भिडबाट दिक्क छन् बालेन !
सारांश
- बालेन शाह झापा ५ निर्वाचन क्षेत्रमा क्यान्सर पीडित वृद्ध र विदेशमा छोरा गुमाएकी वृद्धालाई भेट्छन्।
- निर्वाचन अभियानमा भिडका कारण दिक्क भएका बालेन, समर्थकलाई छलेर विराटनगर पुगेको खबर छ।
- बालेनले मतदातासँग कुराकानी गर्न चाहे पनि भिडका कारण समस्या भएको गुनासो गरेका छन्।
विराटनगर । झापा ५ निर्वाचन क्षेत्रका उम्मेदवार रहेका बालेन शाह आफ्नो निर्वाचन क्षेत्रको एक स्थानीय व्यक्तिको घरमा पुग्छन् । जहाँ उनले क्यान्सर रोगबाट पीडित एक वृद्ध र उनको परिवारसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा बालेन भन्छन्, ‘क्यान्सरको उपचारका लागि त खेतबारी नै बेच्नुपर्ने अवस्था छ ।’ पीडित ‘परिवार हो नि’ भन्छन् ।
त्यस्तै बालेन दमककै शिवमाया नामकी एक वृद्धा महिलालाई भेट्छन् । त्यसक्रममा ती वृद्धा आफ्नो छोराको विदेशमा हत्या भएको भन्दै न्यायका लागि बालेनसँग रुँदै गुहार माग्छिन् । त्यसक्रममा बालेन उनलाई केही जवाफ फर्काउन सक्दैनन् ।
हो बालेन शाह अहिले आफ्नो निर्वाचन क्षेत्रमा वृद्धवृद्धा, युवा, असक्त, गरिव र सुकुमबासीलाई भेटघाट गरिरहेका छन् । त्यस क्रममा उनलाई माया गरेर अँगालो हाल्ने, रुने, रमाउने, फोटो खिच्नेजस्ता गतिविधिहरू भइरहकै छन् ।
भावी प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् । ओलीसँग तीव्र प्रतिस्पर्धा चलिरहँदा माथि उल्लेखित सन्दर्भमा जस्तै चुनावी अभियानमा हिँड्न चाहन्छन्, तर उनी त्यसरी हिँड्न नपाएकोमा गुनासो गर्न थालेका छन् ।
बालेनले गत माघ ५ गते जनकपुरमा आयोजित उद्घोष सभालाई करिब १० मिनेट मात्रै सम्बोधन गरेका थिए । त्यसपछि उनका समर्थकमा चिन्ता छाएको थियो । ‘१० मिनेट पनि भाषण गर्ने हो । यो धेरै भयो यसलाई कुनै पनि हालतमा छोट्याउनुपर्छ,’ बालेन निकट रास्वपाका एक नेताले भने, ‘त्यसपछि हामीले उहाँलाई भाषण छोट्याउन सुझाव दिएका छौं ।’
त्यसको ठिक एक महिनापछि बालेनले बुधबार धनगढीमा आयोजित सभामा जम्मा ३ मिनेट सम्बोधन गरे । बालेन सभास्थलमा पुग्नुभन्दा अगाडि भिडभाडले उनलाई मञ्चमा जान निक्कै सकस परेको सार्वजनिक भिडयोहरूमा देखिन्छ । धनगढीको भषणमा उनले ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’ भने । उनका निकटस्थहरूका अनुसार बालेन आजकाल भिडबाट दिक्क मान्न थालेका छन् ।

बालेनले मंगलबार (माघ ५ गते) बिहान एक घण्टा आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकस्थित चिया बगान क्षेत्रका सकुमबासी बस्तीमा पुगेर मतदाता र स्थानीयलाई आकस्मिक भेटघाट गरे । भेटघाटका क्रममा त्यहाँ ठुलो भिड थिएन । बालेन जहाँ जान्छन् त्यहाँ भिड जम्मा हुन्थ्यो । मंगलबार भिड नदेख्दा कतिपयले आश्चर्य माने । तर, बालेनले पूर्वनिर्धारित समयतालिकामा भेटघाट कार्यक्रममा जाँदा समर्थकले घेरिने भएको कारण आकस्मिक भेटघाटका कार्यक्रम राखेको उनी निकटस्थहरू बताउँछन् ।
‘मतदाता भेट्न भनेर पुग्यो, फोटो खिचाउनेको भिड हुन्छ, कुराकानी गर्न खोज्यो भने पनि समय नै नपाउने अवस्था छ,’ सचिवालयका एक सदस्यले भने, ‘सुकुमबासी समस्याबारे कुरा गर्न खोज्दा अहिले पुर्जासुर्जा हुँदै गरोस् एउटा फोटोचाहिँ खिचाउँ न भन्नेहरू आउँछन् ।’ बालेनले आफूलाई आफ्नै समर्थकबाट खतरा महसुस गरेका छन् । ‘आफ्नै फ्यानले किचेर मार्लान् जस्तो हुन्छ,’ बालेनको भनाइ उद्धृत गर्दै उनले भने, ‘बरु सुटुक्क कार्यक्रम बनाएर जानुपर्छ भन्ने सल्लाह अनुसार एक्लै हिँडेका हौं ।’
मंगलबारको भेटघाटपछि स्थानीय कार्यकर्तालाई कुनै जानकारी नदिई बालेन काठमाडौँ जान बुधबार ११ बज्न लाग्दा विराटनगर आइपुगे । विराटनगरबाट उनी ३ बजेमात्रै काठमाडौं उडेका थिए । त्यतिञ्जेल उनी ३–४ जना समर्थकसँग मात्रै थिए । ४ घण्टासम्म विराटनगरको एयरपोर्ट छेउमा रहेको होटल पर्पलहेजमा बसेको उनकै समर्थकले पत्तो पाएनन् ।
समर्थक वा पार्टी कार्यकर्ता कसैलाई जानकारी नदिई विराटनगर आएको बालेनको टिम भने सूचना चुहिन्छ र भिड हुन्छ कि भन्ने डरमा थियो । ‘यहाँ पनि भिड हुन्छ कि भन्ने डर छ । जहिल्यै भिडका भिडले तनाव दिइसक्यो,’ उनले भने । तर अन्तिमसम्ममा पनि विराटनगरका उनका समर्थकले पत्तो पाउन सकेनन् ।

सोमबार दिनभर झापा क्षेत्र नम्बर ५ का विभिन्न ठाउँमा पुगेका बालेनलाई स्थानीय मतदाताले भूमिहीन तथा सुकुमबासी समस्या, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारका विषयमा कुरा राखेका थिए । यसअघि चुपचाप हात हल्लाउँदै हिँड्ने उनले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भने प्रश्नोत्तर गर्न थालेको देखिन्थ्यो ।
‘खासमा उहाँ कुराकानी गर्दै हिँड्न चाहनुहुन्छ, तर भिडले दिँदैन,’ उनले भने, ‘सबै मतदाताको घरदैलोमा जान पाए हुन्थ्यो भन्ने कुरा उहाँले गरिनैरहनु भएको छ । तर, जानसक्ने अवस्था छैन ।’ उनले अझै पनि सार्वजनिक सभाहरू सकेर पुनः झापा निर्वाचन क्षेत्रमा केन्द्रीत हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण