधानमन्त्री सुशील कोइरालालाई २८ भाद्र, २०७१ पत्र लेख्दै पर्यटनमन्त्री आचार्यलाई फिर्ता बोलाइएको र उनको स्थानमा दीपकचन्द्र अमात्यलाई मन्त्रीमा पठाइएको बतायो । त्यसपछि आचार्यले आफ्नो मन्त्री पद गुमाउनुपर्यो । 

दीपकचन्द्र अमात्य
पर्यटनमन्त्री भीम आचार्यलाई पार्टीको मर्म अनुसार काम गर्न नसकेको र मर्यादा कायम राख्न नसकेको भन्दै फिर्ता बोलाएको तत्कालिन एमालेले उनको स्थानमा ललितपुरका दिपकचन्द्र अमात्यलाई २०७१ साल भदौ २९ गते शपथ गरायो । स्मरण रहोस् उनी पार्टीको कुनै प्रभावशाली भूमिकामा नरहेको भएपनि मन्त्रीको चिठ्ठा पाएका थिए । 
सुशील कोइराला सरकारमै मन्त्री पर्यटनमन्त्री बनेका अमात्य झनै बढी विवादित बने । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीसँग कमिशन मागेको आरोप उनलाई लाग्यो । त्यसबाहेक विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिमा पनि पैसा मागेको आरोप उनीमाथि लाग्यो । त्यो भन्दा बढी कार्यसम्पादन गर्न नसकेको भन्दै उनलाई राजनीनामा गर्न लगाइयो । मन्त्री दिपकचन्द्र अमात्यले २०७२ जेठ ८ गते राजीनामा दिए । उनी गुमनाम जस्तै छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप