बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

धादिङ निर्वाचन क्षेत्र नं. १ मा चुनावी विवाद: आशिकाको आरोप पाण्डेद्वारा खण्डन

आइतबार, १७ फागुन २०८२, ०१ : ०४
आइतबार, १७ फागुन २०८२

सारांश

  • धादिङ क्षेत्र नम्बर १ मा निर्वाचन प्रचारप्रसारको क्रममा उम्मेदवारहरूबीच आरोप प्रत्यारोप सुरु भएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले राजेन्द्र प्रसाद पाण्डेका कार्यकर्ताहरूले दुर्व्यवहार र सवारीसाधन तोडफोड गरेको आरोप लगाएकी छिन्।
  • राजेन्द्र प्रसाद पाण्डेले तामाङको आरोपको खण्डन गर्दै आफ्नो टोलीले सहयोग गरेको र कुनै घटना नघटेको बताएका छन्।

काठमाडौँ । आसन्न निर्वाचनको प्रचारप्रसारका क्रममा धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवारहरूबिच आरोप–प्रत्यारोप सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेका कार्यकर्ताहरूले आफूमाथि दुर्व्यवहार र सवारीसाधन तोडफोड गरेको आरोप लगाएकी छिन् भने पाण्डेले उक्त आरोपको खण्डन गरेका छन् ।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेका समर्थकहरूले आफ्नो प्रचार टोलीलाई लक्षित गरी अराजक गतिविधि गरेको दाबी गरेकी छिन् । उनले आफ्नो गाडी घेराउ गर्ने, गाडीभित्र रहेका सदस्यहरूलाई अश्लील गालीगलौज गर्ने, गाडीमा राखिएको पार्टीको झण्डा चोरी गर्ने र लात्तीले हानेर गाडी कुच्च्याउनुका साथै सिसा समेत फुटाइदिएको आरोप लगाएकी छिन् । उनले यस्ता अराजक गतिविधि गर्नेहरूलाई कानुनी कारबाही हुने कि नहुने भन्दै प्रश्न समेत गरेकी छिन् ।

यता, राजेन्द्र पाण्डेले भने तामाङको आरोपमा कुनै सत्यता नभएको बताएका छन् । थाक्रे गाउँपालिकाका विभिन्न वडाहरूमा घरदैलो गर्ने क्रममा दुई पक्षबिच जम्काभेट भएको स्वीकार गर्दै उनले आफ्नो टोलीले उल्टै सहयोग गरेको दाबी गरे ।

पाण्डेका अनुसार, तामाङको सहयोगी गाडी उकालो बाटोमा उक्लिन नसकेर अड्किएको अवस्थामा आफ्ना कार्यकर्ताहरूले बाइक रोकेर गाडी धकेल्न सहयोग गरेका थिए । ‘त्यहाँ कुनै घटना घटेको छैन, बरु उनीहरूकै तर्फबाट हाम्रा साथीहरूलाई छुद्र वचन प्रयोग गरिएको थियो,’ पाण्डेले भने । उनले थपे, ‘हामीसँग ठुलो संख्यामा कार्यकर्ता थिए, यदि झगडा गर्ने नै नियत हुन्थ्यो भने परिस्थिति अर्कै हुन्थ्यो, तर हामी शान्तिपूर्ण निर्वाचनको पक्षमा छौँ ।’

पाण्डेले कुनै पनि कुटपिट वा तोडफोड नभएको जिकिर गर्दै विपक्षीले हारको मानसिकताका कारण यस्ता कुरालाई बढाइचढाइ गरी सामाजिक सञ्जाल र प्रहरी प्रशासनमा उजुरी गरेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप