मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एण्ड टी ट्रेडिङको साथ

मङ्गलबार, ०३ चैत २०८२, २० : ४४
मङ्गलबार, ०३ चैत २०८२

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा हुने नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितालाई बी एण्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने भएको छ ।

आयोजकका अध्यक्ष धर्मकुमार श्रेष्ठ र बी एण्ड टीका प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले आज प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बी एण्ड टीले आयोजकलाई २० लाख रूपैयाँ जापानी येन उपलब्ध गराउने छ।

प्रतियोगितामा क्याडेट र जुनियर गरी ३५ स्पर्धा समावेश छन् । १८ वर्षमुनि क्याडेटको पुरुषमा ११ र महिलामा १० गरी २१ स्पर्धामा खेल हुनेछ । १८ देखि २१ वर्ष जुनियरको पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपालबाट प्रदेश, जिल्ला, क्लब, स्कुल र डोजोका खेलाडी सहभागी हुनेछन् । विदेशी राष्ट्रमा भुटान र बङ्गलादेशका खेलाडीले भाग लिनेछन् । तीन राष्ट्रबाट जम्मा ३०० खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

विगतका सातै संस्करणमा नेपालको बन्दी सहायता नियोग (पाम) टिम च्याम्पियन बनेको थियो । उत्कृष्ट दुई पुरुष र दुई महिला खेलाडीलाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ।

अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको रु पाँच लाख बराबरको बिमा गरिएको छ । उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करिब रु ३१ लाख खर्च हुने बताइएको छ । तीनदिने प्रतियोगिताका खेल खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्र (एमएमएसी) मा खेलाइने छन्।

पहिलो दिन नौ तथा दोस्रो र तेस्रो दिन समान १३–१३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप