सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
महासंघमा महासङ्ग्राम

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दुई पक्षीय भिडन्त, को–को छन् मैदानमा ?

मङ्गलबार, १९ फागुन २०८२, ०७ : ००
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा, व्यवसायीहरू प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
  • वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल र रामचन्द्र संघाईबीच प्रतिस्पर्धा हुने देखिएको छ, दुवै आ-आफ्नो रणनीति बनाउँदै छन्।
  • महासंघको विधान संशोधनपछि अब अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुनेछ, तर यो व्यवस्था अर्को कार्यकालबाट लागू हुनेछ।

काठमाडौँ । मुलुकमा आम निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आफ्नै चुनावी माहोलले तातेको छ ।

महासंघको आगामी चैत २८ र २९ गते हुने ६०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएसँगै उद्योगी–व्यवसायीहरू प्यानल बनाएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने निश्चित छ । तसर्थ महासंघको भावी नेतृत्वको लाइन मानिने वरिष्ठ उपाध्यक्ष पदका लागि अहिले दुई पक्षीय रस्साकस्सी सुरु भएको छ ।

महासंघको सेकेन्ड–इन–कमान्ड मानिने यो पदका लागि हेमराज ढकाल र रामचन्द्र संघाई आ–आफ्नो रणनीतिसहित अघि बढेका छन् । स्रोतका अनुसार संघाईको प्यानलमा सुरकृष्ण वैद्य र संघाईमध्ये को अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । संघाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बने वैद्य पछि हट्ने अवस्था छ ।

हेमराज ढकालको प्यानल घोषणा, पूर्वअध्यक्षहरूको साथ

महासंघका वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालले गत सोमबार प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

करिब दुई वर्ष अघिदेखि नै तयारी थालेका ढकालले पूर्वअध्यक्षहरूको बलियो साथ पाएका छन् । उनको उम्मेदवारी घोषणा सभामा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पूर्वअध्यक्षहरू पशुपति मुरारका, प्रदीपकुमार श्रेष्ठ, चण्डीराज ढकाल र रविभक्त श्रेष्ठको उपस्थिति थियो ।

महासंघको राजनीतिमा प्रभाव राख्ने पूर्वअध्यक्ष चण्डीराज ढकाल हेमराजका सहोदर दाजु हुन् ।

ढकालको प्यानलमा हाल एसोसिएट उपाध्यक्ष रहेकी ज्योत्सना श्रेष्ठ पुनःएसोसिएट उपाध्यक्षमा उम्मेदवार बनेकी छन् । त्यस्तै, अघिल्लो चुनावमा सर्वाधिक मत ल्याएका महासंघका सदस्य नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष कल्पना गैरे र उमेश डाल्मिया छन् । प्रस्तावित महिला उपाध्यक्षमा कमला श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरिएको छ ।

रामचन्द्र संघाई पनि प्यानल घोषणा गर्ने तयारीमा

तीन वर्षअघि वरिष्ठ उपाध्यक्षमा अञ्जान श्रेष्ठसँग पराजित भएका रामचन्द्र संघाई यसपटक पुनः सोही पदका लागि प्यानल घोषणाको तयारीमा छन् । संघाई समूहले पनि आफ्नो टिम लगभग पक्का गरिसकेको छ ।

संघाईको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई वा सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्षमा सिटिजन्स बैंकका अध्यक्ष तथा लोमस ग्रुपका निर्देशक प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा पेट्रोलियम तथा जलविद्युत् व्यवसायी शिवप्रसाद घिमिरे र जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठले उम्मेदवारी दिने तयारी गरेका छन् ।

संघाईलाई पूर्वअध्यक्ष भवानी राणा निकट मानिने प्रबलजंग पाण्डेको साथले फाइदा पुग्ने देखिन्छ । पाण्डे आफ्ना बुबा प्रदीपजंग पाण्डेको विरासत र आफ्नै परिपक्वताका कारण एसोसिएटमा बलियो मानिन्छन् ।

महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले पनि वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी रहेको बताएका छन् । वैद्यले भने, ‘दुई पटक केन्द्रीय सदस्य र एक पटक उपाध्यक्ष भइसकेँ । अब वरिष्ठ उपाध्यक्ष भएर नेतृत्वमा जाने हो, पद ओगटेरमात्र बस्ने बानी छैन । टिम नबनी हतारमा घोषणा गर्नुभन्दा आगामी ६ गते औपचारिक रूपमा टिम सार्वजनिक गर्नेछौँ ।’

अहिलेको परिस्थितिमा आफू स्वाभाविक उम्मेदवार रहेको बताए ।

विधान संशोधन र नेतृत्व चयन प्रक्रियामा परिवर्तन

महासंघको आगामी कार्यकालपछि अध्यक्षको चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने भएको छ । बहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकालको पहलमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाइएको छ ।

तर, यो नयाँ व्यवस्था वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ स्वतः अध्यक्ष भइसकेपछिको कार्यकालबाट मात्र लागु हुनेछ । संशोधित विधानअनुसार अब महासंघमा दुई जना वरिष्ठ उपाध्यक्ष रहनेछन् भने महिला उपाध्यक्षको संख्या पनि थप एक जना बढाइएको छ ।

अहिले दुवै समूहले आ–आफ्नो पक्षमा माहोल बनाउन जिल्ला दौडाहा र लबिङ तीव्र पारेका छन् ।

संघाइले आगामी चैत ६ गते टिम घोषणा गर्ने तयारी गरेका छन् । चुनावी सरगर्मी बढेसँगै अन्जन श्रेष्ठ सहितको टिमले औपचारिक घोषणा चैत ६ गते हुने सम्भावना रहेको बुझिएको छ । महासंघभित्र अहिलेदेखि नै प्यानलगत अभ्यास सुरु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप