सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘सुदूर’लाई ‘सुनजिक’ बनाउने बालेनको उद्घोष

बुधबार, ०६ फागुन २०८२, १६ : ४०
बुधबार, ०६ फागुन २०८२

सारांश

  • रास्वपाले सुदूरपश्चिमको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई मुख्य एजेन्डा बनाउने घोषणा गरेको छ।
  • बालेन्द्र साहले सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्ने र गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने बताए।
  • उनले विकास निर्माणमा ढिलासुस्ती र दलगत भेदभावको अन्त्य गर्दै पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए।

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउने घोषणा गरेको छ । बुधबार सुदूरपश्चिममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेता बालेन्द्र साहले वर्षौँदेखि उपेक्षित सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व अब रास्वपाले लिने बताएका हुन् । 

उनले यो क्षेत्रलाई ‘सुदूर’ (टाढा) मात्र नभई काठमाडौँसँग ‘सुनजिक’ (नजिक) बनाउने लक्ष्यका साथ पार्टी अघि बढेको स्पष्ट पारे । नेता साहले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई रास्वपाले प्रमुख एजेन्डा बनाएको उल्लेख गरे । 

खल्तीमा पैसा नभएकै कारण कुनै पनि नेपाली नागरिक आधारभूत सेवाबाट वञ्चित हुन नहुने धारणा राख्दै उनले विकास निर्माणमा हुने ढिलासुस्ती र राजनीतिक पूर्वाग्रहको कडा आलोचना गरे । सडक पूर्वाधारको प्रसङ्गमा उनले २० वर्षसम्म पनि नबन्ने सडकहरूलाई रास्वपाले डेढ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको दाबी गरे । 

विकासमा दलगत भेदभाव गर्न नहुने भन्दै उनले रास्वपाले कांग्रेस, एमाले र माओवादी लगायत सबै दलका समर्थक र आम जनता हिँड्ने साझा बाटो बनाउने प्रतिबद्धता जनाए । सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिँदै उनले बडिमालिका, रामारोशन र खप्तड जस्ता क्षेत्रहरूको महत्त्वलाई विश्वसामु चिनाउनु पर्ने बताए । 

‘देशलाई स्विजरल्याण्ड बनाउने’ पुरानो राजनीतिक नाराको सट्टा यहाँको मौलिकतालाई नै ब्राण्डिङ गर्नुपर्ने उनको तर्क छ । ‘स्विजरल्याण्डको बाउ बडिमालिका यहीँ छ, पराकाष्ठा रामारोशन यहीँ छ, अनि किन बनाउनु पर्‍यो स्विजरल्याण्ड ?’ भन्दै उनले सुदूरपश्चिमलाई सांस्कृतिक रूपमा काठमाडौँसँग जोड्नुपर्नेमा जोड दिए । 

सुदूरपश्चिमका कलाकार र गीतहरू जब काठमाडौँका चोक चोकमा बज्न थाल्छन्, तब मात्रै यो क्षेत्र साँचो अर्थमा देशको मूलधारसँग जोडिने उनको भनाइ छ ।

आफूहरू केवल भोटका लागि मात्र नभई काम गर्नका लागि जनताको बिचमा आएको भन्दै उनले जनतासँग कामको सूची (लिस्ट) मागेका छन् । ‘हामी भोट माग्न होइन, काम माग्न आएका हौँ, काम दिनुस्,’ नेता साहले भने, ‘तपाईँहरूले भोट नदिए पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ, बरु हाम्रा उम्मेदवार र पार्टीका मान्छेहरूलाई के के काम गर्नुपर्ने हो त्यसको लिस्ट दिनुस्, हामी काम गरेर देखाउँछौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप