मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘सहिद परिवारको दुखेसो कसैले बुझेनन्’

आइतबार, १७ फागुन २०८२, १५ : ३९
आइतबार, १७ फागुन २०८२

वीरगञ्ज । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिद धर्मराज सिंह राजपुतको ६० वर्षीय आमा कलावतीदेवी सिंह राजपुतको मन भने अहिले पनि खिन्न छ । दश वर्षअघि आफ्नो २२ वर्षे छोरा गुमाएकी कलावतीदेवीको मुहारमा अझैसम्म पनि उत्साहको सञ्चार हुन सकेको छैन ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरू भोट माग्नका लागि उनको घरदैलोमा हिँडिरहेका दृश्य देख्दा आफ्नो मन छियाछिया हुने गरेको उनी दुःखेसो पोख्छिन् । “मेरो छोराले देशका लागि सहादत प्राप्त गर्‍यो,” उनले भनिन्, “हामी सहिद परिवारको दुःख भने कसैले बुझिदिएनन्,” उनले गहभरि आँसु झार्दै भनिन्, “हाम्रो छोराले मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गर्‍यो तर कसैले पनि हाम्रो परिवारको दुःखलाई हेर्ने काम गरेका छैनन् ।” सहिद परिवारले भोग्नुपरेको पीडाबारे कसैले वास्ता नगरेको उनको गुनासो छ ।

“राजनीतिक दलका नेताले सहिदहरूलाई केबल राजनीति गर्ने सिँढी मात्रै बनाउने काम गरे,” उनले भनिन्, “सहिद परिवारले भोग्नुपरेको पीडा र दुःखलाई कसैले पनि बुझ्ने प्रयास गरेनन्,” उनले भनिन्, “सहिद धर्मराजसिंह राजपुतका दाजु करण सिंह राजपुतले दुई वर्षअघि साना तथा घरेलु उद्योग कार्यालय वीरगञ्जमा करारको जागिर पाएका थिए । तर, उनको करारको अवधि थप नभई दैनिक ज्यालादारीमा झारेपछि र नियमित तलब पनि नपाएकाले जागिर नै छोड्नुपरेको गुनासो गरे । “हाम्रो परिवारको आम्दानीको स्रोत पनि राम्रो छैन । भएको करारको जागिरको पनि म्याद थप नभएपछि छाडेको हुँ, हामी सहिद परिवार त राजनीति गर्नेका लागि टेको मात्रै हुने रहेछौँ,” करणले भने ।

सहिद राजपुतको २०७२ भदौ १५ गते सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो । सहिद हुनु केही दिन अघिसम्म उनी धर्मराज सशस्त्र प्रहरी बल नेपालमा कार्यरत थिए ।

मधेश आन्दोलन चर्किएसँगै भाइले सशस्त्र प्रहरी बलबाट राजीनामा दिएर आन्दोलनमा होमिएको दाजु करणले स्मरण गरे । “करारको जागिर जोगाउन मैले धेरै हन्डर खाएँ तर कतैबाट पनि सहयोग नपाएपछि अन्ततः छोड्ने निर्णय गरेँ,” उनले भने ।

मधेस आन्दोलनका सहिद धर्मराज सिंह राजपुतको परिवार मात्रै होइन, अर्का सहिद दिलीप चौरसियाका ६० वर्षीय आमा रामज्योति चौरसियाका आँखा पनि आफ्नो छोरा दिलीपको यादले अझै पनि रसाउँछन् ।

वीरगञ्ज महानगर–२२ स्थित आफ्नो आँगनमा टोलाएर बसिरहेकी आमा रामज्योतिलाई आफ्नो छोराले ज्यान गुमाएको हिजोजस्तै लाग्छ । तर, मधेस आन्दोलनका क्रममा दिलीप चौरसियाको २०७२ भदौ १४ गते निधन भएको थियो । “कान्छो छोरा आइहाल्छ जस्तै लाग्छ,” भावुक हुँदै आमा रामज्योतिले भनिन्, “छोराको निधनपछि मधेसमा केही परिवर्तन होला भन्ने आशा राखेका थियौँ तर केही पनि हुन सकेन ।” सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका दिलीप पढाइको अन्तिम सङ्घारमा पुगेको बेला सुरक्षाकर्मीको गोली लागेर सहादत प्राप्त गरेका थिए ।

सहिद दिलीपका जेठा दाजु पृथ्वीनारायण चौरसियाले मधेस र मधेसका जनताको अधिकार प्राप्तिका लागि आफ्ना भाइहरूले ज्यान गुमाए पनि मधेसका राजनीतिक दल तथा नेताले सत्तामा अघि बढ्ने भर्‍याङ मात्रै बनाएको आरोप लगाए । “राजनीतिक नेताले हामीजस्ता सहिद परिवारलाई बिर्से,” उनले भने, “जुन उद्देश्य र जुन अधिकार प्राप्त गर्नका लागि हाम्रा भाइहरूले ज्यान गुमाए, सो उपलब्धि संस्थागत नहुँदा मन दुख्छ ।”

मधेश आन्दोलनका सहिद परिवार मात्रै नभएर मधेश आन्दोलनका जिउँदा सहिद मुन्सी पटेल पनि अहिले दिक्दारी व्यक्त गर्छन् । जिउँदा सहिद पटेल गत माघ ८ गतेदेखि नारायणी अस्पतालको सर्जिकल वार्डको शय्या नं. ११० मा पुरानो घाउ बल्झिएर उपचाररत छन् । नेपालको संविधान जारी भएको दिन अर्थात् २०७२ असोज ३ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर उनको कम्मरमुनिको भाग चल्दैन । गोलीकै कारण बेलाबखत उनको पुठ्ठामा लागेको चोट बल्झिएसँगै अस्पतालमा भर्ना भएर उपचारको क्रममा छन् । “मधेश आन्दोलनका क्रममा पाएको चोटले अझैसम्म पनि दुख दिन छाडेको छैन,” उनले भने, “हामीले संविधानमा भएका केही प्रावधानको विरोध गर्दै आन्दोलनमा होमिएका थियौँ तर अहिले आफ्नो अवस्था भने विजोग भएको छ ।”

“मधेश आन्दोलनका क्रममा धेरै आमाको कोख रित्तियो । धेरै श्रीमतीको सिन्दूर पुछियो तर यहाँका राजनीतिक दलले सहिद तथा घाइते परिवारलाई बिर्सिएको देख्दा निकै दुःख लाग्छ,” उनले भने ।

पर्सामा प्रतिनिधिसभा सदस्य निर्वाचनका चार क्षेत्र छन् । चार क्षेत्रबाट स्वतन्त्रसहित १०७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउँदै आएको बताए । पर्सामा १६७ वटा मतदानस्थल छन् । तीमध्ये ६२ मतदानस्थल अतिसंवेदनशील, ८५ संवेदनशील र २० कम संवेदनशील सूचीमा राखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप