सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मध्यपूर्वका नेपालीको सुरक्षाका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न आरके शर्माको आग्रह

मङ्गलबार, २६ फागुन २०८२, ०० : २६
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल गर्नुपर्ने बताए।
  • इजरायल–इरान द्वन्द्वपछि मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो।
  • शर्माले दूतावासमा कर्मचारी थप्न र हेल्पडेस्क सञ्चालन गर्न पनि आग्रह गरे।

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हौसला अभिवृद्धिका लागि सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

अमेरिका र इजरायलद्वारा इरानमा हमलापछि मध्यपूर्व समेत प्रभावित भएको सन्दर्भमा परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा आफ्नो धारणा राख्दै शर्माले वर्तमान असहज परिस्थितिमा राज्यको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताएका हुन् । 

परराष्ट्र सचिव, एनआरएनएका अध्यक्ष बद्री केसी लगायतको सहभागिता रहेको उक्त बैठकमा शर्माले अन्य मित्र राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले मध्यपूर्वका सम्बन्धित देशका प्रमुखहरूसँग प्रत्यक्ष सम्पर्क गरी आफ्ना नागरिकको सुरक्षाबारे चासो व्यक्त गरिरहेको सन्दर्भ उल्लेख गरे। नेपालका प्रधानमन्त्रीले पनि प्रारम्भिक रूपमा केही राष्ट्रप्रमुखहरूसँग सम्पर्क गरेको बुझिए तापनि यस कूटनीतिक सक्रियतालाई अझ विस्तार गर्न र समय–समयमा नियमित संवाद गर्ने पहल गर्न उनले सुझाव दिए। यस्तो संवादले विदेशमा रहेका नेपालीहरूमा राज्य आफ्नो साथमा रहेको अनुभूति हुने र उनीहरूको आत्मबल थप मजबुत हुने शर्माको तर्क छ।

यसैगरी, विदेशस्थित नेपाली दूतावासहरूमा सेवाग्राहीको चाप र वर्तमान स्थितिलाई मध्यनजर गर्दै तत्काल कर्मचारी थप्न उनले सरकारको ध्यानाकर्षण गराए ।  यदि तत्काल कर्मचारी व्यवस्थापन गर्न सम्भव नभए सामाजिक संस्थाहरूसँगको सहकार्यमा कम्तीमा २४ सै घण्टा फोन रेस्पोन्स हुने गरी ‘हेल्पडेस्क’ सञ्चालन गर्न उनले परराष्ट्र सचिव अमृत राईसमक्ष आग्रह गरे । 

नागरिकलाई सही सूचना दिन र भ्रमबाट बचाउन सरकारले नियमित रूपमा प्रेस ब्रिफिङ तथा मिडिया रिलिजमार्फत आधिकारिक जानकारी गराउनुपर्नेमा पनि शर्माले जोड दिए। अन्य देशहरूले आफ्ना नागरिकलाई लक्षित गरी नियमित सन्देश प्रवाह गरिरहेको उदाहरण दिँदै उनले नेपाल सरकारले पनि यस्तै अभ्यास अपनाउँदा श्रमिकहरूमा थप भरोसा र आत्मबल प्रदान हुने विश्वास व्यक्त गरे । 

मध्यपूर्ववासी नेपालीको तर्फबाट सुझाव राख्दै शर्माले लाखौँ नेपालीहरूको सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने र कूटनीतिक माध्यमबाट उनीहरूको सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए । मध्यपूर्वमा करिब १८ लाख नेपाली कार्यरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप