मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखामा कांग्रेस र प्रलोपाद्वारा संयुक्त चुनावी प्रचार

सोमबार, १८ फागुन २०८२, ११ : ०४
सोमबार, १८ फागुन २०८२

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखामा कांग्रेससँग मिलेर घरदैलो अभियान सुरु गरेको छ।
  • कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैमा रुख चिन्हमा मत मागेको छ भने प्रलोपाले प्रत्यक्षमा रुख र समानुपातिकमा आँखा चिन्हमा मत मागिरहेको छ।
  • प्रलोपा र कांग्रेसबीच स्थानीय तह र प्रदेश चुनावसम्म सहकार्य गर्ने सहमति भएको छ।

पोखरा । प्रत्यक्षमा उम्मेदवार नभएपछि कांग्रेसलाई सघाउने निर्णय गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) कांग्रेससँगै मिलेर घरदैलो सुरु गरेको छ । 

गोरखाका दुवै क्षेत्रमा कांग्रेस र प्रलोपा सँगसँगै प्रचारमा निस्किएका हुन् । कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रुख चिन्हमा मत मागेको छ भने प्रलोपाले प्रत्यक्षमा रुख र समानुपातिकमा आँखा चिन्हमा मत मागिरहेको छ ।

प्रलोपाका समानुपातिक उम्मेदवार लाल बहादुर विक, केन्द्रीय सदस्य यान प्रसाद भट्ट सरोज, अमृत आचार्य, जिल्ला अध्यक्ष नारायण खत्री सहितको टोली काँग्रेससँगै मत माग्न निस्किएका हुन् । 

उनीहरूसँगै छन् कांग्रेसबाट क्षेत्र नम्बर २ का उम्मेदवार प्रकाशचन्द्र दवाडी पनि । डा. बाबुराम भट्टराई र गोपालबाबु श्रेष्ठले उम्मेद्वारी दिएर पनि अन्तिममा फिर्ता लिएका थिए । भट्टराई गोरखा २ र श्रेष्ठ गोरखा १ का उम्मेदवार थिए ।

प्रलोपा अध्यक्ष खत्रीले आफ्ना मतदातासँग भने, ‘हिजोको आँखा नै हो भन्ने सम्झेर रुख चिन्हमा मत हालिदिन आग्रह गर्दछु । समानुपातिकमा काँग्रेसका साथीहरूले रुखमै छाप लगाउनुस्, प्रलोपाका साथीहरूले आँखामा छाप लगाउनुस् ।’ खत्रीका अनुसार काँग्रेससँग स्थानीय तहको चुनाव र प्रदेशको चुनावसम्म सहकार्य हुने समझदारी भएको छ ।

‘निर्वाचन पश्चात् नेपाली काँग्रेससँग स्थानीय तहको चुनाव र प्रदेशसम्म सहकार्य गर्ने सहमति भएको छ । त्यसलाई कार्यान्वयन गर्नेछौँ,’ उनले भने, ‘हाम्रो विचारलाई स्थापित गर्न त्यही ढंगले लाग्नुहुनेछ भन्ने विश्वास छ ।’ यसअघि २०७९ को चुनाव र २०७४ को चुनावमा पनि तत्कालीन नयाँ शक्तिले काँग्रेससँगै गठबन्धन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप