मतदान गर्न जान गाडी नपाएको मतदाताको गुनासो
काठमाडौँ । काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् । बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरुले गुनासो गरेका हुन् ।
ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताए । उनले बुधवार बिहानैबाट ओखलढुंगा जान गाडी कुरेपनि नपाएको बताए । उनका अनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरुका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर आफूलाई पठाएको र अब भोट हाल्न जान नपाइने अवस्था आएको थापाले गुनासो गरे ।
सर्वसाधारण थापाले भने– ‘म एउटा स्कुलमा जागिर गर्छु । त्यो स्कुलले हिजोसम्म पनि बिदा दिएन । मेरो व्यक्तिगत साधन छैन । ओखलढुंगाका लागि आज २० गतेसम्म गाडीहरु पाइन्छन् भने सार्वजनिक यातायात चढेर भोट हाल्न घर जान खोजेको गाडी नै पाइएन । बिहान ४ बजेदेखि गाडी कुरेको अहिलेसम्म पनि गाडी पाइन । गाडीहरु रिजर्भ बाहेक केही लेखेको छैन । रिजर्भ गाडीहरुले हामीहरुलाई लगेनन् । बस काउन्टरमा जाँदा दल र उनीहरुका नेताहरु सम्पर्क गर्नुस् टिकट पाइँदैन भने । अब भोट हाल्न जान नपाइने भयो ।’
कास्कीका दिलिप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा समस्या भइरहेको बताए । उनका अनुसार त्यसरी भोट हाल्न जानेहरुले पनि धेरै दुःख पाएका छन् । दलहरुले सबैजसो गाडी रिजर्भ गर्दा भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेको उनले बताए । उनका अनुसार सर्वसाधारणले सवारी नपाउँदा कतिपय मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ ।
महतले भने– ‘हिजोआज उपत्यका छाड्नेहरु धेरै दुःखले भोट हाल्न गएका छन् । भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेहरुलाई मात्रै दलहरुले लिएर गएका छन् । आफ्ना पार्टीका मान्छेलाई मात्रै दलहरुले गाडी पठाएर लगिरहेका छन् । धेरै सर्वसाधारणले भोट हाल्न जान सवारी नै पाएका छैनन् । जसकारण कतिपय भोट हाल्न जान नपाउने अवस्था छ ।’
रामेछापका कुमार बस्नेतले भने सिट नपाएपनि गाडी भने पाएको बताए । राजनीतिक दलका नेताहरुले रिजर्भका गाडीमा जानुपर्छ भने पनि आफूले अस्वीकार गरेको बताए । बिना टिकट पनि गाडी पाएको र आफू भोट हाल्न गाउँ जान लागेको उनले सुनाए ।
बस्नेतले भने– ‘मैले भोट हाल्न घर जानका लागि टिकट काटेको थिइन । पार्टीहरुले हाम्रा गाडीहरुमा जानुपर्छ भनेका थिए तर म गइन । तर बिना टिकट पनि गाडी पाएँ । भोट हाल्न घर जाँदैछु ।’
सरोकारवालाहरुका अनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुन जरुरी छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण