यौन दुर्व्यवहारको आरोपमा पूर्वक्रिकेटर मञ्जुरुल इस्लाममाथि प्रतिबन्ध
सारांश
- बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पूर्व फास्ट बलर मञ्जुरुल इस्लामलाई क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाएको छ।
- इस्लामलाई गम्भीर दुर्व्यवहार र उत्पीडनको दोषी ठहर गर्दै बोर्डले कारबाही गरेको हो, छानबिन समितिले निष्कर्ष निकालेको छ।
- यो घटना पूर्व कप्तान जहानारा आलमको उजुरीपछि सुरु भएको थियो, जसमा इस्लाममाथि अश्लील प्रश्न सोधेको आरोप थियो।
ढाका । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पूर्व फास्ट बलर तथा महिला टोलीका पूर्व छनोटकर्ता मञ्जुरुल इस्लामलाई क्रिकेट सम्बन्धी सम्पूर्ण गतिविधिबाट प्रतिबन्ध लगाएको छ। बोर्डद्वारा गठित स्वतन्त्र छानबिन समितिले उनलाई गम्भीर दुर्व्यवहार र उत्पीडनको दोषी ठहर गरेपछि यो कारबाही गरिएको हो।
सन् २०२२ मा भएको महिला एकदिवसीय विश्वकपका दौरान टोलीको मुख्य छनोटकर्ता र व्यवस्थापक रहेका इस्लामले पदीय मर्यादा विपरीत कार्य गरेको छानबिनको निष्कर्ष छ। यो प्रकरण बङ्गलादेशकी पूर्व कप्तान जहानारा आलमले इस्लाम विरुद्ध आधिकारिक उजुरी दिएपछि सुरु भएको थियो।
आलमले गत वर्षको नोभेम्बरमा एक अन्तर्वार्ताका क्रममा मञ्जुरुलले आफूलाई अश्लील प्रश्नहरू सोध्ने र अनुपयुक्त व्यवहार गर्ने गरेको सनसनीपूर्ण खुलासा गरेकी थिइन्। उनले इस्लामका साथै बोर्डका अन्य केही अधिकारीहरूमाथि पनि प्रश्न उठाएकी थिइन्। सोही उजुरीका आधारमा बीसीबीले न्यायमूर्ति तारिक उल हाकिमको अध्यक्षतामा शक्तिशाली छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले झण्डै चार महिना लगाएर जहानाराले उठाएका चारवटा विशिष्ट आरोपहरूको सूक्ष्म अध्ययन गरेको थियो। समितिको प्रतिवेदन अनुसार दुईवटा आरोपहरू प्रमाणको अभावमा पुष्टि हुन नसके पनि बाँकी दुईवटा आरोपमा भने मञ्जुरुल दोषी देखिएका छन्।
प्रतिवेदनमा उनको व्यवहार व्यावसायिक मापदण्ड विपरीत रहेको र सर्वोच्च अदालतको निर्देशिका बमोजिम 'दुर्व्यवहार र उत्पीडन' को परिभाषाभित्र पर्ने स्पष्ट उल्लेख गरिएको छ। समितिको सिफारिसकै आधारमा बीसीबीले आइतबार सम्पन्न बोर्ड बैठकबाट उनलाई भविष्यमा बोर्ड मातहतका कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी र गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
मञ्जुरुल इस्लाम हाल चीनको महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्। बीसीबीसँगको उनको सम्झौता सन् २०२५ जुन ३० मा सकिएको भए पनि यो प्रतिबन्धले उनलाई बंगलादेशको क्रिकेट वृत्तमा पूर्ण रूपमा निषेध गरेको छ।
बोर्डका अध्यक्ष अमिनुल इस्लामले प्रतिवेदन बुझ्दै समितिले दिएका अन्य सिफारिसहरूमाथि पनि पुनरावलोकन भइरहेको र आवश्यकता अनुसार थप कदमहरू चालिने जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण