सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन तयारी

मुस्ताङका मतदानस्थल पुग्न सकसः हिउँले मतदातालाई गाउँ फर्कन समस्या

मङ्गलबार, १२ फागुन २०८२, १९ : ४९
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • मुस्ताङमा निर्वाचनको समय नजिकिँदै गर्दा मतदातामा उत्साह कम, गाउँ सुनसान छन्।
  • हिमपातले सडक अवरुद्ध हुँदा मतदान केन्द्र अनुगमनमा समस्या, हेलिकप्टरबाट मतदाता ओसारपसारबारे छलफल भइरहेको छ।
  • निर्वाचन कार्यालयले निर्वाचनको तयारीलाई तीव्रता दिएको छ, तर मौसमको प्रतिकूलताले केही मतदानस्थल अनुगमन हुन सकेका छैनन्।

बागलुङ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन आउन एक साता मात्रै बाँकी छ ।

मतदान गर्ने दिन नजिकै आए पनि हिमाल पारीको जिल्ला मुस्ताङमा भने त्यत्ति उत्साह छैन । गाउँ बस्ती सुनसान छन् । कार्तिक महिनामै जाडो छल्न सहर झरेका स्थानीय अहिलेसम्म गाउँ उक्लिएका छैनन् । हिउँले ढपक्क ढाकिएको गाउँमा उक्लिउन् पनि कसरी रु जिल्ला निर्वाचन कार्यालयले निर्वाचन गतिविधि गर्न थाले पनि केही गाउँमा मान्छे नै छैनन् । 

हिउँ नपग्लिँदै मतदान हुने मिति आएसँगै चुनाव हुने वा नहुने संशय भने बढेको छ । यद्यपि निर्वाचन गराउनका लागि सरोकारवाला निकाय तीव्र गतिमा लागेका छन् । तीन महिना अगाडि चिसो छल्न काठमाडौँ, पोखरा, चितवन, भैरहवा, बुटवल लगायतका स्थानमा पुगेका स्थानीयहरूलाई चुनावी माहोलले छोएको छैन । उनीहरू गाउँ उक्लिनका लागि हिउँ पग्लिसक्नुपर्छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार हिमपातले सडक अवरुद्ध हुँदा तीन वटा मतदान केन्द्र अनुगमन गर्न सकिएको छैन ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता, लो–घेकर दामोदरकुण्ड गाउँपालिका–५ को ताङ्ग्या र ध्येय गाउँका तीन वटा मतदान केन्द्रमा हिमपातले सडक अवरुद्ध हुँदा पुग्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् । अस्थायीसहित ४० मतदानस्थलमध्ये उपल्लो मुस्ताङको दुई र साङ्ता गाउँको एउटा मतदानस्थल अनुगमन गर्न सकिएको छैन । 

सोमबार साङ्ता गाउँको अनुगमनका लागि शर्मासहित प्रहरी नायव उपरीक्षक छिरिङ कृप्पा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख विष्णुहरी पण्डित, जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीको टोली बाक्लो हिउँले सडक अवरुद्ध हुँदा बीचबाटै फर्किएका थिए ।

mustang-photo

हिउँ पन्छाएर सडक खुलाउने प्रयास

प्रमुख जिल्ला अधिकारी शर्माले साङ्ता गाउँस्थित मतदान केन्द्रमा पुग्नका लागि हिउँ पन्छाएर सडक खुलाउन थालेको बताइन् । हिउँ पन्छाउनका लागि डिभिजन सडक कार्यालय बागलुङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा दुई वटा डोजर प्रयोग गरिएको उनको भनाइ छ । 

उनले भनिन्, ‘हिजो सोमबार अनुगमनका लागि जिल्ला सुरक्षा समितिको टिम नै साङ्ता गाउँ जान थालेका बेला बाक्लो हिउँले सडक बन्द रहेछ, फर्कियौँ । आज दुई वटा मेसिन लगाएर सडक खुलाउने प्रयास गरिरहेका छौँ । सडक खुल्यो भने गाउँमा पुग्न सहज हुनेछ ।’ 

१३ घरधुरी रहेको साङ्ता गाउँमा कुल जनसंख्या ७० रहेकोमा आधारभूत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता रहेको प्रजिअ शर्माले जानकारी दिइन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–५ स्थित ताङ्ग्या गाउँको मतदान केन्द्रमा ९८ जना र ध्येय गाउँमा ८८ जना मतदाता रहेको उनको भनाइ छ । 

हेलिकप्टरमार्फत मतदाता गाउँ लैजान छलफल

चिसोका कारण सहर झरेका मतदाता अझै पनि पोखरा, काठमाडौँलगायत स्थानमा छन् । उनीहरूलाई चिसो नघट्दासम्म गाउँ उक्लिन समस्या हुन्छ । त्यसमाथि सडक नै अवरुद्ध हुँदा गाउँ कसरी पुग्ने भन्ने चिन्ता बढेको छ । हिमपातले सडक अवरुद्ध भएका स्थानका मतदातालाई हेलिकप्टरमार्फत मतदान केन्द्र पुर्‍याउने वातावरण मिलाउन निर्वाचन आयोग र गृहमन्त्रालयसँग छलफल भइरहेको प्रजिअ शर्माले बताइन् ।

मौसममा सुधार आए हिउँ पग्लिने र सडकमार्फत मतदाता सहजरूपमा मतदान गर्न गाउँ पुग्ने उनको भनाइ छ । मौसम प्रतिकूल भए त्यसको विकल्पबारे छलफल भइरहेको शर्मा बताउँछिन् । अहिले बिस्तारै मतदाता मुस्ताङ उक्लिन थालेको उनको भनाइ छ । 

‘मतदाताको मतदान गर्ने अधिकारलाई सुनिश्चित गर्नका लागि हामीहरू लागिरहेका छौँ, सकभर सडकमार्फत पुर्‍याउने प्रयास गरिनेछ, यदि सम्भव भएन भने अरु विकल्पका बारेमा निर्वाचन आयोग र गृह मन्त्रालयसँग छलफल गरिरहेका छौँ’ उनले भनिन्, ‘मौसमले साथ दिए सडक खुल्ने र गाडी चल्नेछन् ।’ 

निर्वाचनको तयारी गर्दै निर्वाचन कार्यालय

जिल्ला निर्वाचन कार्यालय मुस्ताङले निर्वाचनको तयारीलाई तीव्र पारेको छ । मतपत्रसमेत जिल्लामा आइपुगेपछि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिनुका साथै मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए । 

उनले भने, ‘चिसो छल्न बेसी झरेका मतदाता बिस्तारै मुस्ताङ उक्लँदै हुनुहुन्छ, सोमबार मात्रै निर्वाचन आयोगले मतपत्र पठाइसकेको छ, हामीले जिल्लाबाट गर्नुपर्ने कामहरू पनि तीव्र रूपमा गरिरहेका छौँ, मौसमको प्रतिकूलताका कारण केही ठाउँका मतदानस्थल अनुगमन गर्न बाँकी छ ।’

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कुल ११ हजार ३ सय २८ जना मतदाता रहेका छन् । जसमा महिला पाँच हजार ७६८, पुरुष मतदाता पाँच हजार ५५९ र अन्य एक जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप