चार महिनापछि खुल्यो साङ्ता गाउँ पुग्ने सडक, निर्वाचन सहज बन्ने अपेक्षा
सारांश
- मुस्ताङको साङ्ता गाउँ जोड्ने सडक चार महिनापछि खुलेको छ, जसले गर्दा निर्वाचन सहज हुने भयो।
- सडक डिभिजन र गाउँपालिकाको सहकार्यमा फागुन ११ गतेदेखि सडक खुलाइएको हो, जहाँ ८ फिटसम्म हिउँ जमेको थियो।
- निर्वाचनका लागि कर्मचारी खटाइने र अब गाडीमार्फत नै सामग्री पुर्याउन सकिने भएको छ।
बागलुङ । मुस्ताङको साङ्ता गाउँ पुग्ने सडक चार महिनापछि सञ्चालनमा आएको छ । गत कात्तिक ११ गतेको भारी हिमपातले अवरुद्ध बनेको यो सडक खुलाउन ६ दिनसम्म दुई वटा मेसिन प्रयोग गरिएको थियो । कार्तिकपछि पनि यस क्षेत्रमा पटकपटक हिमपात भएको थियो ।
चिसो छल्न कार्तिकको पहिलो साता नै साङ्ता गाउँका स्थानीय सहर झरेकाले लामो समयसम्म सडक खुलाइएको थिएन । तर, निर्वाचनको मिति नजिकिएसँगै सडक डिभिजन कार्यालय बागलुङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा फागुन ११ गतेदेखि मेसिन लगाएर सडक खुलाइएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का अध्यक्ष सुरेन्द्र गुरुङका अनुसार करिब ९ किलोमिटर सडकमा आठ फिटसम्म हिउँ जमेकाले खुलाउन धेरै समय लागेको हो । साङ्ता गाउँ हुँदै डोल्पा जोड्ने सिमाना नजिकको सुकसाम्बासम्मको सडक खुलाइएको उनले जानकारी दिए ।

अध्यक्ष गुरुङले भने, ‘सडकमा निकै बाक्लो हिउँ थियो, छ दिनमा बल्लतल्ल खुलायौँ । म साङ्ता गाउँ पुगेरै आएको छु, अब यो गाउँसम्म सहजै गाडी आउन सक्छ । त्यसभन्दा माथि डोल्पा जाने सडकको पनि केही खण्डमा हिउँ हटाइसकेका छौँ । अब हिमपात नभए चुनाव राम्रोसँग सम्पन्न गर्न सकिनेछ ।’
जाडो छल्न पोखरा, काठमाडौँलगायतका स्थानमा गएका स्थानीय मंगलबारदेखि गाउँ फर्किने अध्यक्ष गुरुङले बताए । चिसो कम हुँदै गएकाले हालसम्म सहर बजारमा रहेका उनीहरू फर्कने क्रम सुरु हुनेछ ।
सडक अवरुद्ध हुँदा निर्वाचन अनुगमन समितिले साङ्ता गाउँको मतदान केन्द्र अनुगमन गर्न सकेको थिएन । अब भने सोमबार सुरक्षाकर्मीसहितको टोली पुगेर मतदान केन्द्रको अनुगमन गर्नेछ ।

१३ घरधुरी रहेको साङ्ता गाउँमा कुल जनसंख्या ७० मध्ये ३९ जना मतदाता छन् । सदरमुकाम जोमसोमबाट गाडीमा दुई घण्टाको यात्रापछि साङ्ता गाउँ पुग्न सकिन्छ ।
सोमबारबाटै मतदान केन्द्रमा खटिँदै कर्मचारी
जिल्ला निर्वाचन कार्यालय मुस्ताङले निर्वाचनका लागि कर्मचारी खटनपटन गरिसकेको छ । निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र ज्ञवालीका अनुसार सोमबारदेखि नै कर्मचारीलाई मतदान केन्द्रमा खटाइनेछ । उपल्लो मुस्ताङका लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका २५ वटा मतदान केन्द्रमा सोमबार बिहानैदेखि कर्मचारी खटाइने तयारी भएको छ । माथिल्लो मुस्ताङमा खटिने मतदान अधिकृतलाई आइतबार नै आवश्यक सामग्री हस्तान्तरण गरिएको प्रमुख ज्ञवालीले बताए ।
प्रमुख ज्ञवालीले भने, ‘सोमबारदेखि नै टाढाका केन्द्रका कर्मचारीलाई मतदान स्थलतर्फ पठाउँदै छौँ । नजिकका केन्द्रमा मंगलबारबाट खटाइनेछ । माथिल्लो मुस्ताङमा खटिने मतदान अधिकृतलाई आइतबार नै आवश्यक सामग्री हस्तान्तरण गरिसकेका छौँ । उहाँहरू सोमबार बिहानै जोमसोमबाट प्रस्थान गर्नुहुनेछ ।’

तल्लो मुस्ताङको घरपाझोङ र थासाङ गाउँपालिकामा भने मंगलबारदेखि कर्मचारी खटाइने प्रमुख ज्ञवालीले बताए । यी दुई पालिकामा १५ वटा मतदान केन्द्र छन् । तल्लो क्षेत्रमा खटिने मतदान अधिकृतलाई सोमबार निर्वाचन सामग्री हस्तान्तरण गरिनेछ ।
सडक अवरुद्ध हुँदा निर्वाचन कार्यालयले साङ्ता गाउँमा हेलिकप्टरमार्फत मतदाता र मतपत्र पठाउनका लागि गृहमन्त्रालय र निर्वाचन आयोगसँग छलफल गरेको थियो । तर, सडक खुलेपछि अब गाडीमार्फत नै पुग्न सकिने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताइन् । अब हिमपात नभए निर्वाचन सहज रुपमा सम्पन्न गर्न सकिने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्, ‘साङ्ता गाउँसहित माथिल्लो मुस्ताङका दुई वटा स्थानमा हिमपातले सडक अवरुद्ध हुँदा हेलिकप्टरमार्फत मतपत्र पठाउने र मतदाताको व्यवस्थापन गर्नका लागि निर्वाचन आयोग र गृहमन्त्रालयसँग छलफल गरेका थियौँ । अहिले मौसम पनि राम्रो छ, साँझ ५ बजेबाट सडक पनि खुलेको हुँदा हेलिकप्टरको आवश्यकता नपर्ला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण