इन्धन र सामग्रीको अभावपछि ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न माग
सारांश
- निर्माण सामग्री, इन्धन र ग्यासको अभाव र मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ।
- निर्माण व्यवसायी महासंघले सरकारसँग कन्स्ट्रक्सन होलिडे घोषणा गर्न माग गरेको छ।
- अन्तर्राष्ट्रिय द्वन्द्व र इन्धन अभावका कारण निर्माण सामग्रीको मूल्य बढेको छ।
काठमाडौँ । निर्माण सामग्री, इन्धन र ग्यासको चर्को अभाव तथा अत्यधिक मूल्यवृद्धिका कारण मुलुकको निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ। पछिल्लो दुई महिनादेखि आन्तरिक रूपमा भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा चर्किएको द्वन्द्वको प्रत्यक्ष असर निर्माण क्षेत्रमा देखिएको हो।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वर्तमान परिस्थितिमा काम अघि बढाउन नसकिने भन्दै सरकारसँग कन्स्ट्रक्सन होलिडे घोषणा गर्न माग गरेका छन्। अध्यक्ष सिंहका अनुसार सरकारको ध्यान निर्वाचनमा मात्र केन्द्रित हुँदा र अर्थतन्त्रले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएकाले पुँजीगत खर्चमा गम्भीर संकुचन आएको छ।
हालसम्म करिब १९ प्रतिशत मात्र विकास खर्च भएको र निकट भविष्यमा पनि बजेट बढ्ने सम्भावना न्यून देखिएको छ। अर्थ मन्त्रालयले विकासे मन्त्रालयहरूको बजेट कटौती गर्ने प्रयास गरिरहेकाले निर्माण व्यवसायीहरू थप मारमा परेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा विशेषगरी खाडी क्षेत्रमा जारी युद्धका कारण नेपालमा इन्धन आपूर्ति प्रणाली नै प्रभावित भएको छ। विगत १४ दिनदेखि इन्धन र अन्य आवश्यक सामग्रीको सहज आपूर्ति हुन सकेको छैन।
यही मौका छोपेर केही बिचौलिया र व्यवसायीले बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी सस्तोमा किनेको सामान महँगोमा बेचिरहेको सिंहको आरोप छ। अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता बढेपछि स्थानीय बजारमा निर्माण सामग्रीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ।
पछिल्लो २–३ महिनादेखि भइरहेको ग्यासको अभावले निर्माण क्षेत्रका मजदुरहरूलाई काममा लगाउन समेत कठिनाइ भएको छ। प्रशासनले बोतलमा इन्धन बिक्री गर्न प्रतिबन्ध लगाएपछि मेसिनरी उपकरण चलाउन झन् ठूलो समस्या सिर्जना भएको व्यवसायीहरूको भनाइ छ। इन्धन, डण्डी र बिटुमिनको मूल्य अनपेक्षित रूपमा अकासिएपछि साना–ठूला सबै आयोजनाहरूको लागत बढेको र काम सुचारु राख्न नसकिने स्थिति बनेको छ।
निर्माण कार्य अघि बढाउन नसकिने जटिल अवस्था आएको भन्दै महासंघले सरकारलाई निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न र व्यवसायीहरूलाई राहत दिन विशेष कदम चाल्न आग्रह गरेको छ। अहिलेको परिस्थितिमा निर्माण कार्यलाई केही समयका लागि स्थगित गर्ने गरी कानुनी रूपमै 'होलिडे' घोषणा नभए धेरै निर्माण कम्पनीहरू धराशायी हुने व्यवसायीहरूको चेतावनी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण