जेनजी विद्रोह हाइज्याक भयो, अबको वास्तविक विद्रोहमा हामी सडकमा हुन्छौँ : डा. प्रकाश चन्द
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा हुन्, डा. प्रकाश चन्द। तर, उनी आफ्नो परिचय बाबुको नामबाट मात्रै होइन, आफ्नै कर्म र वैचारिक स्पष्टताबाट बनाउन चाहन्छन्।
पेसाले उनी मेडिकल डाक्टर हुन् भने हाल नेपालकै जडीबुटीको अनुसन्धान र उत्पादनमा आधारित आफ्नै कम्पनी सञ्चालन गरिरहेका छन्। रातोपाटीका लागि नरेन्द्र रौलेसँग कुराकानी गर्दै डा. चन्दले नेपालको समसामयिक राजनीति, जेनजीले गरेको युवा विद्रोह, भरतपुरको कथित विकास मोडल र वर्तमान नेताहरूको कार्यशैलीमाथि खरो टिप्पणी गरेका छन्। उनले सडक कालोपत्रे गर्नुलाई विकास नभई ‘ब्युटिफिकेसन’ र ठेकेदार पोस्ने मेकानिजम मात्र भएको दाबी गरेका छन्।
प्रस्तुत छ, डा. प्रकाश चन्दसँग गरिएको कुराकानीको सम्पादित अंश:
डा. प्रकाश चन्द भनेर हामी चिन्छौँ, तर आम मानिसले तपाईंलाई ‘विप्लवको छोरा’ भनेर नै चिन्छन्। यो पहिचान मेटाएर आफ्नै नामले चिनिन कत्तिको संघर्ष गर्नुपरेको छ ?
त्यस्तो संघर्ष नै त भन्नु पर्दैन। विप्लवको छोरा भन्दा मलाई कुनै हिचकिचाहट छैन, म उहाँकै छोरा हुँ। डा. प्रकाश चन्द भन्न पनि म हिचकिचाउँदिनँ। मैले पढेँ, पेसाले म डाक्टर हुँ।
अहिले आफ्नो पेसा (डाक्टरी) कतै गरिरहनुभएको छ कि ?
क्लिनिकल काम मैले अहिले बन्द गरेको छु। मेरो आफ्नै एउटा सानो अनुसन्धान (रिसर्च) कम्पनी छ। विशेषगरी नेपालको जडीबुटी, जुन अहिले कौडीको भाउमा ट्रकका ट्रक बाहिर गइरहेको छ, त्यसमा काम गरिरहेको छु। जस्तै, रिठ्ठालाई नेपालमै स्याम्पु, फेसवास वा क्लिन्जिङ प्रडक्ट बनाएर त्यसको ब्रान्ड भ्यालु बढाई विदेश पठाउन सकिन्छ कि भनेर अध्ययन गरिरहेको छु। म अहिले त्यसमै बढी व्यस्त छु।
जेन–जी विद्रोहपछि नेपालमा फागुन २१ गते चुनाव हुँदैछ। यो ८४ मा हुनुपर्ने चुनाव अगाडि नै आयो, यसलाई कसरी लिनुभएको छ ?
यो चुनाव एउटा ठुलो छलप्रपञ्चको पराकाष्ठा हो। ऐतिहासिक जेनजी आन्दोलन चुनाव गराउनका लागि भएको नै थिएन। यो आन्दोलन किन भयो भनेर गहिराइमा हेर्नुभयो भने, बारम्बार प्रधानमन्त्री भइसकेका नेता र उनीहरूका परिवारको भड्किलो जीवनशैली यसको मुख्य कारण हो।
खाडी, जापान, कोरिया वा अमेरिकामा रातदिन रगतपसिना बगाएर ऋण तिर्न संघर्ष गरिरहेको युवा पुस्ताले मुस्किलले एउटा आइफोन बोक्छ। तर, यहाँ सामान्य हैसियत नभएका नेताका छोराछोरीहरूले १०–१५ लाखको लुगा लगाउने, महँगा गाडी चढ्ने र आम नेपालीको कल्पनाभन्दा बाहिरको जीवनशैली देखाउने काम गरे। त्यसैको विरोधमा, त्यो भ्रष्टाचारको विरुद्धमा आन्दोलन उठेको थियो।
त्यसो भए त्यो विद्रोहले निकास दिएन, बरु त्यसको जगमा अर्को विद्रोह जन्मिँदै छ भन्न खोज्नुभएको हो ?
हो, एक्ज्याक्ट्ली। त्यो आन्दोलन भ्रष्ट परिवारहरूलाई कारबाही गर्न र पुराना प्रधानमन्त्रीहरू आउनै नपाउने गरी प्रत्यक्ष कार्यकारीको चुनाव गराउन उठेको थियो। तर, कलिला र काँचा युवाहरूको आन्दोलनलाई बिचैबाट हाइज्याक गरियो। भ्रष्ट नेताहरूलाई कारबाही गर्नुको साटो, ८४ को चुनावलाई ८२ मा सार्ने प्रपञ्च रचियो। यो अर्को डरलाग्दो विद्रोहको गर्भधारण हो।
तपाईंले संकेत गर्नुभएको अबको डरलाग्दो विद्रोहको अग्रभागमा को–को हुनेछन् ?
त्यसमा हामी हुनुपर्छ र हामी हुन्छौँ। हिजोको जेन–जी आन्दोलनमा पनि हामी थियौँ। तर त्यो आन्दोलन जसरी तुहाइयो, त्यसले युवाहरूमा झन् ठुलो फ्रस्ट्रेसन जन्माएको छ। भ्रष्ट नेताहरूको अतिलाई नसिध्याएसम्म राष्ट्र रूपान्तरण हुँदैन। भोलिको आन्दोलनमा हामी सचेत युवाहरू नै अग्रपङ्क्तिमा हुनेछौँ।
आजको दिनमा तपाईं कुनै राजनीतिक पार्टीसँग प्रत्यक्ष आबद्ध हुनुहुन्छ ?
छैन, म अहिले राजनीतिक रूपमा सक्रिय रूपले कतै पनि आबद्ध छैन। म अहिलेको यो सिस्टम र परिपाटीबाट नेपालको भ्रष्टाचार र बेथिति हल हुन्छ भन्ने कुरामा विश्वास नै राख्दिनँ।
त्यसो भए यो देशमा कस्तो व्यवस्था हुनुपर्छ र देश कसले चलाउनुपर्छ ?
सडकमा भुइँमान्छेले जे भनिरहेका छन्, त्यही हुनुपर्छ। भ्रष्टाचार रोक्ने हो भने, संसद्ले प्रधानमन्त्री छान्ने होइन, प्रधानमन्त्री वा देशको कार्यकारी प्रमुख जनताले सिधै भोट हालेर छान्ने व्यवस्था आउनुपर्छ। जबसम्म जनताले कार्यकारी प्रमुख छान्ने व्यवस्था आउँदैन, तबसम्म सांसदहरू किनबेच भइरहने, गठबन्धन फेरिरहने र सरकार ढलिरहने यो फोहोरी खेल चलिरहन्छ।
नेकपा (माओवादी) ले यसपटक चुनावमा भाग लिएको छ र गुलाबको फूल चुनाव चिह्न लिएर होमिएको छ। विप्लव नेतृत्वको पार्टी चुनावमा जानु भनेको रणनीति मात्र हो कि यो व्यवस्थामा समाहित हुन खोजेको हो ?
यो रणनीति मात्र हुनुपर्छ। किनकि, यो व्यवस्थाबाट समाधान सम्भव छैन भन्ने कुरा प्रमाणित भइसकेको छ। यदि विप्लवले यही व्यवस्थाबाट सम्भव छ भनेर भाष्य निर्माण गर्न खोज्नुभएको हो भने त्यो गलत हुन सक्छ। जनताको जीवन परिवर्तन हुँदैन भने त्यस्तो रणनीतिको कुनै अर्थ हुँदैन।
तपाईं चितवनमा बस्नुहुन्छ। पूर्व मेयर रेनु दाहालले चितवनमा धेरै विकास गरेको भनिन्छ। चितवन–३ मा तपाईंको नजरमा विकासको अवस्था कस्तो छ ?
विकासको कारणले रेनु दाहाललाई जोड्ने कुरालाई म सही मान्दिनँ। विकासको भिजन भनेको के हो ? पहिला त्यसलाई प्रस्ट पार्नुपर्छ। भरतपुरमा १०६५ किलोमिटर बाटो कालोपत्रे गरियो भनिएको छ। बाटो कालोपत्रे गर्नु विकासको एउटा सानो हिस्सा हुन सक्छ, तर त्यो नै पूर्ण विकास होइन।
नेपालमा सबैभन्दा बढी विकास प्रेमी भनेकै ठेकेदारहरू हुन्। बाटो पिच गर्ने नाममा गिट्टी, बालुवा र अलकत्रा कहाँबाट आउँछ ? कुन क्रसर उद्योगबाट आउँछ र त्यसमा कसको लगानी छ ? त्यो हेर्नुभयो भने प्रस्ट हुन्छ। एउटा बाटो बनाउँदा करोडौँको कमिसनको खेल हुन्छ। त्यहाँ विकासको नाममा ठेकेदार र विचौलिया पोस्ने काम मात्र भएको छ।
साँचो विकास भनेको त उद्योग खोल्ने, रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने हो। भरतपुरमा तरकारी अत्यधिक उत्पादन हुन्छ, तर किसानका लागि खोइ कोल्डस्टोर ? अन्डा व्यवसायीहरूको अवस्था के छ ? यी आधारभूत कुरा नगरी सडक पिच गरेर ब्युटिफिकेसन गर्नुलाई मात्र विकास मान्न सकिँदैन।
तपाईंलाई नेपालमा मनपर्ने आदर्श नेता कोही हुनुहुन्छ ?
नेपालमा अहिले नेता नै छैनन्। सबै जोकर, चटके, ठग र लुटेरा हुन्। नेता भनेको त पृथ्वीनारायण शाह जस्तो हुनुपर्छ। जसले सय वर्ष, हजार वर्षपछिको सोचेर आज नीति बनाउन सकोस्। आफ्नो एक गास काटेर भए पनि राज्यको बारेमा सोच्न सकोस्।
पृथ्वीनारायण शाहलाई सम्मान गरिरहँदा, अहिलेका पूर्व राजाहरूलाई चाहिँ कसरी हेर्नुहुन्छ नि ?
पृथ्वीनारायण शाह र अहिलेका राजालाई एउटै डालोमा राख्नु हुँदैन। पृथ्वीनारायण शाहको भिजन र अहिलेका राजाहरूको चुरोट कारखाना र चिया बगान खोल्ने व्यापारिक मानसिकतामा आकाश–जमिनको फरक छ। म अहिलेका राजा र नेताहरूमा कुनै फरक देख्दिनँ।
अन्त्यमा, भविष्यमा तपाईं डाक्टरी पेसामै रहनुहुन्छ कि पूर्णकालीन राजनीतिमा लाग्नुहुन्छ ?
भविष्यको कुरा अहिले नै भन्न सकिँदैन। कोही पनि रहरले सडकमा आन्दोलन गर्न जाँदैन। तर, नेपालको यही अधोगति रहिरहने हो र नयाँ परिपाटीले निकास नदिने हो भने मेरो पुस्ताले डाक्टरी वा आफ्नो पेसा छोडेर देश बचाउन सडकमा आउनुपर्ने दिन आउन सक्छ। त्यो अवस्था नआओस् भन्ने मेरो चाहना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण