सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी चर्चा

मतदाताको माग एकातिर, उम्मेदवारको घोषणापत्र अर्कातिर

बुधबार, १३ फागुन २०८२, ११ : ४५
बुधबार, १३ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा बागलुङका उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गर्दै मतदातालाई आकर्षित गरिरहेका छन्।
  • उम्मेदवारहरूले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, र पर्यटन प्रवर्द्धन गर्ने योजनाहरू घोषणापत्रमा समावेश गरेका छन्।
  • विभिन्न उम्मेदवारहरूले सुरुङ मार्ग निर्माण, आइटी हब बनाउने, र स्थानीय उत्पादनको बजारीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बागलुङ । फागुन २१ को निर्वाचन नजिकिएसँगै यहाँका उम्मेदवार घोषणापत्र सार्वजनिक गर्न र मतदाता रिझाउनमा व्यस्त छन् । मतदाताका माग र आवश्यकता सामान्य छन्, तर उम्मेदवारले आश्वासनको पोकासहितको घोषणा पत्र सार्वजनिक गरेका छन् । 

सहरदेखि गाउँसम्मका मतदाताको माग स्वच्छ खानेपानी, रोजगार, नजिकमै गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार खोजी रहेका छन् । तर उम्मेदवारको घोषणापत्र मतदाताको माग भन्दा भिन्न जस्तो देखिन्छ । 

बागलुङ–१ का उम्मेदवारका घोषणापत्र हेर्दा सरकारको वार्षिक नीति तथा कार्यक्रम जस्तो देखिन्छ । संसादले गर्नुपर्ने मुख्य जिम्मेवारी नीति निर्माण गर्नु हो । तर यहाँका उम्मेदवारले सार्वजनिक गरेको घोषणा पत्रमा नीति निर्माण कम पूर्वाधार निर्माण गर्ने योजना घोषणा पत्रमा राखेका छन् । 

सुरुङ र डेडिकेटेड सडक निर्माण गर्ने योजना

नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले आफ्नो घोषणा पत्रमा अक्षते–गलकोट सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने योजना समावेश गरेका छन् । मध्य पहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका–५ र ६ मा पर्ने बिहुँ खण्ड घुमाउरो हुँदा यसको विकल्पका रूपमा सुरुङ मार्ग निर्माण आवश्यक रहेको उनको भनाइ छ ।

हिराबहादुर केसी0

उनले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई जोड्ने निर्माणाधिन चक्रपथलाई कालोपत्र गर्ने, मध्य पहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डलाई यथाशीघ्र सक्न जोड दिने बताए । पालिकाका सबै वडासम्म कालोपत्र सडकले जोड्ने र बलेवालाई आयात निर्यातको केन्द्रका रूपमा विकास गर्ने उनको भनाइ छ ।

केसीको घोषणा पत्रमा बागलुङ बजार, पैयुँपाटा, कुश्मिसेरा, खहरे, अक्षते बिहुँ लगायतका क्षेत्रलाई व्यापारीक केन्द्र बनाउने योजना समावेश छ । बागलुङ–म्याग्दी सडकलाई ‘टु लेन डेडिकेटेड’ सडक बनाउने योजना घोषणा पत्रमा उल्लेख पत्रमा ।

पर्यटन पवर्द्धनका लागि बागलुङ बजारदेखि बलेवा विमानस्थल, भैरवस्थान भकुण्डे, घोडाबाँधे, तंग्राम, भीमपोखरा हुँदै पञ्चकोटसम्मको साइकल यात्राका लागि पूर्वाधार निर्माण गरिने, पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरिने उनले बताए । मालिका लगायतका स्थानमा मिनी चिडियाखाना बनाउने उनको भनाइ छ ।

उनले भने, ‘मध्य पहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको संगममा रहेको बागलुङमा थुप्रै अवसरहरु आएका छन् । यो अवसरलाई समात्न सक्नु पर्छ । अब बलेवा क्षेत्रलाई आयात निर्यातको केन्द्र बनाउने र घोडाबाँधे, खहरे अक्षते लगाएतका ठाउँलाई व्यपारीक केन्द्र बनाउन जरुरी छ, यसलाई मैले प्राथमिकतामा राखेको छु ।’

आईटी हब बनाउने र १२ हजारलाई रोजगार दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशील खड्काले बागलुङलाई आइटी हब बनाउने र पाँच वर्षमा १२ हजार जनलाई रोजगारी दिने बाचा पत्रमा उल्लेख गरेका छन् । बागलुङमा एमबीबीएस पढाईसहितको टिचिङ अस्पताल खोल्ने र गुणस्तरीय विद्यालय शिक्षा गाउँगाउँमै, उच्च शिक्षा बागलुङमै दिने व्यवस्था मिलाउने उनले बताए ।

सुशील खड्का

शिक्षालाई राजनीतिबाट पूर्ण रूपमा मुक्त गरी पाठ्यक्रममा सिपमूलक र प्रविधियुक्त बनाउने उनको बाचा पत्रमा उल्लेख छ । कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजनाहरू समावेश गरिएको छ । उनले कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने बताए । 

एक वडा, एक कृषि प्राविधिक व्यवस्थापन गर्ने, लघु, मझौला तथा साना उद्योग सञ्चालनका लागि विशेष कर छुटको व्यवस्था गर्ने खड्काले बताए । मध्य पहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको निर्वाण सम्पन्न हुन बाँकी खण्ड छिटो सम्पन्न गर्न पहल गर्ने, फोहोर मैला व्यवस्थापनका लागि एकीकृत, वैज्ञानिक र वातावरणमैत्री मोडेल कार्यान्वयनमा ल्याएर रोजगार सिर्जना गर्ने उनको भनाइ छ ।

सरकारी सेवालाई छिटो छरितो र पारदर्शी बनाउन डिजिटल बनाउने, भ्यू टावर, गेट जस्ता अनावश्यक पूर्वाधार निर्माण नगर्ने खड्काको भनाइ छ । उद्यमीलाई प्रोत्साहन गर्ने आर्थिक नीति र राज्यको प्राथमिकता बन्ने भन्दै स्थानीय कृषि उत्पादनका लागि प्रशोधन, चिस्यान, भण्डारणको व्यवस्था गर्ने, कृषकको उत्पादनको वैज्ञानिक र उचित समर्थन मूल्य तोकिदिने बाचा पत्रमा उल्लेख छ ।

‘आउँदो ५ वर्षमा वातावरणमैत्री क्षेत्रहरूलाई राष्ट्रिय प्राथमिकतामा राखी स्थानीय अर्थतन्त्र चलायमान बनाउने र नेपालभर १२ लाख र बागलुङमा युवा र महिला लक्षित १२ हजार रोजगारीहरू सिर्जना गर्ने हाम्रो योजना छ’ उनले भने ।

बाँदर नियन्त्रण र गाँजाको उत्पादन गर्ने नीति बनाउने

नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसले बाँदर आतंक र कृषि हानिकारक वन्यजन्तुको बिगबिगी नियन्त्रण तथा व्यवस्थापन गर्न प्रभावकारी नीति निर्माण गर्ने प्रतिज्ञा पत्रमा उल्लेख गरेका छन् । बाँदर आतङ्कका कारण गाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढेको उनको भनाइ छ । 

श्रीसले गाँजाको औषधीय व्यावसायिक उत्पादन र स्थानीय मदिरालाई व्यावसायिक उत्पादन गरी नागरिकको आयआर्जन वृद्धिका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्ने बताए । प्राकृतिक श्रोत तथा वातावरण संरक्षण सँगै खानी तथा खनिज उत्खननलाई व्यवस्थित गर्ने, अक्षते–गल्कोट सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा वैकल्पिक यातायातका पूर्वाधार विकासका लागि पहल गर्ने श्रीसको प्रतिज्ञा पत्रमा उल्लेख छ ।

उनको प्रतिज्ञा पत्रमा स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, पूर्वाधार र संस्कृति लगायतका योजनाहरु समावेश छन् । धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति गरी नागरिकलाई विशिष्टीकृत सेवाका लागि नीतिगत सुधार गर्ने र प्रदेश सरकारद्वारा स्वीकृत नर्सिङ अध्ययनलाई यथाशीघ्र सञ्चालनका लागि सहजीकरण श्रीसले बताए ।  संघीय शिक्षा ऐनमार्फत विद्यालय शिक्षा व्यवस्थित गर्ने उनको प्रतिज्ञा पत्रमा उल्लेख छ ।

भीम श्रीस

बागलुङको बाङ्गेचौरमा कालिका बहुउद्देश्यीय रङ्शाला निर्माण गर्न पहल गर्ने अन्य खेलका पूर्वाधार निर्माण र प्रशिक्षण सामग्री तथा प्रोत्साहन गर्ने खालका नीति निर्माणमा जोड दिने उनले बताए । बागलुङ बजारको सांस्कृतिक पुनर्जागरण गर्ने, सूचना प्रविधिमा आधारित ज्ञान, सिप र नवप्रवर्तनमा आधारित उत्पादनशील अर्थतन्त्रतर्फ रूपान्तरण श्रीसको प्रतिज्ञा पत्रमा उल्लेख छ ।

विदेशमा हासिल गरेको ज्ञान, अनुभव र पुँजीलाई मुलुकको विकासमा परिचालन गर्न उपयुक्त वातावरण तयार गरी  नीतिगत र व्यवहारिक सुधारका लागि पहल गर्ने, आय आर्जन, रोजगारी सिर्जना र राजश्व विस्तारको आधार फराकिलो बनाउन डिजिटल सेवा, सरल प्रशासन र नागरिकमैत्री सेवा प्रणाली विकास गर्ने उनको भनाइ छ ।

बिना सालैजो, मारुनी, सालैजो, झाम्रे, चट्का, पञ्चेबाजा, भजन र रत्यौलीको संरक्षण तथा प्रवर्द्धन गर्ने, बुट्टे नली सिस्नोको पाउडरलगायतका अर्ग्यानिक उत्पादनको ब्रान्डिङ गर्ने उनले बताए । सहकारी क्षेत्रमा देखिएको समस्या र नियोजित ठगीका कारण पीडित बचतकर्ताहरूको बचत रकम फिर्ता गर्न भूमिका खेल्ने श्रीसको भनाइ छ ।

मध्य पहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्णायक हस्तक्षेप गर्नुका साथै दुवै मार्गमा आधारित रही आर्थिक अवसर सिर्जना गर्न पहल गर्ने उनले सुनाए । उद्यम गर्न चाहने युवाका लागि २५ वर्षे सहुलियत कर्जा उपलब्ध गराउन नीतिगत व्यवस्था श्रीसले बताए । महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको प्रवर्द्धन विकाससँगै नवीन क्षेत्र पहिचान तथा विकास गर्ने भन्दै स्वच्छ ऊर्जा प्रवर्द्धन र गुणस्तरीय विद्युत् सुविधाका साथै सूचना तथा सञ्चार सेवा विस्तार गर्ने श्रीसले सुनाए ।

उनले भने, ‘नागरिकको आधारभूत आवश्यकता के हो ?, माग के छ ?, त्यसका आधारमा हामीले नीति निर्माण गर्नु पर्ने छ । कतिपय मौजुदा कानुन नागरिक मैत्री बन्न सकेका छैनन्, त्यसलाई संशोधन गर्नु पर्ने छ, न्यूनतम सेवा सुविधा नपाएका नागरिकका लागि काम गर्नु पर्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप