बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खानपान

दुबई घुम्दा फुरेको त्यो आइडिया, जसले जन्मायो काठमाडौँमा फिल्ली चियाको ब्रान्ड

शनिबार, ०९ फागुन २०८२, १९ : ००
शनिबार, ०९ फागुन २०८२

सारांश

  • बाँके, काेहलपुरका नवीन खड्का र ध्रुव रिजालले दुबईमा जाफ्रान चियाको स्वाद लिएपछि काठमाडौंमा फ्रेन्चाइज सुरु गर्ने योजना बनाए।
  • फिल्ली क्याफेको फ्रेन्चाइज नेपालमा ल्याउन धेरैले प्रयास गरे, अन्ततः एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिसँग सम्झौता गरे।
  • हाल फिल्लीका काठमाडौंमा आउटलेटहरू विस्तार भइसकेका छन् र ५ वर्षभित्र देशभर २५ देखि ३० आउटलेट पुर्‍याउने लक्ष्य राखिएको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । बाँके,कोहल्पुरका नवीन खड्का र ध्रुब रिजाल दुबईमा आयोजित एक्सपोमा भाग लिन नगएको भए काठमाडौँमा फिल्ली चियाको फ्रेन्चाइज नै सुरु हुँदैनथ्यो । नातेदार शिव केसी र एक पाकिस्तानी साथीले दुबईको ‘काइट बिच’ मा लगेर जब जाफ्रान चिया चखाए, नवीन र ध्रुबको जिब्रोमा त्यो स्वाद यसरी बस्यो कि दुवै जनाले काठमाडौँमा यसको फ्रेन्चाइज सुरु गर्ने सोचे ।

फिल्ली जाफ्रान टी (केसरयुक्त चिया) दुबईमा यति चर्चित छ कि, चिया खानकै लागि लाइन लाग्नुपर्छ । नवीन खड्का र ध्रुबले पनि लाइन लागेर फिल्ली चियाको चुस्की लिएका थिए । ‘सुरुप्प पार्नेबित्तिकै वाउ फिल भयो !’ नवीनले त्यो पल सम्झिँदै भने ।

WhatsApp Image 2026-02-19 at 13.41.36

नेपालमा फिल्लीको फ्रेन्चाइज सुरु गर्ने उद्देश्यले उनीहरू फ्रेन्चाइज डाइरेक्टरलाई भेट्न चाहन्थे । चियाको स्वाद चाख्न लामो लाइनमा पर्खिनुभन्दा बढी फ्रेन्चाइज डाइरेक्टरलाई भेट्न समय लाग्यो । जब पाकिस्तानी साथीले भेटघाटका लागि समय मागे, तब फिल्लीका फ्रेन्चाइज डाइरेक्टरले १० दिन कुर्न भनिदिए ।

२०७८ सालको अन्तिमतिर दुबईमा दुई हप्ता घुमघाम सकेर नेपाल फर्किने तरखरमा रहेका नवीन खड्का र ध्रुबसँग पर्याप्त समय थिएन । भिसाको म्याद सकिनै लागेको थियो । काठमाडौँका क्याफेहरूको भन्दा केही फरक स्वाद काठमाडौँवासीलाई चखाउने अठोट यी दुवैको मनमा थियो । फिल्लीको हेड अफिसमा विशेष अनुरोध गरेपछि ४ दिनमै भेट्ने अवसर जुर्‍यो ।

दुई पटक ‘बेस्ट टी इन दुबई’ अवार्ड पाइसकेको फिल्ली क्याफेको फ्रेन्चाइज पाउन त्यति सजिलो भने थिएन । यसअघि पनि केही व्यापारीले नेपालमा फ्रेन्चाइज खोल्नका लागि अनुरोध गर्दा अनुमति पाएका थिएनन् । तर, नवीन र ध्रुबसँग नेपालमा केही न केही गर्ने गहिरो भोक र अठोट थियो । फिल्लीकाे टिमले उनीहरूको हुटहुटीलाई सकारात्मक मोड दिने भए । तत्काल ‘म्युचुअल भर्बल एग्रिमेन्ट’ भयो ।

469113457_17976950009794788_6470600340465974272_n

  • तर, यत्तिमै काम भने सकिएन ।

फिल्ली क्याफेका मालिक रफिह फिल्ली, डाइरेक्टरसहित फिल्लीका तीन जना, चेयरम्यान नवीन र प्रबन्ध निर्देशक ध्रुबसँगसँगै नेपाल आए । म्यारियट होटलमा बसे । यहाँको बजार अनुसन्धान गरे । पोखरा घुमेर फर्किसक्दा पनि अझै फ्रेन्चाइज पाउने, नपाउने निधो थिएन । रफिह फिल्ली दुबई उड्नु ५ घण्टा अगाडि मात्र खबर गरे । बधाई पाएपछि मात्र नवीन र प्रबन्ध निर्देशक ध्रुब ढुक्क भए ।

त्यसको एक महिनापछि दुबईमै फिल्ली क्याफे र एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिसँग औपचारिक सम्झौता भयो ।

त्यो दिन एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिका चेयरम्यान नवीन र ध्रुब जीवनमा सबैभन्दा धेरै खुसी थिए । किनभने योभन्दा अघि फिल्लीको ब्रान्ड अरूले नेपाल भित्र्याउन सकेका थिएनन् । तर, फिल्लीले माग गरेकै भरमा र पैसा तिरेकै आधारमा मात्रै फ्रेन्चाइज दिँदैन । निश्चित मापदण्ड पूरा गरेपछि मात्र फ्रेन्चाइजका लागि अनुमति प्रदान गर्छ ।

482026503_623944730401332_7661294801728587828_n

‘एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालि र एनडी हस्पिटालिटीद्वारा संयुक्त रूपमा सञ्चालित फिल्ली क्याफेले अन्तर्राष्ट्रिय स्तरको जाफ्रान चियाको स्वादलाई नेपालीमाझ चिनाएको मात्रै छैन, हामीले एक सयभन्दा बढीलाई रोजगारी पनि प्रदान गरेका छौँ,’ ग्रुपका महाप्रबन्धक तथा सह-संस्थापक विकाश खड्का भन्छन् ।

  • पाँच वर्षमा २५ देखी ३० आउटलेटको लक्ष्य'

१ वैशाख ०८० मा काठमाडौँको लाजिम्पाटमा पहिलो आउटलेटको उद्घाटन गरेको फिल्लीले अहिले ठमेल, बौद्ध, दरबारमार्गको स्काइवाक टावर, ललितपुरको पुल्चोकस्थित लबिम मल र सानेपाकाे  इन्टरनेसनल क्लबमा आउटलेट विस्तार गरिसकेको छ । ‘५ वर्षभित्र देशभर ३० वटा आउटलेट पुर्‍याउने लक्ष्य छ । हामी व्यापार मात्र गर्दैनौँ, सामाजिक कार्यमा पनि सक्रिय हुन्छौँ । त्यसका लागि निश्चित बजेट छुट्याउँछौँ,’ प्रालिका चेयरम्यान नवीन भन्छन् ।

एनडी थर्टी नाइनले क्याफेसँगै इन्टरनेसनल बारिस्टा एकेडेमीको पनि सुरुवात गरेको छ । जहाँ तीन सिफ्टमा कफीको तालिम दिइन्छ । ‘एक महिनाको कोर्स गरेपछि फिल्ली क्याफेमै जागिरको ग्यारेन्टी पनि दिन्छौँ,’ ध्रुब भन्छन्, ‘नेपालमा दुई वर्ष कामको अनुभव लिइसकेकाहरूले वैदेशिक रोजगारीमा जान चाहे निःशुल्क सिफारिस पनि गरिन्छ ।’

469269737_17976950255794788_4753401543791520354_n

फिल्ली क्याफेले फरक स्वाद मात्रै पस्किएको छैन, यहाँको सजावट, लाइट र डिजाइन पनि विशेष प्रकारको छ । एकपटक क्याफे पस्ने जोकोही फेरि फर्केर आउने वातावरण छ । त्यसको अनुभूति फिल्ली क्याफे पस्नेबित्तिकै जोकोहीले महसुस गर्न सक्छन् ।

काठमाडौँमा फिल्ली क्याफे सुरु हुनुअघि ७ जनालाई तालिम दिन डेढ महिना दुबईमा राखिएको थियो । कम्पनीले आफ्नै खर्चमा हेड सेफ, अपरेसन हेड, आउटलेट इन्चार्ज, म्यानेजर, मार्केटिङ र ब्रान्डिङ टिमलाई क्याफे सञ्चालन, उपभोक्ताहरूलाई गर्नुपर्ने व्यवहारलगायत विषयमा तालिम प्रदान गरेको थियो । त्यसै कारण छोटो समयमै फिल्लीले नेपाली बजारमा बेग्लै छाप छाडेको छ ।

अहिले नेपालमा फिल्ली क्याफेको फ्रेन्चाइज लिनेहरूको लाइन छ । तर, नेपालका लागि आधिकारिकता पाएको एनडी थर्टी नाइन बिजनेस ग्रुपले कसैलाई अनुमति दिएको छैन । निश्चित मापदण्ड पुर्‍याउनेहरूलाई क्रमशः फ्रेन्चाइज दिलाउने तयारी भने रहेकाे छ ।

अहिले पनि प्रत्येक तीन, तीन महिनामा फिल्लीको हेड अफिसबाट काठमाडौँका आउटलेटमा फिल्लीका टिम आउने गर्छन् । क्याफेमा सुधार गर्नुपर्ने कुरा र मेनु रिभ्यु गर्ने कुरामा आवश्यक सरसल्लाह दिन्छन् ।

WhatsApp Image 2026-02-18 at 15.05.19

  • जसले जन्माए फिल्ली चिया

एक समय भारतीय मूलका उद्यमी रफिह फिल्ली (अब्दुल रफिया) क्याबिन क्रुमा काम गर्न चाहन्थे । अहिले भने आफैँ जेट विमान किन्ने सपना पालेका छन् । दुबईलाई कर्मथलो बनाइरहेका उनमा फिल्ली चियाको व्यापारले त्यो आँट ल्याएको हो । टेड टक्समा बलियो आत्मबलका साथ उनले आफ्नो कथा संसारलाई सुनाएका छन् ।

एउटा सानो क्याफे कसरी विश्वप्रसिद्ध ब्रान्ड बन्न सक्छ? त्यसको सफल उदाहरण हो, फिल्ली क्याफे । दुबईको अल ममजार क्षेत्रमा रफिहका बुबाले जुमाला क्याफे सञ्चालन गरिरहेका थिए । सन् २००४ मा रफिहले जुमालालाई रिब्रान्ड गरेर नयाँपन दिए ।

भारतको केरलामा सन् १९८१ मा जन्मिएका रफिह, पछि दुबई पुगे । स्कुल पढ्ने बेला साथीहरूले उनको निकनेम राखिदिएका थिए, फिल्ली । त्यही नाममा उनले चियाको व्यापार सुरु गरे, फिल्ली जाफ्रान टी । उनको नामजस्तै चियाको युनिक ब्रान्ड बन्यो, जसले विश्व बजारमा बेग्लै छाप छोड्यो । संयुक्त अरब इमिरेट्स (यूएई) को लोकप्रिय चियाको ब्रान्डका रूपमा प्रख्यात छ, फिल्ली । त्यसका संस्थापक तथा सीईओ हुन्, उनै फिल्ली ।

छोटो समयमा अत्यन्तै रुचाइएको फिल्ली क्याफे जाफ्रान टी संसारका १५ वटा देशमा फैलिएको छ । यूएई, बेलायत, अमेरिका, क्यानडा, ओमान, कतार, नेपाल, मौरिसस, भारत र पाकिस्तानमा दुई सय वटा आउटलेट फैलाएको फिल्लीले आफ्नो सिग्नेचर ‘जाफ्रान टी’ लाई स्थापित गरिसकेको छ । संयुक्त अरब इमिरेट्समा मात्रै सन् २०२५ को अन्त्यसम्म १ सय २७ वटा आउटलेट खुलिसकेका छन् ।

filli (2)

हरेक देशमा फिल्लीको फ्रेन्चाइज खोल्न उद्यमी, व्यापारीहरूको सपना हुन्छ । फ्रेन्चाइज डाइरेक्टरलाई भेट्नकै लागि केन्द्रीय कार्यालयमा हप्तौँसम्म कुर्नेहरू उत्तिकै हुन्छन् । पैसा दिँदैमा मात्र फिल्लीले फ्रेन्चाइज बेच्दैन ।

सम्बन्धित देशमा त्यसको बजार कस्तो छ, त्यसको अध्ययन-अनुसन्धानपश्चात् मात्र दिन्छ । फिल्लीको केन्द्रीय कार्यालयका प्रतिनिधिहरूले बजार अनुगमन गर्छन्, पूर्ण विश्वस्त भइसकेपछि मात्र फ्रेन्चाइजका लागि अनुमति दिन्छन् । क्याफेको सम्पूर्ण सेटअपका लागि दुबईको हेड अफिसबाटै प्रतिनिधिहरू खटिन्छन् । कुर्सी, टेबलको डिजाइन, लाइटको व्यवस्थापन लगायत इन्टेरियर डिजाइनको सम्पूर्ण काम कम्पनीले नै गर्छ ।

  • यस्तो छ फिल्लीको मेनु

हुन त फिल्लीको मेनुमा ‘जाफ्रान टी’ मात्र छैन । केसरयुक्त चियाको स्वाद जिब्रोमा झुन्डिएजस्तै यहाँ इन्डियन, मिडल इस्टर्न अन्तर्राष्ट्रिय स्वादका परिकारहरू पनि उपलब्ध गराइन्छ । जाफ्रान मिल्क केक, बन कबाब, स्यान्डविच, फुडल, कुरकुरे ममलगायत विभिन्न प्रकारका खाजा र आइस्ड चाइ, मिल्कसेक, पिज्जा, मोकटेललगायत पेय पदार्थहरू पनि उपलब्ध छन् ।

filli (1)

नेपालीले रुचाउने परिकारहरू यहाँको मेनुमा उपलब्ध छन् । मुस्लिमहरूले हलाल परिकारका लागि फिल्ली क्याफे नै रोज्ने गर्छन् । चिया, कफीका भेराइटीहरूसँगै फिल्लीको मेनुमा ब्रेकफास्ट र लन्चका आइटम उपलब्ध छन् ।

संसारभर खोलिएका फिल्लीका आउटलेटमा एउटै नियम छ । सम्बन्धित देशमा २० प्रतिशत स्थानीय स्वाद समेटिएका परिकार र ८० प्रतिशत फिल्लीले निर्धारण गरेका परिकार हुनुपर्छ ।

  • फिल्लीको योजना

संयुक्त अरब इमिरेट्समा एउटा सानो क्याफेबाट सुरुवात भएको फिल्ली विश्वकै ठुलो र लोकप्रिय चियाको ब्रान्ड बन्ने दौडमा छ ।

फिल्ली क्याफेले चियाको बजारमा मात्र होइन, स्वादिष्ट परिकारहरू पस्किएर उपभोक्ताहरूको पहिलो रोजाइ बन्ने लक्ष्य बोकेको छ । दिनहुँ ब्रान्ड भ्यालु बढाइरहेको फिल्लीले स्वाद, आनन्द र मीठो आतिथ्यतालाई मूल मन्त्र अँगालेर अघि बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप