कांग्रेस लुम्बिनी प्रदेश सभापतिलाई प्रश्न: तपाईँहरूका उम्मेदवारलाई किन मतदान गर्ने ?
सारांश
- नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्।
- उनले पार्टीको चुनावी अभियान, मतदातासामु लैजाने एजेन्डा, र प्रतिस्पर्धी दलहरूबारे कुराकानी गरेका छन्।
- उनले कांग्रेसले विगतको भन्दा दोब्बर सिट ल्याउने र देशमा बहुमत ल्याउने दाबी गरेका छन्।
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन, बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको चुनावी गतिविधि, मतदातासामु लैजाने एजेन्डा, विगतको गठबन्धनको अनुभव र अहिले एक्लाएक्लै लड्दाको अनुभूति, तथा प्रदेशका मुख्य प्रतिस्पर्धी दलहरूलगायत विषयमा सभापति पुनसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः
लुम्बिनी प्रदेशमा चुनावी अभियान कसरी चलिरहेको छ ?
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा अहिले उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ । प्रचारप्रसार र अन्य चुनावी कार्यहरू पनि तीव्र गतिमा चलिरहेका छन् । पार्टीको केन्द्रीय घोषणापत्रसँगै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले आ–आफ्नो घोषणापत्र लिएर मतदातासम्म पुग्नुभएको छ । कांग्रेसका कार्यकर्ताहरू उत्साहजनक रूपमा मतदाताको घरदैलोमा पुगेका छन् ।
प्रदेशमा पार्टीका उपसभापति राजु खनालको नेतृत्वमा निर्वाचन परिचालन समिति बनेको छ, जसमा कोषाध्यक्ष प्रकाश रानासहित अन्य पदाधिकारीहरू हुनुहुन्छ । जिल्ला तथा क्षेत्रमा पनि विभिन्न समितिहरू सक्रिय छन् । नेता कार्यकर्ताहरू टोल–टोलमा कांग्रेसको घोषणापत्र लिएर पुगेका छन्, जसले गर्दा कांग्रेस निर्वाचनमा साँच्चै लागेको अवस्था छ ।
आफैं उम्मेदवार हुँदा अन्य निर्वाचन क्षेत्रमा पार्टी जिताउन तपाईंको भूमिका के हुन्छ ?
हो, म बाँके क्षेत्र नम्बर ३ को उम्मेदवार हुँ । नेपाली कांग्रेसका अन्य पदाधिकारीहरू पनि उम्मेदवार हुनुहुन्छ । प्रदेश समितिमा रहेका हामी उम्मेदवारहरू खासगरी आ–आफ्नो क्षेत्रमा खटिनुपर्ने अवस्था छ, भने उम्मेदवार नबनेका साथीहरूले अन्य उम्मेदवारहरूलाई सहयोग गर्ने काम भइरहेको छ । हामीले गठन गरेको प्रदेश निर्वाचन परिचालन समितिसँग नियमित सम्पर्कमा छौँ । केही अप्ठ्यारो आएमा समस्या समाधानका लागि आवश्यक निर्देशन तथा सहकार्य गरिएको छ । पार्टीको प्रत्यक्ष तथा समानुपातिक मत वृद्धि गर्नका लागि घोषणापत्र क्षेत्र क्षेत्रमा बनाइएको छ र आवश्यकताअनुसार उम्मेदवारहरूले आफ्नो क्षेत्र विशेष घोषणापत्र बनाएका छन् । म बाँके क्षेत्र नम्बर ३ को उम्मेदवार भए पनि बाँके जिल्लाका ३ वटै निर्वाचन क्षेत्र र बर्दिया जिल्लालाई लक्षित गरेर पार्टी सभापति (गगन थापा) को कार्यक्रम यही १४ गते राखेका छौँ । उक्त कार्यक्रममा गगन थापा आएपछि यहाँका कार्यकर्तामा थप उत्साह आउने र अन्य मतदातालाई पनि आकर्षित गर्न सकिनेछ ।

प्रदेश सभापतिको हैसियतमा म २६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार तथा त्यहाँका निर्वाचन समिति संयोजकहरूसँग नियमित सम्पर्कमा रहने तथा आवश्यक रणनीति निर्माणका लागि छलफल गर्ने कार्य जारी राखेको छु । त्यसकारण, प्रदेश अध्यक्षको हैसियतमा म कुनै पनि निर्वाचन क्षेत्रका उम्मेदवारलाई सहयोग गर्न तथा आवश्यक अन्य मद्दत गर्नबाट पछि परेको छैन ।
नेपाली कांग्रेस ‘बदलिएर’ निर्वाचनमा जाँदा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हो, नेपाली कांग्रेस बदलिएको छ । युवा नेता गगन थापा सभापति आउनुभएको पार्टीले राम्रो घोषणापत्र पनि जारी गरेको छ । कांग्रेस बदलिएर आउँदा कार्यकर्तामा जुन खालको उत्साह छ, त्यो इतिहासमा अहिलेसम्म थिएन । अर्कोतिर, पार्टीको घोषणापत्र पनि उत्तिकै राम्रो आएको छ । कांग्रेस बदलिँदा मुलुकमा नयाँ आशा पलाएको छ । नेपाली कांग्रेसले इतिहासमा गरेका धेरै राम्रा कामहरू छन् । अहिले खासगरी जेनजी पुस्ताका मागहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ, जुन गत भदौ महिनामा भएको आन्दोलनले देखाएको छ । ती मागहरू खासगरी मुलुकमा सुशासन कायम गर्न नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ भन्नेमा केन्द्रित छन् ।
अहिले कांग्रेसप्रति गाउँ–गाउँमा उत्साह रहेको छ । कार्यकर्ताहरू बदलिएको कांग्रेसबाट धेरै आशा र अपेक्षा लिएका छन् । मतदाताहरू पनि अब मुलुक बनाउने नेपाली कांग्रेस नै हो, परिवर्तन भएर आएको छ भन्ने विश्वासमा हुनुहुन्छ । अहिले मुलुकका लागि आशाका किरण सभापति गगन थापा हुन् भन्ने धारणा बढेको छ । नेपाली कांग्रेस संगठनात्मक हिसाबले धेरै सुधार आएको छ । यो निर्वाचन सामान्य ५–६ वर्षमा हुने निर्वाचनजस्तो नभएर विशेष परिस्थितिमा हुँदैछ । विगतका निर्वाचन केही नीतिगत र विकाससँग जोडिएर भएका थिए, तर अहिले साँच्चै यो निर्वाचन व्यवस्थाप्रति नै प्रश्न उठाउने गरी आएको छ । संविधान रक्षा, नेपाली नागरिकको मौलिक अधिकार, सुशासनसहित सुधार गर्ने अवस्था छ । हामीले जसरी प्रशासनिक काम चलाएका छौँ, त्यो तरिकाबाट हुँदैन, त्यसलाई परिमार्जित गर्नुपर्ने अवस्था रहेको नेपाली कांग्रेसले बुझेको छ ।
नेपाली कांग्रेसले नागरिक सेवा केन्द्र सुधार गर्न सक्छ, अरू दलहरूले गर्न सक्दैनन् । इतिहास, वर्तमान र भविष्यमा गर्न सक्ने कांग्रेस नै हो । त्यसकारणले नेपाली कांग्रेस पार्टी संगठनात्मक ढाँचा बदल्ने मात्रै होइन, मुलुक बदल्ने हो । त्यो दिशामा कार्यकर्ता तथा मतदाताहरू बुझेका छन् । कांग्रेस बदलिएसँगै मुलुक बदलिन्छ भन्ने निकै सकारात्मक प्रतिक्रिया हामीले पाएका छौँ ।
अहिलेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान किन गर्ने ?
नेपाली कांग्रेसले मुलुकमा लोकतन्त्रका लागि ठूलो योगदान गरेको छ । कांग्रेसको इतिहास आफ्नै खालको रहेको छ । नागरिकको अधिकार रक्षासँगै मुलुकको विकास गर्न नेपाली कांग्रेसको आवश्यकता छ । अर्कोतिर, भदौ महिनामा जेनजी आन्दोलनका नाममा भएको अरबौँको क्षति थियो । त्यो जेनजी आन्दोलनमा कतै न कतै ‘हामी देश बनाउँछौँ’ भन्ने दलहरूका कार्यकर्ताहरूले घुसपैठ गरेको भन्ने आशंका रहेको छ । जहाँ थुप्रै हाम्रा कागजपत्र, इतिहास जलेका छन् । सर्वोच्च अदालतका कागजपत्र, नागरिकता, जनताको लालपुर्जा जलेका छन् । त्यसकारणले त्यो अराजकता गर्ने, आफ्नो फाइदाका लागि तोडफोड गर्ने दलहरूबाट नागरिक सचेत रहनुपर्छ ।
अहिले मुलुकमा अराजकता फैलाउनेले देश बनाउने भन्नेबीच पनि प्रतिस्पर्धा हो । मुलुक डुबाउनेहरू, देशलाई अस्थिरता दिने, लोकतन्त्र होइन, आफैँ अधिनायकवादी हुने र लोकतान्त्रिक पार्टीबीचको पनि निर्वाचन हो । मुलुकलाई अधिनायकवादबाट बचाउन र लोकतन्त्रको रक्षा गर्न कांग्रेसलाई मतदान गर्नुपर्छ । अहिलेको जटिल परिस्थितिमा अधिनायकवादी बन्नेहरूलाई रोक्न नेपाली कांग्रेसलाई मतदान गर्नुपर्छ । मुलुकलाई समृद्ध बनाउनको लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्छ । कांग्रेस उम्मेदवारलाई भोट दिनु भनेको मुलुक बचाउने शक्तिको पक्षमा उभिनु हो, लोकतन्त्रको रक्षा गर्नु हो । ‘हामी मात्रै ठीक अरू सबै बेठीक’ भन्ने शक्ति सलवलाउन खोजेको छ, त्यो रोक्नुपर्छ ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी कुन दल हो ?
नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा २६ वटै निर्वाचन क्षेत्रमा पहिलो र दोस्रो पोजिसनमा रहेको अवस्था छ । हामीले त्यसकारणले सबै क्षेत्रमा पहिलो हुने प्रयत्न गरेका छौँ । हाम्रो प्रतिस्पर्धी सामाजिक सञ्जालमा रास्वपा देखिएको छ, तर ग्राउन्डमा नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने दल एमाले छ । रास्वपाको बाहिर देखिएभन्दा ग्राउन्डमा उपस्थिति कमजोर रहेको छ, भने एमाले विगतमा पनि प्रतिस्पर्धी नै रहेको थियो र अहिले पनि हाम्रो सामाजिक सञ्जाल नभएर मैदानमा उही एमालेसँग हो ।
विगतमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस गठबन्धन गरेर जम्मा ६ सिट ल्याएको थियो, अहिले कति ल्याउने आकलन गरिएको छ ?
हो, २०७९ सालको निर्वाचनमा तात्कालिक माओवादीसँग गठबन्धन गरेर हामी मैदानमा उत्रिएका थियौँ । त्यो बेला केही क्षेत्रमा हाम्रो उम्मेदवार नभएको अवस्था थियो, गठबन्धन दलका उम्मेदवार थिए । त्यो गर्दा प्रत्यक्षमा हामीले ६ सिट र समानुपातिकमा राम्रो मत ल्याएको अवस्था थियो । नेपाली कांग्रेसको प्रदेशभर संगठन बलियो छ, गतिशील रहेको छ । हामीले अहिले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ । हाम्रो कुनै पनि क्षेत्रमा उम्मेदवार कमजोर भएको अवस्था छैन, त्यो गौरवका साथ भन्न सक्छु ।
सबै ठाउँमा पहिलो या दोस्रो अवस्था अहिलेसम्म देखिन्छ । अर्कोतिर नेपाली कांग्रेस बदलिएको छ । बदलिएको कांग्रेसमा यस्तो उत्साह छ भने मतदाता थप आकर्षित पार्टी बनेको छ । त्यसकारणले हामीले विगतमा ल्याएको सिटभन्दा कम्तीमा दोब्बर ल्याउँछौँ । अहिले यति सिट भनेर तोकिन तर विगतका भन्दा कम्तीमा दोब्बर सिट आउँछ । हामी प्रदेशमा सकभर सबैभन्दा ठूलो पार्टी नै बन्नेछौँ, नभए दोस्रो हुन कसैले रोक्न सक्दैन । नेपाली कांग्रेस अहिले विगतमा भन्दा राम्रो र ठूलो उत्साहमा छ । मतदाताहरू पनि सोहीअनुसार मतदान गर्नका लागि उत्साहित हुनुहुन्छ । देशभर पनि कांग्रेसको अवस्था राम्रो छ । नेपाली कांग्रेसले संविधान बुझेको छ, त्यसकारणले देशमा बहुमत पनि नेपाली कांग्रेसले ल्याउनेछ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशमा पहिलो पार्टी बन्ने जस्तै देशमा पनि पहिलो नै हुन्छ ।
तपाईं बाँके क्षेत्र नम्बर ३ को उम्मेदवार हुनुहुन्छ । यहाँका एजेन्डा के–के छन् ?
मेरो एजेन्डा नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख भएका शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनामा केन्द्रित रहन्छन् । भने यहाँका क्षेत्रमा छुट्टै समस्या छन् । खासगरी सिँचाइको समस्या, जुन सीधै किसानसँग जोडिन्छ । किसानको उचित व्यवस्थापन गर्दा यहाँको उत्पादन धेरै प्रशस्त हुने क्षेत्रमा पर्छ भने किसानको उत्पादन वृद्धिसँगै बजारीकरणका लागि उचित व्यवस्थापन गर्न सकिन्छ ।
सीमावर्ती क्षेत्रको समस्या मेचीदेखि महाकालीसम्म रहेकाले त्यसको नीतिगत समस्या समाधान गर्नुपर्ने हुन्छ । सीमावर्ती क्षेत्रमा जग्गा मूल्यांकन बैंकले नगर्दा त्यसको धितो राख्न नपाएको समस्या पनि यो क्षेत्रमा रहेको छ, अब त्यसलाई समाधान गर्नुपर्ने हुन्छ । यस्तै, मेरो निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति गर्नुपर्छ ।

कतिपय ठाउँमा उपयुक्त पिउने पानी, पुल आदिको समस्या रहेका छन् भने मेरो निर्वाचन क्षेत्रमा वन्यजन्तुको समस्या छ । कतिपय अवस्थामा यहाँका नागरिकहरूले अनाहकमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएको अवस्था पनि छ । किसानको बालीनाली क्षति पुर्याउने त हुँदै नै भयो । अधुरा आयोजनाहरू पूरा गर्नुपर्ने हुन्छ । पर्यटन क्षेत्र पनि उस्तै सम्भावना रहेको छ । बाँकेमा क्यान्सर अस्पतालको थप व्यवस्थित गर्नुपर्नेछ । उक्त अस्पतालसँगै यस क्षेत्रमा रहेको अर्को कपास कम्पनी पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । कपास कम्पनीको केन्द्रीय कार्यालय यहाँ रहेकोले किसानलाई जोड्नुपर्ने हुन्छ ।
कपास खेतीमा किसानलाई जोड्न र प्रोत्साहित गर्नका लागि थप नयाँ योजनाहरू ल्याउनुपर्ने हुन्छ, भने कपास कम्पनीलाई व्यवस्थित गर्नु र बजार विस्तार गर्नुपर्ने हुन्छ । यस्तै, लामो समयदेखि यहाँ बसोबास गरेको अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नुपर्नेछ ।
खासगरी चलिरहेका भौतिक निर्माणका आयोजनाहरू पूरा गर्ने र यहाँका जनतासँग जोडिएर लाभ हुने शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, पर्यटन क्षेत्रका नयाँ योजनाहरू मेरा एजेन्डा हुन् । ती एजेन्डा क्षेत्र नम्बर ३ का लागि मात्रै नभएर केही चाहिँ समग्र बाँके जिल्लाका नागरिकले लाभ लिने खालका रहेका छन् ।
तपाईंले जित्ने आधार के छन् ?
बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसको संगठन बलियो भएको निर्वाचन क्षेत्र हो । यसअघि २०७९ सालमा पनि यहाँ नेपाली कांग्रेसले जितेको क्षेत्र हो । अहिले म मैदानमा जाँदा कांग्रेस कार्यकर्ता तथा मतदाताबाट निकै धेरै माया पाएको छु । त्यसको पछाडि म कांग्रेसको प्रदेश सभापति भएकोले यहाँका कार्यकर्ता तथा अन्य सबैसँग गरेको राम्रो व्यवहार हो । म सधैँ आफूलाई केन्द्रमा राखेर भन्दा देश र नागरिकलाई केन्द्रमा राखेर जहिले पनि खटेको यहाँका कार्यकर्तालाई अवगत छ । यहाँका जनतालाई थाहा छ, त्यसकारणले मलाई मत दिनेछन् ।
मेरो स्थानीय तह, प्रदेश सभापतिले नाताले प्रदेश सरकारमा र म आफैँ भए अब केन्द्रमा यहाँ जितेर जाँदा संघ, प्रदेश सरकार, स्थानीय तहसँगै नागरिकसँग पनि संवाद गर्न सक्नेछु । त्यस अर्थ, नागरिक समाजसहित चार तहमा समन्वय गर्न सक्ने हैसियत भएकोले यहाँका समस्या समाधान गर्न सहज हुनेछ । म समन्वय गर्न सक्छु । अर्कोतिर, बाँके क्षेत्र नम्बर ३ सँग जोडिएर केही विकास योजना जिल्ला तथा अर्को प्रदेशसँग पनि जोडिएका जिल्ला अगाडि बढाउन सक्छु । अहिले नेपाली कांग्रेसलाई मतदान गर्नु भनेको अन्य बेलाभन्दा विशेष छ । त्यसकारणले लोकतन्त्रको रक्षा र अर्को अधिनायकवादी शैलीमा काम गर्ने तत्त्वलाई पराजय गर्न पनि मलाई यहाँका मतदाताले मत दिनेछन् । यहाँका सबै नागरिकले देश बनाउनेलाई मतदान गर्ने क्षमता छन् । त्यसकारणले योग्य उम्मेदवार म भएको ठहर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण