धुरन्धर अभिनेत्री आयशाको खुलासा : सामाजिक सञ्जालमा दैनिक बलात्कारको धम्की
सारांश
- बलिउड अभिनेत्री आयशा खानले सामाजिक सञ्जालमा आफूले भोग्दै आएको चरम मानसिक र यौन उत्पीडनबारे खुलासा गरिन्।
- उनले बलात्कारको धम्की र अश्लील टिप्पणीहरू दैनिक आउने गरेको बताइन्, र यसले उनलाई भावनात्मक रूपमा विक्षिप्त बनाएको छ।
- यस्ता धम्की दिने मानिसहरू समाजमै रहेको र यस विरुद्ध प्रभावकारी कारबाही नभएकोमा उनले चिन्ता व्यक्त गरिन्।
मुम्बई । बलिउड अभिनेत्री आयशा खानले सामाजिक सञ्जालमा आफूले भोग्दै आएको चरम मानसिक र यौन उत्पीडनका बारेमा स्तब्धकारी खुलासा गरेकी छिन्। हालै आयोजित मोजो स्टोरीको एक सम्मेलनमा बोल्दै उनले आफूलाई लगभग हरेक दिन बलात्कारको धम्की आउने र शरीरलाई लिएर अश्लील टिप्पणीहरू हुने गरेको बताएकी हुन्।
यो समस्या यति सामान्य भइसकेको छ कि अहिले आफ्नो फोन खोलेरै यस्ता सयौँ धम्कीपूर्ण सन्देशहरू देखाउन सक्ने उनले दाबी गरिन्। आफ्नो पछिल्लो फिल्म धुरन्धरको गीत सुटिङका क्रममा महिनावारी हुँदा भोगेको सास्तीबारे सार्वजनिक रूपमा कुरा गरेपछि उनी झनै ट्रोलिङको सिकार बनेकी थिइन्।
एउटा प्राकृतिक शारीरिक प्रक्रियाबारे कुरा गर्दा त्यसलाई राष्ट्रिय मजाक बनाइएकोमा उनले दुःख व्यक्त गरिन्। उनले भनिन्, ‘मैले सामान्य टप लगाउँदा होस् वा स्कर्ट, मानिसहरूलाई जहिले पनि समस्या हुन्छ। कुनै पनि फोटो पोस्ट गर्नुअघि १० पटक सोच्नुपर्ने अवस्था छ किनकि मानिसहरूले त्यसलाई यौनिक दृष्टिकोणले मात्र हेर्छन्।’
आयशाले अनलाइनमा आउने धम्कीहरू कतिसम्म डरलाग्दो हुन्छन् भन्ने उदाहरण दिँदै कतिपयले आफूसँग शक्ति भएको भए जे पनि गर्न सक्ने भन्दै हिंसात्मक सन्देश पठाउने गरेको बताइन्। झनै डरलाग्दो कुरा त के छ भने, यस्ता धम्की दिने मानिसहरू हाम्रै समाजमा वरिपरि बसिरहेका हुन्छन्।
एकपटक फिल्मको सुटिङका क्रममा आफ्नै सेटमा काम गर्ने स्पट बोयले उनलाई लामो समयदेखि अश्लील भ्वाइस नोट र सन्देशहरू पठाइरहेको फेला परेको थियो। उनले तुरुन्तै आफ्ना बुबा र निर्माण टोलीलाई जानकारी दिएपछि ती व्यक्तिमाथि कारबाही गरिएको थियो।
कुनै समय आफूमाथि बलात्कारको प्रयास समेत भएको खुलासा गर्दै आयशाले यस्ता घटना र अनलाइन धम्कीले आफूलाई भावनात्मक रूपमा विक्षिप्त बनाउने गरेको बताइन्। सार्वजनिक जीवनमा रहेका लगभग हरेक महिलाले यस्तै किसिमको ट्रोलिङ र सुरक्षा चुनौती सामना गरिरहनु परेको भए पनि यसविरुद्ध प्रभावकारी कारबाही हुन नसक्नु चिन्ताको विषय भएको उनको ठम्याइ छ।
उनले कुनै पनि नागरिक डरको छायामा बाँच्न नहुने भन्दै यस्ता प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण