राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा
सारांश
- सामाजिक अभियन्ता महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा शानदार जित हासिल गरे।
- उनले नेकपा एमालेका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै स्वतन्त्र रूपमा चुनाव जिते।
- पुनले विद्यालय र विश्वविद्यालयमा राजनीतीकरण अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
म्याग्दी । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा तय गरेका छन्। दलीय घेराबन्दी र सङ्गठनात्मक शक्तिलाई चुनौती दिँदै ७१ वर्षीय पुनले स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक सफलता हात पारेका हुन्। निर्वाचनमा उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९ सय ३१ को भारी मतान्तरले पराजित गरे। पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठ निकै पछि परे।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने घोषणा गरेका थिए। मन्त्री पदमा रहँदा स्वार्थ समूहको दबाब र राजनीतिक हस्तक्षेपका कारण सोचेजस्तो काम गर्न नसकेपछि उनी जनताको साथ खोज्दै जन्मथलो फर्किएका थिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मिएका पुनको यो जितले नेपाली राजनीतिमा केवल पैसा, पावर र सङ्गठनले मात्र चुनाव जितिन्छ भन्ने भ्रमलाई चिरेको छ।
पुनको चुनावी शैली अन्य नेताहरूको भन्दा बिल्कुलै भिन्न र सादगीपूर्ण थियो। उनले भड्किलो प्रचारप्रसार नगरी मतदातासँग अनौपचारिक संवाद र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका थिए। अचम्मको कुरा त के छ भने, उनले चुनाव लड्न मतदाताबाटै आर्थिक सहयोग संकलन गरेका थिए। जितपछि पनि उनले विजय उत्सव वा तडकभडक नगर्न समर्थकहरूलाई आग्रह गर्दै सादगीपनको अर्को उदाहरण पेश गरेका छन्। म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक विष्णुप्रसाद आचार्यका अनुसार मतदाताले लोभ, आश्वासन र डरभन्दा माथि उठेर पुनको व्यक्तित्व र योगदानलाई न्याय गरेका हुन्।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पुनले दुई दशकअघि नै म्याग्दीका गाउँगाउँमा ताररहित इन्टरनेट (वाइफाइ) पुर्याएर विश्वकै ध्यान खिचेका थिए। सूचना प्रविधि, शिक्षा र ग्रामीण पर्यटनमा उनले पुर्याएको योगदानकै कारण सन् २००७ मा उनले एसियाको नोबेल पुरस्कार मानिने ‘म्यागासेसे पुरस्कार’ पाएका थिए। उनले व्यक्तिगत जग्गा जमिन बिक्री गरेर र आफ्नै जीवनकथाको पुस्तक बेचेर आएको करोडौँ रकम आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा लगाएका छन्।
प्रतिनिधिसभामा अब उनी एक मात्र दलविहीन सांसदका रूपमा उपस्थित हुनेछन्। निर्वाचित भएपछि पुनले विद्यालय र विश्वविद्यालयमा व्याप्त राजनीतीकरण अन्त्य गर्ने र प्राविधिक शिक्षाको सुधारका लागि नीति निर्माणमा जोड दिने प्रतिबद्धता जनाएका छन्। म्याग्देली जनताले दिएको यो जनमतले अबको राजनीति निष्ठा र कामको आधारमा हुनुपर्छ भन्ने बलियो सन्देश दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण