मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

महिला मतदाताको उत्साहः ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

बिहीबार, २१ फागुन २०८२, १५ : २४
बिहीबार, २१ फागुन २०८२

सारांश

  • काठमाडौँका मतदान केन्द्रहरूमा महिला मतदाताको उत्साहजनक उपस्थिति देखियो, जसले मतदानलाई प्राथमिकता दिए।
  • पोखराबाट आएकी अनिता मानन्धर र ९३ वर्षीया कौशिला तिमल्सिना जस्ता विभिन्न उमेर समूहका महिलाले मतदान गरे।
  • वैदेशिक रोजगारीमा रहेका श्रीमान्को आग्रहमा धनु राईले मतदान गरिन्, र गोरखाकी शिक्षिका प्रतीक्षा श्रेष्ठले पनि मतदानमा भाग लिइन्।

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा काठमाडौँका विभिन्न मतदान केन्द्रहरूमा महिला मतदाताको उपस्थिति निकै उत्साहजनक देखिएको छ। बानेश्वरकी सीता श्रेष्ठ अरू बेला बिहानै घरधन्दा र खाना पकाउन व्यस्त हुन्थिन्, तर बिहीबार उनी एक कप चियाकै भरमा मतदान केन्द्र पुगिन्। "पहिला भोट हाल्ने अनि मात्र खाना खाने भनेर निस्किएँ, यो हाम्रो लागि उत्सव र अधिकार दुवै हो," उनले भनिन्। सीता जस्तै धेरै महिलाहरूले घरको कामभन्दा मतदानलाई प्राथमिकता दिएका छन्।

मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा मतदान गर्न पोखरादेखि काठमाडौँसम्म आइपुगेकी अनिता मानन्धरका लागि यो निर्वाचन विशेष छ। 'जेन्जी' प्रदर्शनपछिको राजनीतिक मुहार परिवर्तन गर्ने अठोटका साथ उनी आफ्नो माइती क्षेत्रमा मत खसाल्न आइपुगेकी हुन्। सोही केन्द्रमा ९३ वर्षीया वृद्धा कौशिला तिमल्सिनाले बिहान ७:०५ बजे मतदान गरेर प्रक्रियाको सुरुवात गरेकी थिइन्। ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बनाउन सुरक्षाका लागि राखिएका डोरीसमेत काटेर बाटो सजिलो बनाइएको पर्यवेक्षक हरिओम महेताले जानकारी दिएका छन्।

डिल्लीबजारस्थित पदमकन्या माध्यमिक विद्यालयमा पहिलोपटक मतदान गरेकी धनु राईको अनुभव झनै रोचक छ। वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले आफूले मत हाल्न नपाए पनि श्रीमतीलाई अनिवार्य मतदान गर्न आग्रह गरेका थिए। धनुले मतदानपछि औँलामा लगाइएको नीलो रङको तस्बिर खिचेर ह्वाट्सएपमार्फत श्रीमान्लाई पठाउँदै आफ्नो नागरिक कर्तव्य पूरा गरेको खुसी साटेकी छिन्।

शङ्खमूलको स्वप्नवाटिका स्कुलमा भेटिएकी गोरखाकी शिक्षिका प्रतीक्षा श्रेष्ठ पनि सही नेतृत्व चयन गर्ने अधिकार गुमाउन नहुने भन्दै काठमाडौँ आएकी हुन्। "हाम्रो एक मतले देश बन्छ" भन्ने विश्वासका साथ उनी जस्ता धेरै सचेत महिलाहरूले मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन्। काठमाडौँका अधिकांश केन्द्रहरूमा महिलाहरूले आफ्नो मतको अधिकार प्रयोग गर्दा परिवारका अन्य सदस्यहरूले समेत उत्साह थपेको पाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप