सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति

सोमबार, २९ असार २०८३, ०९ : ३२
सोमबार, २९ असार २०८३

सारांश

  • पछिल्लो केही दिनयताको वर्षाले मधेसका किसानमा नयाँ आशा जगाएको छ र धान रोपाइँले गति लिएको छ।
  • वर्षाले आकाशे पानीमा निर्भर खेतमा समेत रोपाइँ सुरु गर्ने वातावरण बनेको छ, जसले किसानहरूमा खुसी ल्याएको छ।
  • मधेस प्रदेशमा हालसम्म करिब ३३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, तर मजदुर अभावले केही किसान चिन्तित छन्।

जनकपुरधाम । केही सातादेखिको खडेरी र पर्याप्त वर्षाको अभावले चिन्तित बनेका मधेसका किसानमा पछिल्ला दुई–तीन दिनदेखि भइरहेको वर्षाले नयाँ आशा जगाएको छ। समयमै पानी परेपछि धान रोपाइँले गति लिन थालेको छ भने आकाशे पानीको भरमा खेती गर्ने किसान पनि खेततर्फ फर्किन थालेका छन्।

यसअघि कुलो, नहर, पम्पसेट तथा मोटरबाट सिँचाइ हुने क्षेत्रमा मात्र धान रोपाइँ भइरहेको थियो। तर वर्षाको अभावले आकाशे पानीमा निर्भर खेत बाँझै थिए। अहिले भइरहेको वर्षाले ती खेतमा समेत रोपाइँ सुरु गर्ने वातावरण बनेको किसानहरू बताउँछन्।

महोत्तरीको पिपरा गाउँपालिकाका किसान सोहन ठाकुरले वर्षाले किसानको अनुहारमा खुसी फर्काएको बताए। उनका अनुसार अझ दुई–चार दिन राम्ररी वर्षा भएमा रोपाइँ हुन नसकेका अधिकांश खेतमा सहजै धान रोप्न सकिनेछ।

1000224263

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका किसान सीताराम यादव वर्षासँगै गीत गाउँदै धान रोपाइँमा व्यस्त देखिए। उनले भने, ‘यस्तै पानी केही दिन परिरहे मोटर र बोरिङको भर पर्नुपर्दैन। हामीजस्ता साना र गरिब किसानका खेत पनि सजिलै रोप्न सकिन्छ।’

सबै किसानको समस्या भने समाधान भइसकेको छैन। जनकनन्दिनी गाउँपालिकाका किसान राजकिशोर राउतका अनुसार पर्याप्त पानी परे पनि खेत रोप्ने मजदुरको अभावले रोपाइँ प्रभावित भइरहेको छ। ‘मजदुरको प्रतीक्षा गर्दागर्दै मौसम फेरिएर पानी रोकियो भने फेरि खेत बाँझै रहने चिन्ता छ,’ उनले भने।

1000224288

निरन्तर वर्षासँगै रोपाइँ गर्न बाँकी रहेका किसान खेतमा जुटेका छन्। खोला–खोल्सामा पानीको बहाव बढेको छ भने दुई–चार दिनदेखिको वर्षाले अत्यधिक गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन्। तर मौसम बदलिएसँगै विद्युत् आपूर्ति पटक–पटक अवरुद्ध हुँदा स्थानीयले सास्ती पनि खेप्नुपरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार हालसम्म मधेस प्रदेशमा करिब ३३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। जिल्लागत रूपमा सप्तरीमा ३८ प्रतिशत, सिराहामा ४५ प्रतिशत, धनुषामा ३५ प्रतिशत, महोत्तरीमा २५.३९ प्रतिशत, सर्लाहीमा ३०.४१ प्रतिशत, रौतहटमा १६ प्रतिशत, बारामा २२ प्रतिशत र पर्सामा ४० प्रतिशत धान रोपाइँ भएको छ।

मधेसका किसानमा फेरि आशा पलाएको छ। वर्षाले निरन्तरता पाएमा धान रोपाइँ र उत्पादन बढ्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप