२६ वर्षको उमेरमै संसद् छिर्दै केपी
सारांश
- कैलाली निर्वाचन क्षेत्र २ बाट रास्वपाका केपी खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्, उनले १९ हजार ५७ मत प्राप्त गरे।
- सामाजिक अभियन्ता खनालले स्कुल पढ्दादेखि नै बाल बहस कार्यक्रम चलाएका थिए र उनले बाजुरामा अनाथ बालबालिकाका लागि घर बनाए।
- खनालले काठमाडौंको फोहोर देखेर 'क्लिन काष्ठमण्डप' अभियान चलाए, र उनले युवा रोजगारी, शिक्षा र स्वास्थ्यको विषयमा संसदमा आवाज उठाउने बताए।
धनगढी । कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका २६ वर्षीय केपी खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १९ हजार ५७ मत प्राप्त गरे ।
कान्छो सामाजिक अभियन्ताका रूपमा चर्चा बटुलिसकेका खनाल अब संसदमा देखिने छन् । उनी २०५६ साल पुस २७ गते अछामको रामारोशन गाउँपालिका, बाटलासेनमा जन्मिएका हुन् ।
बुवा धनीराम खनाल र आमा मनिषा खनालको कोखबाट जेठो छोराका रूपमा जन्मिएका उनी सानैमा परिवारसहित कैलालीको लम्की बसाइँ सरे ।
स्कुल पढ्दादेखि नै केपीको स्वभाव अलि फरक थियो । कक्षा ६ मा पढ्दादेखि नै उनी रेडियोमा बोल्न थालेका थिए । १३ वर्षको कलिलो उमेरमा उनले लम्कीको सामुदायिक रेडियोमा बाल बहस नामक कार्यक्रम चलाउँथे । बालबालिकाका अधिकार र समस्याबारे रेडियोमा बोल्ने त्यो सानो केटो एक दिन देशको संसदमा बोल्नेछ भन्ने सायदै कसैले सोचेका थिए ।
माध्यमिक तह पास गरेपछि गरिबीले उनलाई भारत पस्न बाध्य बनायो । उनी रोजगारीका लागि भारतको मुम्बई हानिए । ‘त्यो बेला एसएलसी सकेपछि म २–३ महिना मुम्बईको मीरा रोडमा बसेँ,’ उनले भने, ‘मैलेँ त्यहाँको एउटा होटलमा काम गरेँ । भाँडा माझेँ, मजदुरी गरेँ । त्यो मेरो जीवनको एउटा ठुलो पाठ थियो,’ उनले रातोपाटीसँग भने ।
आफ्नै उमेरका भारतीय युवाहरू कलेज गइरहँदा आफूचाहिँ अर्काको देशमा पसिना बगाउनु परेको पीडाले उनलाई घोचिरह्यो । आखिर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने हुटहुटीले उनी नेपाल फर्किए ।
नेपाल फर्केर प्लस टु पढ्दै गर्दा उनमा सामाजिक कामको भोक जागिसकेको थियो । २०७२ सालको भूकम्प, देशमा नाकाबन्दीमा खनाल सामाजिक अभियानमा सक्रिय भएर लाग्न थाले । त्यसपछि उनी उच्च शिक्षाका लागि काठमाडौँ छिरे ।
काठमाडौँको धुलो र फोहोर देखेर दिक्क भएका केपीले अरूलाई गाली गर्नुको साटो आफैँ कुचो उठाउने निधो गरे । १७ वर्षको उमेरमा उनले सुरु गरे ‘क्लिन काष्ठमण्डप’ अभियान । नारा थियो– ‘म बदलिन्छु, अनि मेरो देश बदलिन्छ ।’
केपीले भने, ‘हामी सुदूरपश्चिमबाट काठमाडौँ जाने भनेको ठुलो सपना बोकेर हो । त्यहाँको फोहोर देखेपछि लाग्यो, अरूलाई भन्नुभन्दा आफैँ सफा गर्नुपर्छ ।’
सुरुमा मान्छेहरूले उनलाई पागल भने । ‘कलिलो उमेरको केटोले झाडु लगाएर काठमाडौँ सफा हुन्छ र ?’ भन्दै खिसी गरे ।
ती वाक्यले आफू नरोकिएको केपी बताउँछन् । तत्कालीन मन्त्री लालबाबु पण्डितदेखि काठमाडौँका मेयरसम्मलाई सडकमा उतारेर उनले १ हजार ७ सय मानिसको सहभागितामा काठमाडौँको तीनकुनेदेखि माइतीघरसम्म सरसफाइ अभियान चलाए ।
यो अभियान काठमाडौँमा मात्र सीमित भएन, देशैभर फैलिएको उनी बताउँछन् ।
सामाजिक सञ्जालमा भाइरल भएका केपी बिस्तारै ‘कान्छो सामाजिक अभियन्ता’ का रूपमा चिनिन थाले । उनी सरसफाइ अभियानमा मात्र सीमित भएनन् । उनले सुदूरपश्चिमको विकट बाजुरा जिल्लाको पीडालाई नजिकबाट महसुस गरेका थिए । बाजुराको बुढीगंगामा रहेका अनाथ बालबालिकाको विजोग देखेर उनको मन पोल्यो । उनले सोचे– यिनका लागि घर बनाउँछु ।
एक त विद्यार्थी, आफ्नै कमाइ थिएन, उसले बालगृह बनाउने आँट गर्नु सम्भवको कुरा पनि थिएन । उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरे । देश–विदेशमा रहेका नेपालीले केपीको इमानदारितामाथि विश्वास गरे । हेर्दाहेर्दै ५० लाख रुपैयाँ जुट्यो ।
‘त्यो बेला १९ जनाभन्दा बढी अनाथ बालबालिका थिए,’ केपीले भने, ‘हामीले एक वर्षभित्रै ४ वटा ब्लक भएको भवन ठड्यायौँ र नायक राजेश हमालको हातबाट साँचो हस्तान्तरण गर्यौँ ।’
कन्सर्न बाजुरा नामको त्यो संस्था अहिले दर्जनौँ अनाथ बालबालिकाको सुरक्षित ओत बनेको छ । त्यहाँ उनीहरूले गाँस, बास र कपाससँगै शिक्षा र स्नेह पनि पाइरहेको खनालले जानकारी दिए ।
कोभिड–१९ को महामारीमा पनि केपी घरभित्र लुकेनन् । ‘हेल्प फर निडी’ अभियान चलाएर उनी भोकाहरूको पेट भर्न निस्किए । कैलाली र अछामका अस्पतालमा बिरामी कुरुवालाई खाना खुवाउनेदेखि विपन्न २० परिवारका लागि शौचालय बनाइदिनेसम्मका काम उनले गरे । अक्सिजन सिलिण्डर बोकेर बिरामीको घर–घर पुगे ।
सानो उमेरमा लोभलाग्दो काम गरेको भन्दै केपीको चर्चा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्यो । उनले थाइल्याण्डमा ‘इन्टरनेसनल एचिभमेन्ट अवार्ड २०२४’ अन्तर्गत युथ एचिभर अवार्ड प्राप्त गरे । त्यस्तै, भारतमा महात्मा गान्धीको १५१औँ जयन्तीका अवसरमा ‘युथ आइकन अवार्ड’ बाट सम्मानित भए ।
देशभित्रै पनि उनले राष्ट्रपतिको हातबाट समाज सेवा रत्न पदक र राष्ट्रिय युवा प्रतिभा पुरस्कार जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेका छन् । यी सम्मानले उनलाई थप जिम्मेवार बनायो ।
समाजसेवामा जमेका केपी एक्कासि संसदीय राजनीतिमा आउँदा धेरैले उनीमाथि टिका–टिप्पणी पनि गरे । ‘समाजसेवा घाउमा मल्हम लगाउने काम हो भने राजनीति त्यो घाउ नै लाग्न नदिने नीति बनाउने ठाउँ हो,’ उनले भने ।
काठमाडौँमा बालेन शाहको उदय र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर ल्याएको तरङ्गले केपीलाई पनि छोयो । राजनीति फोहोर छ भनेर भाग्नुभन्दा त्यसलाई सफा गर्न आफैँ इनारमा हाम फाल्नुपर्छ भन्ने मान्यताका साथ उनी चुनावी मैदानमा होमिए ।
‘मलाई कुनै जात, भूगोल वा भेगले जित्छ भन्ने लाग्दैनथ्यो,’ उनी भन्छन्, ‘परिवर्तन र भिजनले जित्छ भन्नेमा म ढुक्क थिएँ ।’
चुनाव लड्ने निर्णयपछि उनी गाउँ–गाउँ पुगे, जनताका हात समाते र आफ्ना एजेन्डा सुनाए । ‘हिजो सडकमा घण्टी बजाउँदै हिँड्ने केटो आज संसदमा पुगेको छ, यो जित मेरो होइन, ती तमाम युवाहरूको हो, जो देशमै केही गर्न चाहन्छन्,’ उनले भने ।
त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै गरेका केपी पढाइ र राजनीतिलाई सँगसँगै लैजाने योजनामा छन् । उनी संसदमा युवाको आवाजमात्र होइन, आफूजस्तै गरिब समुदायको सपना बोकेर बोल्नेछन् ।
उनका बुवा–आमा अहिले पनि भारतमा रोजगारी गरेर फर्किएका कामदार हुन् । ‘मेरा बुवा–आमा १५–१६ वर्ष भारतमा बस्नुभयो । उहाँहरूको पसिनाको मूल्य मलाई थाहा छ,’ केपीले भने ।
संसदमा उनी शिक्षा, स्वास्थ्य र युवा रोजगारीका विषयमा खरो उत्रने तयारीमा छन् । सुदूरपश्चिमको विकास र त्यहाँका जनताको जीवनस्तर उकास्नु आफ्नो मुख्य उद्देश्य रहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण