सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपा भर्सेस एमाले : दुई ‘अतिवाद’को विपक्षमा कांग्रेस र नेकपा !

शनिबार, १६ फागुन २०८२, १८ : ००
शनिबार, १६ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा विभाजित छन्।
  • एमाले यसलाई विदेशी षडयन्त्र ठान्छ भने रास्वपाले जनक्रान्ति भन्छ, कांग्रेस र नेकपाले दुवैलाई अतिवादी ठान्छन्।
  • प्रचण्ड र गगन थापाले निर्वाचनमा दुई अतिवादलाई पराजित गर्न आह्वान गरेका छन्, जसले देशलाई हानि पुर्‍याउन सक्छ।

काठमाडौं । फागुन २१ को निर्वाचन मिति नजिकिँदै जाँदा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा प्रमुख राजनीतिक दलहरू तीन कित्तामा विभाजित छन् । एउटा कित्ताको नेतृत्व नेकपा एमालेले गरेको छ भने अर्को कित्ताको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको छ । यी दुवै भन्दा भिन्न कित्ता समातेका छन्, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ।

भदौ २३ र २४ मा भएको अकल्पनीय जनधनको क्षति र परिवर्तनका सवालमा राजनीतिक दल र तिनका नेताहरुबिच कित्ताकट हुनुमा आ-आफ्नै बुझाइ र स्वार्थले समेत काम गरिरहेको छ ।

जेनजी आन्दोलनको समयमा सरकारको नेतृत्व गरेको एमालेले उक्त आन्दोलन र क्षतिलाई विदेशी ‘षडयन्त्र’ र योजनामा भएको देखिरहेको छ । अर्कोतिर रवि लामिछाने नेतृत्वको रास्वपाले कुशासन र भ्रष्टाचारविरुद्ध जनता जागेको र जनक्रान्तिले परिवर्तन भएको अर्थ्याइरहेको छ । जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा दलहरूबिच एकरुपता नभएको यो अवस्थामा रास्वपाले घुमाउरो तरिकाले परिवर्तनको जस भने आफूले लिने घोषणा गरिसकेको छ । तर बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एउटै व्यक्ति भएको भनेर रास्वपाले अपजसको भारी भने अरुमाथि नै बोकाउने प्रयत्न पनि गरिरहेको छ ।

‘यहाँ भ्रम पनि छर्न खोजिएको छ, हामी सम्बद्ध कतिपय मानिसहरुलाई देश जलाउने भनेर आरोप लाग्ने गरेको छ’, रास्वपा सभापति रवि लामिछानेले भनेका छन्, ‘म फेरि पनि स्पष्ट पार्न चाहन्छु– स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी पहिला गोली हानियो, त्यसपछि मात्र संरचना जलेका हुन् ।’

लामिछाने संरचना जल्नु गलत भएको स्वीकार्छन् । ‘तर गोली ठोक्नु हुँदैनथियो, मान्छे मार्न हुँदैनथियो । त्यहींबाट बिग्रिएको हो’, लामिछानेले भने । 

अहिले पनि सिंहदरबार कसले जलायो भन्ने बहस भइरहेको छ । ‘आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्, सिंहदरबार त्यसैले जलायो जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो र बालबालिकालाई गोली ठोक्यो । उसले जलाएको हो सिंहदरबार’, लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर शुक्रबार भने, ‘त्यो सिंहदरबार भ्रष्टाचारको अखडा हुन्नथियो भने बालबालिका स्कुल ड्रेसमा आन्दोलन गर्न सुशासन माग्न जाँदैन थिए ।’ सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह, एउटै मानिसहरु र एउटै जात रहेको लामिछानेको दाबी छ । लामिछानेको यो अभिव्यक्ति विगतमा सरकारको नेतृत्व गरेका कांग्रेस, एमाले र नेकपाप्रति लक्षित छ ।

यता एमालेले भने उक्त आन्दोलनलाई अहिलेसम्म आन्दोलनका रुपमा स्वीकार्न सकेको छैन । उसले देश जलाउने र देश बनाउनेबिचको लडाइँका रुपमा फागुन २१ को निर्वाचनलाई लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन र फागुन २१ गतेको निर्वाचनलाई ‘देश बनाउने कि देश जलाउने’ भन्नेबिचको महासंग्राम रहेको बताउँछन् ।

‘यसपल्टको चुनाव देश जलाउने कि बनाउनेहरूको बिचको हो’, ओलीले विगत ६ महिनायता पटक-पटक भनेका छन्, ‘देश जलाउनेको पक्षमा जनता लाग्नै सक्दैनन् ।’

एमाले, कांग्रेस, नेकपा र रास्वपा जनतामा जाँदा नेताहरुले भने जस्तै मुद्दा र एजेन्डा बोकेर जनतासँग मत मागिरहेका छन् । एक हिसाबले हेर्दा जेनजी आन्दोलनबारेको बुझाइ रास्वपा भर्सेस एमाले जस्तो देखिन्छ ।

एमाले र रास्वपा भन्दा भिन्न दृष्टिकोण राख्दै आएका छन्, दुई पार्टी नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) । एमाले र रास्वपा दुवैले अघि सारेको दृष्टिकोणलाई कांग्रेस र नेकपाले अतिवादी प्रवृत्तिको संज्ञा दिइरहेका छन् । कांग्रेस र नेकपाले भदौ २३ र २४ का दुवै घटनालाई फरक-फरक ढंगले हेर्नुपर्ने र सोही अनुसार विश्लेषण गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

कांग्रेस र नेकपाको बुझाइमा भदौ २३ मा तत्कालीन सरकारको कमजोरीले बानेश्वरमा १९ जना अवोध बालबालिकाको ज्यान गएको र २४ मा सोही घटनाको आडमा अस्थिरता मच्चाएर फाइदा लिने व्यक्ति, समूह र शक्तिहरुले अराजकता मच्चाएर मुलुकमा ठुलो क्षति पुर्‍याएको बताउँदै आएका छन् ।

ती दुवै दिनका घटनालाई दुई अतिवादका रुपमा अर्थ्याउँदै कांग्रेस र नेकपा जनतामाझ पुगिरहेका छन् । एमाले र रास्वपाले जेनजी आन्दोलनबारे गरेको व्यख्यालाई कांग्रेस सभापति गगन थापादेखि नेकपाका संयोजक प्रचण्ड समेतले दुवैलाई ‘अतिवाद’को संज्ञा दिइरहेका छन् । उनीहरुले दुवै अतिवाद हाबी हुन खोजेको भन्दै त्यसले मुलुकलाई फाइदा नहुने तर्कका साथ निकास र विकासका लागि मध्यमार्ग रोज्न जनतालाई अपिल गरिरहेका छन् ।

‘सरकारले २३ जना जेनजी युवाको हत्या गर्‍यो । जेनजीको हत्याको सबैभन्दा पहिला विरोध गरेर सरकारलाई राजीनामा दिन भनेका थियौँ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पटक-पटक भनिरहेका छन्, ‘भोलिपल्ट विपक्षी दलहरूको बैठक बोलाएर सरकारको दमनको विरोध गरेका थियौँ ।’

प्रचण्डका अनुसार सरकारको अहंकार र दम्भी प्रवृत्तिको अहिलेसम्म समीक्षा हुन सकेको छैन र त्यो प्रवृत्ति अहिले पनि कायमै छ ।

‘भदौ २४ गते राज्यको सम्पत्ति, पार्टी कार्यालय र नेताहरूको घर जलाउने काम भयो त्यो पनि अर्को अतिवादी प्रवृत्ति हो’, प्रचण्डले भनेका छन्, ‘यी दुवै नेपाली मनको भावनाको प्रवृत्ति होइन । यी दुवै प्रवृत्तिलाई परास्त गर्न म अपिल गर्दछु ।’

अहिले देखिएका दुवै प्रवृत्तिलाई पराजित गरी फागुन २१ को निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई जनताले विजयी गराउनुपर्ने प्रचण्डको आह्वान छ ।

प्रचण्डको जस्तै कांग्रेस सभापति गगन थापाको अभिव्यक्ति र जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा पनि खासै भिन्नता देखिँदैन ।

शुक्रबार कास्की पुगेका सभापति थापाले त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जेनजी आन्दोलन र निर्वाचनबारे पार्टीको धारणा राख्दै फागुन २१ को निर्वाचन विशिष्ट अवस्थामा हुन गइरहेको प्रष्ट पारे ।

‘दुई वर्ष अगाडि निर्वाचन हुँदैछ । दुई वर्षअघि निर्वाचन किन हुन लाग्यो ?’, थापाले प्रतिप्रश्न गर्दै भने, ‘यो निर्वाचन हुनका लागि दर्जनौं निहत्था युवाहरुको हत्या भएको कुरा बिर्सनु हुँदैन । आमाहरुको काख रित्तिएको छ र सिंहदरबार जलेको छ । योसँगै थुप्रै जनधनको क्षति भएको छ ।’

यो निर्वाचनपछिको परिणामले दुई किसिमको अतिवादलाई पोषण गर्नसक्ने खतरा रहेको सभापति थापाको आशंका छ । ‘निर्वाचनपछिको परिणामले दुई किसिमको अतिवादलाई पोषण गर्नसक्ने खतरा छ । एउटा अतिवाद, जसले भदौ २३ र २४ को घटनाको अवमूल्यन गर्छ । त्यो हुँदै भएको होइन भन्छ । त्यो केवल षड्यन्त्र हो भन्छ । त्यहाँ युवाहरुको सहभागिता देख्दैन । असन्तुष्टि व्यक्त भएको देख्दैन ।’

अर्को अतिवाद मौका छापेर सिंहदरबार जलाउन लगाउने रहेको थापाको भनाइ छ । ‘त्यस्तै अर्को खतरनाक अतिवाद पनि छ । जो त्यो मौका छोपेर सिंहदरबार जलाउन पनि लगाउँछ’, सभापति थापाले भने, ‘मौका पर्दै गर्दा आफैं जेलबाट पनि भाग्छ । यो दुवै अतिवाद हिजो पनि देख्यौं, भोलि पनि आउन सक्छ ।’

उनले पाँच वर्षको यो समयमा देशलाई सम्हाल्नुपर्ने र त्यो कसैलाई ठोकेर नभई नियम कानुनभित्र रहेर गर्नुपर्ने बताए । ‘अब कुनै पनि खालको द्वन्द्व नेपालले खेप्न सक्दैन,‘ थापाले भने । निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको सरकारले परिणाम दिनेगरी काम गर्ने दाबी समेत उनको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप