पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको निगरानीः ५७ हजार १ सय जना नेपालीको विवरण संकलन
सारांश
- कन्सुलर सेवा विभागले पश्चिम एसियामा रहेका नेपालीहरूको विवरण संकलन सुरु गर्दा ५७,१०० जनाले विवरण दर्ता गरे।
- नेपाल फर्कन चाहने नेपालीहरूले साउदी अरब हुँदै यात्रा गर्न सक्नेछन् र भिसाका लागि अनुरोध गर्न सक्नेछन्।
- परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि विशेष निगरानी राखेको छ।
काठमाडौं । पश्चिम एसियामा रहेका नेपालीहरूको विवरण संकलन गर्न कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा सोमबार साँझसम्म ५७ हजार १०० जना नेपालीले आफ्नो विवरण दर्ता गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमवार राती सो कुराको जानकारी गराएको हो ।
कन्सुलर विभागमा प्राप्त विवरणका आधारमा आवश्यकता अनुसार थप कदम चालिने मन्त्रालयले जनाएको छ ।
केही स्थानहरूबाट सीमित रूपमा हवाई उडान सञ्चालन भइरहेकाले नेपाल फर्कन चाहने नेपालीहरूले ती स्थानहरूबाट यात्रा गर्न सक्ने मन्त्रालयले जनाएको छ । साथै साउदी अरब हुँदै नेपाल फर्कन चाहने नेपालीहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लान सहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगमा पठाएर भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने व्यवस्था गरिएको छ ।
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र कल्याणका विषयमा विशेष निगरानी राखेको जनाएको छ । पश्चिम एसियामा रहेका नेपाली नियोगहरू, गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूसँग मन्त्रालयले भर्चुअल छलफलको आयोजना गरिएको थियो । छलफललाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले थप सक्रियताका साथ सहकार्य गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पश्चिम एसियास्थित नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू नियमित रूपमा खुला रहेका छन् । राहदानी लगायत अत्यावश्यक सेवाका लागि सेवाग्राहीहरूले सम्बन्धित नियोगले उपलब्ध गराएका फोन नम्बर वा इमेलमार्फत समय मिलाएर सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गर्ने सुरक्षा सावधानी र सूचनाबारे अद्यावधिक रहन तथा त्यहाँ हुने कुनै पनि गतिविधिको कानून विपरीत फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदान–प्रदान नगर्न पनि अनुरोध गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण