खुलामञ्च व्यवस्थापनको जिम्मेवारी वडालाई, पार्किङ र विज्ञापनमा पूर्ण रोक
सारांश
- काठमाडौं महानगरपालिकाले खुलामञ्चको संरक्षण र सञ्चालनको जिम्मा वडा २७ लाई दिने निर्णय गरेको छ।
- नयाँ व्यवस्था अनुसार, कार्यक्रम आयोजकले धरौटी राख्नुपर्ने, समय सिफ्टमा विभाजन गरिएको छ, र नियम उल्लंघन गरे कारबाही हुनेछ।
- खुलामञ्चलाई आधुनिक बनाउन पैदल मार्ग, बिजुलीका पोल, र पानी पुनर्भरणको व्यवस्था गरिएको छ, साथै विज्ञापन र पार्किङमा रोक लगाइएको छ।
काठमाडौं । खुलामञ्चको संरक्षण र सञ्चालनलाई थप प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले नयाँ व्यवस्थापकीय मोडेल अघि सारेको छ । महानगरपालिकाको राजस्व समितिको बैठकले खुलामञ्चको सम्पूर्ण प्रयोग र व्यवस्थापनको अधिकार वडा नम्बर २७ लाई सुम्पिने निर्णय गरेको छ ।
राजस्व समितिका संयोजक एवं वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र सदस्यहरूको बैठकले यो सिफारिस गरेको हो । विगतमा खुला मञ्चमा हुने विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रमहरूको व्यवस्थापन प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा हुने गरेको भए पनि अबदेखि स्थानीय वडालाई नै जिम्मेवार बनाउने नीति लिइएको छ ।
महानगरका प्रवक्ता नवीन मानन्धर र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समेतको उपस्थिति रहेको उक्त बैठकले अब कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त र बन्देजहरू पालना गर्ने गरी वडा कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । यो निर्णय कार्यान्वयनमा आएसँगै अब खुलामञ्चको दैनिक रेखदेख र व्यवस्थापकीय कार्यहरू वडास्तरबाटै हुनेछन् ।
धरौटी, शुल्क र सिफ्ट प्रणाली : अनुशासन मिचे कारबाही
खुलामञ्चमा कार्यक्रम आयोजना गर्न चाहने संघसंस्था वा राजनीतिक दलहरूका लागि महानगरले कडा आर्थिक र समयगत मापदण्ड तय गरेको छ । नयाँ व्यवस्था अनुसार अब मञ्च प्रयोग गर्ने आयोजकले वडा नम्बर २७ को धरौटी खातामा अनिवार्य रूपमा २५ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ । कार्यक्रमका लागि समयलाई दुई सिफ्टमा विभाजन गरिएको छ, जसअन्तर्गत बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ ।
_q4jXj0CYoI.jpg)
मञ्चको मर्मत सम्भार र विद्युत महसुल वापत प्रत्येक सिफ्टका लागि ५ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्ने प्रावधान राखिएको छ । यदि कार्यक्रमका क्रममा कुनै भौतिक क्षति पुगेमा वा महानगरका सर्तहरू उल्लंघन भएमा प्राविधिक प्रतिवेदनका आधारमा धरौटी रकमबाट क्षतिपूर्ति कट्टा गरिनेछ । धरौटी रकमले नपुगेमा आयोजकबाट थप रकम समेत असुल गरिने महानगरको तयारी छ । यसरी सिफ्ट प्रणाली र धरौटीको व्यवस्था गर्दा मञ्चको सुरक्षा सुनिश्चित हुनुका साथै आयोजकहरूमा पनि जिम्मेवारीबोध बढ्ने राजस्व समितिका संयोजक पराजुलीले बताए ।
विज्ञापन र पार्किङमा पूर्ण रोक, व्यावसायिक कार्यक्रम नहुने
खुलामञ्चको सौन्दर्य र स्वच्छता जोगाउन महानगरपालिकाले केही कडा बन्देजहरू समेत लागु गरेको छ । अब मञ्चमा कार्यक्रम गर्दा आयोजकले आफ्नो पहिचान झल्किने ब्यानर बाहेक कुनै पनि विज्ञापनजन्य सामग्री वा होर्डिङ बोर्डहरू राख्न पाउने छैनन् । व्यावसायिक उद्देश्यले टिकट बिक्री गरेर गरिने कार्यक्रमहरूलाई पूर्णरूपमा निषेध गरिएको छ भने अनुमति लिएको पक्षले तेस्रो पक्षलाई मञ्च हस्तान्तरण गर्न पाउने छैनन् । कार्यक्रमका क्रममा उत्पन्न हुने फोहोरको व्यवस्थापन गर्ने सम्पूर्ण दायित्व आयोजककै हुनेछ । थप शौचालय आवश्यक परेमा आयोजकले आफ्नै खर्चमा घुम्ती शौचालयको व्यवस्था गर्नुपर्नेछ ।
मञ्चको संरचना बिग्रिने गरी खाल्डो खन्न, हरियाली नास गर्न र मञ्चभित्र सवारी साधन लैजान वा पार्किङ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । साथै मञ्च क्षेत्रभित्र धुम्रपान र मध्यपानको बिक्री वितरण तथा सेवनलाई समेत कानुनले निषेध गरेको छ । यी सर्तहरूको उल्लंघन भएमा महानगरले आर्थिक ऐन बमोजिम जरिवाना र कारबाही गर्ने नीति अख्तियार गरेको छ ।
आधुनिक पूर्वाधार र वातावरणमैत्री संरचना
खुलामञ्चलाई आधुनिक र वातावरणमैत्री बनाउन महानगरले प्राविधिक पक्षमा पनि विशेष ध्यान दिएको छ । कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको यस मञ्चको चौर वरिपरि चार मिटर चौडाइको व्यवस्थित पैदल मार्ग बनाइएको छ । महानगरका अनुसार सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका पुराना हेक्जागोनल ब्लकहरूलाई यहाँ पुनः प्रयोग गरिएको छ ।
_VG9qjk4J9W.jpg)
पैदल मार्गमा रातको समयमा उज्यालोका लागि २१ वटा आधुनिक बिजुलीका पोलहरू जडान गरिएको छ, जसमा डे–नाइट सेन्सर जडान गरिएकाले रातमा आफैँ बल्ने र दिनमा आफैँ निभ्ने गर्छ । जमिनको सतह सम्याउने (ग्रेडिङ र लेभलिङ) काम सकिएपछि यहाँ पानी नजम्ने व्यवस्था मिलाइएको प्रवक्ता मानन्धरले बताए । उनका अनुसार वर्षाको पानी जमिनमुनि पुनर्भरण (वाटर रिचार्ज) होस् भन्नका लागि ६ ठाउँमा गहिरा रिचार्ज पिटहरू निर्माण गरिएको छ ।
ऐतिहासिक महत्त्वको ठाउँ, जसले बितायो कष्टकर एक दशक
ऐतिहासिक र राजनीतिक महत्त्वको खुलामञ्च करिब एक दशकसम्म बन्द रह्यो । राजनीतिक सभा–सम्मेलनदेखि आन्दोलनको केन्द्र यही खुलामञ्च र रत्नपार्क हुने गर्थ्यो । तर २०७३ वैशाखदेखि विभिन्न बहानामा खुलामञ्च बन्द रह्यो । सोही वर्ष पुरानो बसपार्कलाई खुलामञ्चमा अस्थायी रुपमा सारियो । राजनीतिक कार्यक्रम भने २०७३ फागुन १ गते खुलामञ्चको एक कुनामा अन्तिम पटक भएको थियो, जुन सभाको आयोजना नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले गरेको थियो ।
खुलामञ्च एक चौर मात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनको साक्षी पनि हो । तर विगत एक दशकदेखि यो ऐतिहासिक स्थल कहिले निर्माण सामग्री थुपार्ने थलो त कहिले अस्थायी बसपार्कका रूपमा प्रयोग हुँदै आएको थियो ।
नेपाली राजनीतिको इतिहासमा खुलामञ्चको विशिष्ट स्थान छ । विशेषगरी २०३६ सालमा जनमत संग्रहको घोषणा भएपछि यो क्षेत्र राजनीतिक कार्यक्रमहरूको मुख्य केन्द्र बनेको थियो । जनमत संग्रहको तयारीका क्रममा जननेता बीपी कोइरालाले खुलामञ्चमा एक विशाल जनसभालाई सम्बोधन गरेका थिए । उक्त सभामा उनले बहुदलको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्दै तत्कालीन पञ्चायती सरकारलाई दूरगामी महत्त्वका निर्णय नगर्न चेतावनी दिएका थिए । यद्यपि जनमत संग्रहको नतिजा बहुदलको पक्षमा आएन, तर खुलामञ्चले नेपाली राजनीतिमा जनआवाज बुलन्द गर्ने एउटा स्थायी थलोको पहिचान बनायो ।
_fvF2ylBWgM.jpg)
२०४६ सालको जनआन्दोलन र त्यसपछिको परिवर्तनमा पनि खुलामञ्चको भूमिका अहम् रह्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला जस्ता शीर्ष नेताहरूले यही मञ्चबाट नागरिकलाई सम्बोधन गर्दै प्रजातन्त्रको जग बलियो बनाएका थिए । २०६२/६३ को दोस्रो जनआन्दोलनको सफलता र लोकतन्त्रको घोषणा पनि यही ऐतिहासिक स्थलबाट भएको थियो । शान्तिप्रक्रियामा आएपछि तत्कालीन माओवादी र मधेस केन्द्रित दलहरूले आफ्ना एजेन्डा राख्न पटक–पटक यही मञ्चको प्रयोग गरे । काठमाडौँका माइतीघर मण्डला र प्रदर्शनीमार्ग जस्ता क्षेत्र साँघुरा हुँदै जाँदा खुलामञ्च ठुला जनसभा र विरोध प्रदर्शनका लागि एक मात्र निर्विकल्प स्थल भएपनि प्रयोग हुन सकेको थिएन ।
विगत १० वर्ष खुलामञ्चका लागि निकै कष्टकर रह्यो । २०७२ सालको विनाशकारी भूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कुल जस्ता ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण सुरु भयो । ती संरचना बनाउन आवश्यक इँटा, बालुवा, रड र सिमेन्ट जस्ता सामग्री राख्ने गोदामका रूपमा खुलामञ्चलाई प्रयोग गर्न थालियो । त्यसलगत्तै पुरानो बसपार्कमा काठमाडौँ भ्यु टावर निर्माण सुरु भएपछि बसपार्कलाई अस्थायी रूपमा खुलामञ्चभित्र सारियो । यसले गर्दा खुलामञ्चको ठुलो हिस्सा बसको पार्किङ र धुलोधुवाँले कुरूप बन्यो ।
यति मात्र होइन, खुलामञ्चलाई व्यावसायिक स्वार्थका लागि समेत प्रयोग गर्ने प्रयास भए । २०७१ सालमा महानगरपालिकाले यहाँ भूमिगत पार्किङ बनाउने योजना अघि सारेको थियो, तर सम्पदा अभियन्ता र नागरिक स्तरबाट भएको तीव्र विरोधका कारण त्यो योजना सफल हुन सकेन । तर बसपार्क सञ्चालनका क्रममा केही ठेकेदारले महानगरका कर्मचारीसँगको मिलेमतोमा खुलामञ्चभित्रै व्यावसायिक सटर र शौचालयहरू निर्माण गरेर व्यापार सुरु गरे । ऐतिहासिक स्थललाई व्यापारिक केन्द्र बनाउन खोजिएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि महानगरले डोजर चलाएर ती संरचना हटाउन बाध्य भएको थियो । यी विभिन्न अवरोधका कारण सर्वसाधारणले एक दशकसम्म यो खुला ठाउँमा प्रवेश पाउन सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण