बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सरोकार

‘जहाजमा चरा ठोक्किँदा छानबिन आयोग बन्छ, तर सडकमा दिनहुँ मान्छे मर्दा सरकार गम्भीर भएन’

दुर्घटना न्यूनीकरणका लागि बनाइएका कार्यदलका सुझाव कार्यान्वयन भएनन् : सरोज सिटौला
सोमबार, ११ फागुन २०८२, १४ : ०१
सोमबार, ११ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा यात्रुहरूको सुरक्षा चुनौतीको विषय बनेको छ, र हालैका दुर्घटनाहरूले सडक सुरक्षामा प्रश्न उठाएका छन्।
  • धादिङको दुर्घटनामा १९ जनाको मृत्यु, रामेछाप र बैतडीमा भएका दुर्घटनाहरूले पनि ठूलो मानवीय क्षति पुर्‍याएका छन्।
  • यातायात व्यवसायीका अनुसार सडक दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि, सडकको अवस्था र सवारीको यान्त्रिक गडबडी हुन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । देश आम निर्वाचनको संघारमा छ । यस्तो बेला मतदानका लागि घर फर्कने यात्रुहरूको सुरक्षा चुनौतीपूर्ण बनेको छ । 

आइतबार राति १ बजे पोखराबाट ३४ जना यात्रु लिएर काठमाडौँतर्फ आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको बस धादिङको बेनीघाट रोराङ गाउँपालिकामा दुर्घटना भई त्रिशूली किनारमा खस्दा १९ जनाले अकालमै ज्यान गुमाएका छन् । यस दुःखद घटनाले पुनः नेपालको सडक सुरक्षा र यातायात प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

यसअघि रामेछाप र बैतडी जिल्लामा पनि दुई ठुला बस दुर्घटना भएका थिए । माघ २२ गते बैतडीको पुर्चौडी–७ बडगाउँमा भएको दुर्घटनामा १३ जना र माघ २९ गते रामेछापको सेलेघाटमा भएको दुर्घटनामा १२ जनाले ज्यान गुमाएका थिए । पछिल्ला तीन दुर्घटनामा ठुलो मानवीय क्षति भएको छ । 

यसै सन्दर्भमा दुर्घटनाका कारण, सरकारको भूमिका र व्यवसायीको जिम्मेवारीका विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष सरोज सिटौलासँग गरिएको कुराकानी प्रस्तुत छ :

  • चुनावको मुखमा ठुला दुर्घटना भइरहेका छन् । पछिल्लो समय सडक दुर्घटना निकै बढ्नुको मुख्य कारण के होला ?

यो अत्यन्तै दुःखद अवस्था हो । धादिङ दुर्घटनाको सन्दर्भमा आजै गृह मन्त्रालयमा दुर्घटना कसरी भयो भन्ने विषयमा छलफल गर्‍यौँ । १९ जनाको मृत्यु भइसकेको अवस्था छ । घटनाको छानबिन गर्न तत्कालै कार्यदल बनाउने कुरा भएको छ । गृह र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरू, आईजीपी साबहरू, यातायात र सडक विभागका महानिर्देशकहरूसहितको जम्बो टोलीको बैठक बस्यो ।

तर मेरो प्रश्न के हो भने, यो कार्यदल नामका लागि मात्रै हो कि प्रभावकारी पनि हुन्छ ? हिजो सिमलताल दुर्घटनापछि पनि तत्कालीन गृहमन्त्रीकै स्तरबाट सहसचिवको संयोजकत्वमा कार्यदल बन्यो । त्यो कार्यदलले एक महिना लगाएर १२ बुँदे प्रतिवेदन बुझायो । त्यसमा प्राकृतिक प्रकोपका कारण पनि दुर्घटना भएको कुरा समेटिएको थियो । तर ती १२ बुँदे सुझावको कार्यान्वयन खोइ ?

हाम्रो विडम्बना नै यही हो, जब ठुलो घटना हुन्छ, मुलुक तात्तिन्छ, सबै निकायको तदारुकता देखिन्छ । तर, घटना सेलाएपछि सबै कुरा ओझेलमा पर्छन् र प्रतिवेदन दराजमा थन्किन्छन् । सामान्यतया सडक दुर्घटनाका मुख्य तीनवटा कारण छन्ः मानवीय त्रुटि, सडक पूर्वाधारको अवस्था र सवारीको यान्त्रिक गडबडी । अहिले मुख्य समस्या भनेको अस्वस्थ प्रतिस्पर्धा र राज्यको फितलो नीति नै हो ।

  • प्रायः सडक संरचनालाई नै दुर्घटनाको एउटा मुख्य कारण मानिन्छ । नेपालका सडकहरूको गुणस्तर र सुरक्षाका लागि यातायात व्यवसायीको तर्फबाट के सुझाव दिनुहुन्छ ?

नेपालका अधिकांश ग्रामीण सडकहरू इन्जिनियरिङ सर्भे र मापदण्डविना नै डोजरले जथाभाबी खनिएका छन् । यस्ता सडकमा सुरक्षाको कुनै मापदण्ड छैन, जसका कारण वर्षायाममा सडक झन् जोखिमपूर्ण बन्ने गरेका छन् ।

हाम्रो स्पष्ट सुझाव छ, पहाडी सडकका छेउमा अनिवार्य ‘सेफ्टी ब्यारियर’ राखिनुपर्छ । यस्तो सुरक्षा बार नहुँदा गाडी सिधै भीरबाट खस्ने गरेका छन् । बार मात्रै लगाउने हो भने पनि धेरै हदसम्म दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ । 

अर्को कुरा, सडकमा ट्राफिक लाइट र सन्देशमूलक बोर्ड राख्नुको साटो व्यापारिक विज्ञापनका होर्डिङ बोर्डहरू राखिएका छन्, जसले चालकको ध्यान अन्यत्र मोडिदिन्छ । यस्ता विज्ञापन हटाएर सडक सुरक्षाका सन्देशहरू राख्नुपर्छ ।

यसबाहेक सडकमा निर्माण सामग्री राख्ने, पराल सुकाउने, अतिक्रमण गर्ने र राजमार्गमा मर्निङ वाक गर्ने जस्ता गतिविधिले पनि दुर्घटना बढाएका छन् । यस्ता काम गर्नेलाई कडा कारबाही हुनुपर्छ । सडक निर्माण र मर्मतमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुको साटो क्षेत्राधिकारको लडाइँ हुँदा सडक सुरक्षा ओझेलमा परेको छ ।

  • यातायात व्यवसायीका रूपमा तपाईंहरू सवारी साधनको नियमित मर्मतसम्भार र फिटनेस जाँच कसरी गरिराख्नुभएको छ ? के विद्यमान प्रणाली पर्याप्त छ ?

अहिलेको फिटनेस जाँच प्रणाली नै अपर्याप्त र अवैज्ञानिक छ । देशभरका हजारौँ गाडीलाई टेकुको एउटा सेन्टरमा ल्याएर जाँच गर्न सम्भव छैन । हामीले सातै प्रदेश र प्रत्येक जिल्लामा फिटनेस सेन्टर चाहियो भनेका छौँ ।

अर्को गम्भीर कुरा, छिमेकी मुलुक भारतसँग खुला नाका भएका कारण बजारमा जथाभाबी रूपमा नक्कली र गुणस्तरहीन पार्टपुर्जाहरू भित्रिएका छन् । राज्यले न पार्टपुर्जाको गुणस्तर हेर्छ, न त ग्यारेजहरूको वर्गीकरण र अनुगमन नै गर्छ । मापदण्डविना खोलिएका वर्कसप र यस्ता गुणस्तरहीन सामग्रीले गर्दा सवारीसाधनमा यान्त्रिक गडबडीको जोखिम अत्यधिक बढाएको छ ।

  • चालकहरूको क्षमता र थकान व्यवस्थापनका लागि के कस्ता नीतिहरू लागू गरिएका छन् ? लामो दुरीका चालकका लागि विश्रामको व्यवस्था के छ ?

हामीले चालकहरूलाई जनचेतनामूलक तालिमहरू दिँदै आएका छौँ । तर एउटा तीतो सत्य के हो भने, देशका दक्ष चालकहरू सबै विदेश पलायन भइरहेका छन् । हामीले लामो दुरीमा दुई जना चालक अनिवार्य भनेका छौँ र राखेका पनि छौँ । तर बाटोमा चालकले १५ मिनेट फ्रेस हुन पाउने रिफ्रेस सेन्टर कतै छैन । 

चालक निदाएर दुर्घटना भयो भन्न जति सजिलो छ, उसलाई बाटोमा विश्राम गर्ने स्थल राज्यले बनाइदिनु पर्दैन ? हामीले प्रत्येक ३ सय किलोमिटरमा विश्राम स्थल बनाउनुपर्ने माग गर्दै आएका छौँ, तर तीनवटै तहका सरकारले यसलाई बेवास्ता गरेका छन् ।

त्यस्तै, यातायात कार्यालयहरूको गल्ती पनि सानो छैन । क्षमता नै नभएका ११ सिटे ईभी गाडी, जसलाई २५० किलोमिटर दुरीसम्म मात्र गुडाउनु पर्ने हो, तिनलाई ५–६ सय किलोमिटरसम्मको लामो रुट इजाजत दिइएको छ । यो यातायात कार्यालयको ठुलो गल्ती र अपराध हो ।

  • दुर्घटना भइहालेमा घाइतेको उद्धार र उपचारका लागि कस्तो सुधारको आवश्यकता देख्नुहुन्छ ?

रातिको समयमा अनकन्टार ठाउँमा दुर्घटना हुँदा उद्धारमा ठुलो समस्या हुने गरेको छ । यसका लागि हामीले एउटा ‘आकस्मिक उद्धार कोष’ बनाउन प्रस्ताव गरेका छौँ । डिजेल–पेट्रोलमा १ रुपैयाँ मात्रै थपेर त्यो पैसा कोषमा राख्ने हो भने आपत्कालीन समयमा हेलिकप्टर पठाएर तत्काल घाइतेको ज्यान बचाउन सकिन्छ । यसमा बीमा कम्पनीहरूले पनि योगदान गर्नुपर्छ ।

  • सवारी दुर्घटना बीमा र क्षतिपूर्तिको वर्तमान व्यवस्थालाई थप प्रभावकारी बनाउन के गर्न सकिन्छ ?

हामीले ‘अनलिमिटेड बीमा’ को नीति ल्याउनुपर्छ भनेका छौँ । अहिले दुर्घटना भएपछि सडकमा बसेर बार्गेनिङ गर्ने, गाडी तोडफोड गर्ने र २०–५० लाख माग्ने प्रवृत्ति छ । यदि बीमा पोलिसीले क्षतिपूर्तिका सबै कुरा समेट्ने हो भने सडकमा बार्गेनिङ गर्ने झन्झट हट्छ र पीडितले पनि सहजै न्याय पाउँछन् ।

  • बैतडी, रामेछाप र धादिङ जस्ता ठुला दुर्घटनाले कस्तो पाठ सिकाएका छन् ? आगामी दिनमा दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ ?

यसको मुख्य पाठ भनेको ‘प्रविधिको प्रयोग र नियमको कडा कार्यान्वयन’ हो । अब हामी प्रविधिमा जानैपर्छ । प्रत्येक गाडीमा भेइकल पोजिसनिङ सिस्टम (भीपीआर) राख्ने, नगदरहित (क्यासलेस) अनलाइन टिकेटिङ गर्ने र यात्रुको विवरण अनिवार्य राख्ने व्यवस्था गर्नुपर्छ । यसो गर्दा कुन गाडी कहाँ छ र गाडीमा को–को यात्रु छन् भन्ने प्रस्ट हुन्छ । दुर्घटनापछि ‘को बेपत्ता भयो’ भनेर खोज्नुपर्ने अवस्था रहँदैन ।

यात्रुले पनि सुरक्षाका लागि अनिवार्य टिकट काटेर मात्र यात्रा गर्ने बानी बसाल्नुपर्छ । बाटोमा जहाँ पायो त्यहीँबाट मान्छे चढाउनु हुँदैन । साना सवारी (माइक्रो) हरूलाई क्षमताभन्दा बढी लामो दुरीको रुट अनुमति दिने काम बन्द हुनुपर्छ । ओभरलोडिङ रोक्न ट्राफिक प्रहरीको चेकजाँचलाई अझ कडा बनाउन जरुरी छ ।

सरकारको प्रवृत्ति दुर्घटना भइसकेपछि मात्रै तात्ने खालको भयो । हवाई जहाजको एउटा टायर पन्चर हुँदा वा चरा ठोक्किँदा राष्ट्रिय छानबिन आयोग बन्छ, तर सडकमा दिनहुँ यति धेरै मान्छे मर्दा सरकार किन गम्भीर छैन ? हामीले दिएका प्रतिवेदनहरू दराजमा थन्क्याउने होइन, लागू गर्नुपर्‍यो । सडक सुरक्षाका लागि पर्याप्त बजेट छुट्याउनुपर्‍यो ।

दुर्घटना न्यूनीकरणका लागि सरकारसँग समन्वय गर्न हामी सधैँ तयार छौँ । तर मुख्य कुरा, हामी व्यवसायी र विज्ञहरूले दिएका सुझावहरूलाई रद्दीको टोकरीमा फाल्नु भएन । निर्वाचनको मुखमा धेरै सुरक्षाकर्मी र मतदाताको आवतजावत हुन्छ । यस्तो बेला क्षमताभन्दा बढी र जीर्ण ग्रामीण सडकमा जबर्जस्ती गाडी लैजान दबाब दिनुहुँदैन । सबै निकायले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने हो भने सडक दुर्घटना पक्कै पनि न्यूनीकरण गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप