बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
राष्ट्रियसभा

नयाँ सदस्य आएपछि राष्ट्रियसभामा कांग्रेस ठुलो दल, अरू कुन दलको हैसियत के  ?

बुधबार, २७ फागुन २०८२, १४ : ४८
बुधबार, २७ फागुन २०८२

सारांश

  • राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनपछि दलहरूको हैसियत परिवर्तन भएको छ, जसले फागुन २५ गते शपथ लिएका थिए।
  • निर्वाचनबाट नयाँ सदस्य आएपछि राष्ट्रिय सभा ५७ सदस्यीय भएको छ, जसमा एक जना मनोनित र एक जनाको निधन भएको छ।
  • नेपाली कांग्रेस २४ सदस्यका साथ ठूलो पार्टी बनेको छ भने नेकपा दोस्रो र नेकपा एमाले तेस्रो स्थानमा छन्।

काठमाडौँ । गत माघ ११ गते राष्ट्रियसभाका एकतिहाइ सदस्यका लागि भएको निर्वाचनपछि राजनीतिक दलहरूको हैसियत बदलिएको छ । निर्वाचित १८ जना सदस्यले फागुन २५ गते पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिएपछि उनीहरूको ६ वर्षे कार्यकाल सुरु भएसँगै राष्ट्रियसभामा दलहरूको हैसियत बदलिएको हो । 

राष्ट्रियसभाका १९ सांसदको ६ वर्षे कार्यकाल फागनु २० गतेबाट सकिएको थियो । तीमध्ये १८ जना निर्वाचित भएका आएका थिए । एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित थिए ।

फागुन २० गते एमालेका तर्फबाट निर्वाचित ८, तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित ७, जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित १ जना, तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट निर्वाचित १ जना र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित एक सदस्यको ६ वर्षे कार्यकाल सकिएको थियो । 

५९ सदस्यीय राष्ट्रियसभा नयाँ सदस्य निर्वाचित भएर आएपछि ५७ सदस्यीय भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक सदस्य खाली छ भने कांग्रेसका तर्फबाट सुदूरपश्चिमबाट निर्वाचित बलदेव बोहोराको निधन भएपछि खाली भएको स्थानमा निर्वाचन भएको छैन । बोहोराको पुस ३० गते निधन भएको थियो । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले एक जना मनोनित र एक जनाको निधन भएपछि अहिले राष्ट्रियसभामा ५७ सदस्य रहेको रातोपाटीलाई जानकारी दिए ।
 
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका दुई जना छन् । नारायणप्रसाद दाहाल र डा. अञ्जान शाक्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका हुन् । दाहाल अहिले राष्ट्रियसभाको अध्यक्षमा बहाल छन् । 

फागुन २० गतेसम्म अहिले बहाल रहेका तत्कालीन नेकपा माओवादी केन्द्र अहिलेको नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको) पहिलो पार्टी थियो । निर्वाचनबाट नयाँ सदस्य नआउँदासम्म नेपाली कम्युनिस्ट पार्टी अहिले बहाल रहेका १७ र कार्यकाल सकिएका माओवादी केन्द्रका ७ र एकीकृत समाजवादीका १ जोडेर ८ गरी २५ सदस्यसहित ठुलो पार्टी थियो । तर निर्वाचनमा पार्टीका ८ सांसदको कार्यकाल सकिएको र नयाँ एक जना पनि निर्वाचित नभएपछि दोस्रोमा झरेको छ ।

नेपाली कांग्रेस पुराना बहाल रहेका १५ र नयाँ निर्वाचित भएका आएका ९ गरी २४ सदस्यसहित ठुलो पार्टी बनेको छ । ८ सदस्य कार्यकाल सकेर फर्किएपछि १७ जनामा सीमित भएको नेपाल कम्युनिस्ट पार्टी दोस्रो ठुलो पार्टी भएको छ ।

बहालवाला २ र नयाँ निर्वाचित ८ सदस्यसहित १० सदस्य भएको नेकपा एमाले तेस्रो पार्टी बनेको छ । ३ सिटसहित जनता समाजवादी पार्टी नेपाल चौथो र एक सिटसहित राष्ट्रिय जनमोर्चा पाँचौं दल बनेको छ ।    

यस्तो छ राष्ट्रियसभामा दलका सदस्यहरूको सूची     

नेपाली कांग्रेस

१) आनन्दप्रसाद ढुंगाना
२) कमलादेवी पन्त
३) किरणबाबु श्रेष्ठ
४) कृष्णप्रसाद पौडेल
५) कृष्णप्रसाद सिटौला
६) कृष्णबहादुर रोकाय
७) गोपालकुमार बस्नेत
८) जितजंग बस्नेत
९) दुर्गाकुमारी गुरुङ
१०) नारायण दत्त भट्ट
११) नारायण दत्त मिश्र
१२) पदमबहादुर परियार
१३) युवराज शर्मा
१४) विष्णुकुमारी सापकोटा
१५) विष्णुदेवी पुडासैनी

नवनिर्वाचित 

१६) सुनिलबहादुर थापा
१७) ललितजंग शाही 
१८) धमेन्द्र पासवान
१९) रञ्जित कर्ण 
२०) गीता देवकोटा
२१) जगत तिमिल्सिना
२२) चन्द्रबहादुर केसी 
२३) वासुदेव जंगली
२४) खम्मबहादुर खाती

नेपाली कम्युनिस्ट पार्टी

१) उदयबहादुर बोहरा
२) उर्मिला अर्याल
३) गोमादेवी तिमिल्सिना
४) घनश्याम रिजाल
५) जगतबहादुर पार्की
६) जयन्तीदेवी राई
७) झक्कुप्रसाद सुवेदी
८) नरबहादुर विष्ट
९) मदनकुमारी शाह (गरिमा)
१०) मनरुपा शर्मा
११) भुवनबहादुर सुनार
१२) राजेन्द्रलक्ष्मी गैरे
१३) रेनु चन्द
१४) विष्णुबहादुर विश्वकर्मा
१५) श्रीकृष्णप्रसाद अधिकारी
१६) सावित्री मल्ल
१७) सुरेशकुमार आले मगर

नेकपा एमाले

१) रुक्मिणी कोइराला
२) सोनाम गेल्जेन शेर्पा

नवनिर्वाचित

३) रामकुमारी झाँक्री 
४) रोशनी मेचे
५) रेखा झा 
६) सोम पोर्तेल 
७) डा. प्रेम दंगाल
८) सम्झना देवकोटा 
९) मीना रखाल
१०) लीलाकुमारी भण्डारी

जनता समाजवादी पार्टी नेपाल

१) पूजा चौधरी
२) मोहम्मद खालिद

नवनिर्वाचित 

३) महन्थ ठाकुर 

राष्ट्रिय जनमोर्चा

तुलप्रसाद विश्वकर्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप