बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

तुलसा कलेक्सनकी सञ्चालिकामाथि ठगी र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान, भ्रम नफैलाउन प्रहरीको चेतावनी

सोमबार, ११ फागुन २०८२, १६ : २५
सोमबार, ११ फागुन २०८२

सारांश

  • ललितपुर प्रहरीले तुलसा कलेक्सनकी सञ्चालिका तुल्सी अधिकारीमाथि भइरहेको अनुसन्धानबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाएको छ।
  • प्रहरीले अधिकारीमाथि ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको र यसलाई प्रभावित पार्ने सामग्री सार्वजनिक नगर्न चेतावनी दिएको छ।
  • अधिकारीविरुद्ध कुमार चिमोरियाको जाहेरीका आधारमा ठगी र आपराधिक लाभको मुद्दा दर्ता भएको तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको छ।

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले तुलसा कलेक्सनकी सञ्चालिका तुल्सी अधिकारीमाथि भइरहेको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीले अधिकारीमाथि ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर प्रकृतिका कसुरमा अनुसन्धान भइरहेको स्पष्ट पार्दै अनुसन्धानलाई प्रभावित पार्ने गरी कुनै पनि सामग्री सार्वजनिक नगर्न चेतावनी दिएको हो। 

प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले एक विज्ञप्ति जारी गर्दै कानुन बमोजिम भइरहेको प्रक्रियाका बारेमा भ्रमपूर्ण दाबी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन्। प्रहरीका अनुसार तुल्सी अधिकारीविरुद्ध कुमार चिमोरियाको जाहेरीका आधारमा २०८२ साउन २२ गते ठगी र आपराधिक लाभको मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो। 

यो प्रकरणमा वादी नेपाल सरकार रहेको र प्रतिवादीका रूपमा अधिकारीसहितका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले खुलाएको छ। अनुसन्धानकै क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकबाट प्राप्त सुझाव र प्रमाणका आधारमा उनीमाथि मनि लाउण्डरिङको कसुरमा पनि अनुसन्धान थालिएको छ। नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएकी अधिकारीका नाममा २०८१ फागुन १९ गते नै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको पाइएपछि ललितपुर प्रहरीले यसलाई थप प्राथमिकतामा राखेर सूक्ष्म विश्लेषण गरिरहेको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३ उपदफा १ ले निषेध गरेका क्रियाकलापमा अधिकारीको संलग्नता रहे/नरहेकोबारे प्रहरीले अहिले तथ्यपरक आधार र प्रमाणहरू संकलन गरिरहेको छ। अवैध रूपमा आर्जन गरेको सम्पत्ति रूपान्तरण वा हस्तान्तरण गरेको हुनसक्ने आशंकामा विभागको सुझावअनुसार अनुसन्धानलाई तीव्र पारिएको हो। 

यसरी एकसाथ तीनवटा गम्भीर मुद्दामा अनुसन्धान भइरहेका बेला अभियुक्त वा सम्बन्धित व्यक्तिहरूले सामाजिक सञ्जालमा फोटो, भिडियो र भ्रामक सूचना राखेर प्रहरीको कामलाई बाधा पुर्‍याउन खोजेको भन्दै परिसरले असन्तुष्टि व्यक्त गरेको छ।

प्रहरीले अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत गरिरहेका गतिविधिहरू आफैँमा पुनः अनुसन्धानको विषय बन्न सक्ने तर्फ सचेत गराएको छ। सार्वजनिक जवाफदेहिता वहन गर्ने मानवीय कर्तव्य पालना गर्न र अनुसन्धानलाई गिजोल्ने खालका कुनै पनि कार्य नगर्न प्रहरीले निर्देशन दिएको छ।

यदि कसैलाई आफ्ना कुरा राख्नु छ भने सामाजिक सञ्जालमा कराउनुको साटो कानुनले तोकेका निकायमा उपस्थित भएर आफ्ना भनाइ राख्न समेत प्रहरीले सुझाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप