‘लारिजानीको हत्याले इरानको राजनीतिक प्रणाली अस्थीर हुँदैन’
सारांश
- इरानले इजरायली आक्रमणको प्रतिक्रिया दिँदै आफ्नो राजनीतिक संरचना बलियो रहेको दाबी गरेको छ।
- इरानका विदेश मन्त्रीले अमेरिकालाई द्वन्द्वको लागि जिम्मेवार ठहराएका छन् र इरान आफ्नो रक्षाका लागि कदम चाल्ने बताए।
- विश्लेषकहरूका अनुसार इजरायलले विपक्षी नेताहरूलाई लक्षित गर्दै आएको छ, तर इरानको संरचना बलियो रहेकोले तत्काल प्रणाली ध्वस्त नहुने बताए।
तेहरान । पश्चिम एशियामा चर्कँदो द्वन्द्वका बीचमा इरानले आफ्नो राजनीतिक संरचना मजबुत रहेको दाबी गरेको छ । इजरायली आक्रमणमा शीर्ष सुरक्षा अधिकारी अलि लारिजानी मारिएपछि उत्पन्न परिस्थितिबारे प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले देशको सत्ता प्रणाली कुनै एक व्यक्तिमा निर्भर नरहेको स्पष्ट पारेका छन् ।
‘मलाई थाहा छैन किन अमेरिका र इजरायलीहरूले यो कुरा बुझिरहेका छैनन् किः इस्लामिक गणतन्त्र इरान एक बलियो र संस्थागत संरचनामा आधारित छ । यहाँ स्थापित राजनीतिक, आर्थिक र सामाजिक संस्थाहरू छन्, जसले प्रणालीलाई स्थिर राख्छन् । कुनै एक व्यक्तिको उपस्थित वा अनुपस्थितिले प्रणालीमा निर्णायक प्रभाव पार्दैन ।’ अल जजिरासँगको अन्तर्वार्तामा उनले भने ।
उनले विशेष रूपमा युद्धको पहिलो दिन अमेरिकी–इजरायली संयुक्त आक्रमणमा इरानका सर्वाेच्च नेता आयतुल्ला अली खामेनी मारिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । ‘हामीले सबैभन्दा महत्वपूर्ण नेता गुमायौँ, तर पनि प्रणाली तुरुन्तै अघि बढ्यो र नेतृत्वको निरन्तरता कायम गरियो,’ उनले भने ।
मारिएका लाजिरानी इरानको सर्वाेच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव थिए । देशको सुरक्षा तथा रणनीतिक निर्णयमा उनी अत्यन्त प्रभावशाली मानिन्थे । उनी दिवंगत नेता खामेनीका निकट सहयोगी मात्र नभई खामेनीका माइला छोरा मोज्तबा खामेनीसँग समेत घनिष्ठ सम्बन्धमा थिए ।
उनको हत्या युद्ध सुरु भएको करिब तीन हप्तापछि इरानी नेतृत्वमा लागेको सबैभन्दा ठूलो धक्का मानिएको छ । सोही आक्रमणमा बसीजका प्रमुन घोलामरेजा सुलेमानी पनि मारिएका छन् । बसीज इरानको आन्तरिक सुरक्षा तथा विरोध दमनमा मुख्य भूमिका खेल्ने अर्धसैनिक संगठन हो, जुन इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी) अन्तर्गत सञ्चालन हुन्छ ।
विश्लेषकहरूका अनुसार इजरायलले आफ्नो सुरक्षा रणनीतिअन्तर्गत विरोधी पक्षका शीर्ष नेतृत्वलाई लक्षित गर्ने नीति अपनाउँदै आएको छ । मारवान बिशाराका अनुसार यस्तो अभ्यास परम्परागत युद्धको नियमभन्दा फरक छ । उनले भने, ‘युद्धमा प्रायः सैनिक संरचनामा आक्रमण गरिन्छ, तर राजनीतिक नेतृत्वलाई सुरुदेखि नै निशाना बनाउने अभ्यास सामान्य होइन ।’ यद्यपि उनले इरानको संस्थागत संरचना बलियो रहेकाले एक वा केही नेताको हत्या मात्रले तत्काल प्रणाली ध्वस्त नहुने बताए । तर दीर्घकालीन रूपमा यस्ता घटनाले संरचनामा गुणात्मक परिवर्तन ल्याउन सक्ने चेतावनी भने उनले दिएका छन् ।
विदेश मन्त्री अराघचीले बढ्दो द्वन्द्वका लागि अमेरिकालाई मुख्य जिम्मेवार ठहर गरेका छन् । ‘यो युद्ध हामीले सुरु गरेका होइनौँ । अमेरिका नै यसको सुरुवातकर्ता हो र यसको सबै मानवीय तथा आर्थिक परिणामका लागि जिम्मेवार हुनुपर्छ,’ उनले भने । इरानले आफ्नो रक्षा र सार्वभौमिकताको संरक्षणका लागि आवश्यक कदम चालिरहने पनि उनले स्पष्ट पारे । साथै, यदि अन्य नेताहरू पनि मारिए भने पनि प्रणालीले निरन्तरता कायम राख्ने उनको दाबी छ ।
हाल इरान, इजरायल र अमेरिकाबीचको द्वन्द्वले मध्यपूर्वमा गम्भीर अस्थिरता सिर्जना गरेको छ । लगातार आक्रमण, लक्षित हत्या र प्रतिकारात्मक कारबाहीले स्थिति झन जटिल बन्दै गएको छ । विशेषज्ञहरूका अनुसार यदि यस्ता आक्रमणहरू निरन्तर जारी रहे भने यसले केवल इरानको आन्तरिक संरचनामा मात्र नभई सम्पूर्ण क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन असर पार्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण