बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लमजुङको मुहार फेर्ने पृथ्वी सुब्बाको यस्तो छ ‘रोडम्याप’

सोमबार, ११ फागुन २०८२, १२ : १५
सोमबार, ११ फागुन २०८२

सारांश

  • नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले लमजुङको समग्र विकासका लागि अपिल जारी गरे।
  • उनले भौतिक पूर्वाधार विकास, सडक स्तरोन्नति, र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन्।
  • गुरुङले सुशासन, युवा रोजगारी, र लमजुङलाई पर्यटकीय हब बनाउने योजना अघि सारेका छन्।

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै लमजुङबाट नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले आफ्नो अपिल सार्वजनिक गरेका छन्। अनुभवी नेता गुरुङले लमजुङको समग्र विकास, सुशासन र आर्थिक समृद्धिको संकल्प बोकेर आफू निर्वाचनको मैदानमा उत्रिएको घोषणा गरेका हुन्। 

उनले लमजुङबासीका नाममा एक अपिल जारी गर्दै जिल्लाको कायापलट गर्नका लागि आफूलाई जिताउन आग्रह गरेका छन्। गुरुङले लमजुङको भाग्य र भविष्य बदल्नका लागि भौतिक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राखेका छन्। विशेषगरी मध्यपहाडी लोकमार्गको कामलाई तीव्रता दिने र डुम्रे–बेसीशहर–मनाङ सडकखण्डको स्तरोन्नतिलाई उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

जिल्लाका ग्रामीण भेगसम्म फैलिएका सडक सञ्जाललाई बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाएका छन्। लमजुङको प्राकृतिक स्रोतलाई सही सदुपयोग गर्दै जल, जमिन र जंगललाई आधुनिक ज्ञानसँग जोडेर आर्थिक लाभ लिने उनको योजना छ।

युवा शक्ति र प्रविधिलाई जोड्न गुरुङले विशेष चासो देखाएका छन्। डिजिटल नेपालको अभियानलाई स्थानीय तहसम्म पुर्‍याउँदै युवाहरूका लागि गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्ने र दक्ष जनशक्तिलाई जिल्लामै टिकाउने रणनीति उनले अघि सारेका छन्। 

कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै लमजुङलाई देशकै प्रमुख पर्यटकीय हब बनाउनका लागि ठोस योजनाका साथ आफू अघि बढेको उनले दाबी गरेका छन्। लमजुङको पर्यटनलाई विश्व बजारमा चिनाउने र यहाँको स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्ने उनको सोच छ।

राज्य सञ्चालनमा सुशासनको अभाव खड्किरहेका बेला गुरुङले नीतिगत भ्रष्टाचारको अन्त्य र जनमुखी कानुन निर्माणलाई जोड दिएका छन्। संघीयताको सुदृढीकरण गर्दै जनताले महसुस गर्ने गरी काम गर्ने दृढता उनले व्यक्त गरेका छन्। अनुभवी नेतृत्वले मात्रै जिल्लालाई सही दिशा दिन सक्ने जिकिर गर्दै उनले समृद्ध लमजुङ निर्माणको यात्रामा सबैको साथ मागेका हुन्।

पृथ्वीसुब्बा गुरुङको अपिल_page-0001पृथ्वीसुब्बा गुरुङको अपिल_page-0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप