हिउँ फुटाएपछि नार्पाभूमि जाने बाटो खुल्यो, गाउँले फर्काउन काठमाडौँमा घरदैलो
सारांश
- मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटोमा हिउँ पन्छाएर निर्वाचनका लागि बाटो खुलाइएको छ।
- बाटो खुलेपछि मतदाता फर्किने क्रम जारी छ, जसमा काठमाडौँमा रहेका मतदाताहरू पनि छन्।
- निर्वाचन अधिकृतका अनुसार मतदान सामग्री र कर्मचारीहरूलाई तालिम दिई सुरक्षाका साथ मतदान केन्द्रमा पठाइनेछ।
पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटोमा जमेको बाक्लो हिउँ पन्छाएर बाटो खुलाइएको छ । आगामी निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले ५दिनसम्म लगाए बाटो खोलेका हुन् ।
मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार नार्पाभूमि जाने बाटोमा पर्ने धर्मशाला र झरना आसपासको क्षेत्रमा बाक्लो हिउँ जम्दा आवतजावत पूर्ण रूपमा बन्द भएको थियो । बाटो अवरुद्ध भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएर तीन दिनको निरन्तर प्रयासपछि हिउँ पन्छाउँदै बाटो खुलाएको हो ।
बाटो खुले पनि गाउँलेहरू गाउँ फर्किएका छैनन् । जाडो छल्न काठमाडौँ, पोखरा बेसी झरेका अधिकांश मतदाता फर्किने क्रममा रहेको पौडेलले सुनाए । ‘अहिले गाउँमा चौँरी गोठाला र केही वृद्धवृद्धा मात्रै हुनुहुन्छ । काठमाडौँ बस्ने मतदाताहरू १४–१५ गतेतिर गाउँ फर्किने बुझिएको छ,’ उनले भने, ‘गाउँले नहुँदा हामी पनि जान सक्ने अवस्था छैन । गाउँले फर्किएपछि साथीहरू जाने तयारीमा हुनुहुन्छ ।’
अन्य क्षेत्रहरूमा केही दिनमै मतदान सामग्री पुगिसक्ने उनले बताए । मतदान अधिकृत र सहायक कर्मचारीहरूलाई तालिम दिएपछि सुरक्षा घेरासहित मतपत्र र मतपेटिकाहरू सम्बन्धित मतदान केन्द्रमा पठाइने उनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल मौसम बाहेक मनाङमा अन्य चुनौती नरहेको बताउँछन् । ‘हामीलाई अप्ठ्यारो भयो भने मौसम नै हो । प्राकृतिक समस्याबाहेक मानव सिर्जित समस्या यहाँ छैन,’ उनले भने, ‘हामी चुनावका लागि तयार छौँ । अन्य कारणले चुनाव रोकिँदैन ।’ नार्पाभूमिमा ४ सय ८८ मतदाता छन् । नार्पाभूमि गाउँपालिकामा ५ वटा वडाहरू छन् ।
नार्पाभूमिका अध्यक्ष कोन्जो तेन्जिङ लामा मतदाताहरूलाई गाउँ फर्काउन प्रयास भइरहेको बताउँछन् । ‘सबैजसो काठमाडौँ हुनुहुन्छ । १४ गतेदेखि १७ गतेसम्म उहाँहरूलाई गाउँ फर्किनुस् भनेका छौँ,’ लामा भन्छन्, ‘२ सय ५० जना जति फर्किन्छन् होला । सके परिवारका सबै नभए पनि कम्तीमा एक जना आउनुपर्छ भनेका छौँ । फर्किने तयारीमा हुनुहुन्छ ।’
मनाङमा ३ जना मात्रै उम्मेदवार छन् । नेपाली काँग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा सुवेदी र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले उम्मेदवार छन् । यसअघि एमाले र राप्रपाले समेत उम्मेदवारी दिएकोमा काँग्रेसलाई समर्थन गर्दै उनीहरूले मनोनयन फिर्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण