हामीलाई प्रतिरोधी सांस्कृतिक दिवस किन चाहिन्छ ?
सारांश
- संस्कृति मानव जीवनका अनुभव, आदर्श र सभ्यताको अभिव्यक्ति हो भनी मार्क्स, माओ र किरणले परिभाषित गरेका छन्।
- वर्गसङ्घर्ष र उत्पादन सम्बन्धमा आउने परिवर्तनले संस्कृतिलाई रूपान्तरण गर्छ, जसले नयाँ संस्कृति निर्माणमा सहयोग गर्छ।
- नेपालमा जनयुद्धले नयाँ संस्कृति स्थापना गरेको थियो, तर राजनीतिक प्रतिक्रान्तिले यसलाई क्षति पुर्यायो, र सांस्कृतिक प्रतिरोध दिवस मनाइन्छ।
- परिभाषा
संस्कृति मानवजीवनको अनुभव, आदर्श र सभ्यताको अभिव्यक्ति हो । यो मानिसका विचार, आनीबानी, संस्कार र विश्वदृष्टिकोणका रूपमा अभिव्यक्त हुन्छ । संस्कृतिका बारेमा केही स्थापित परिभाषाहरू हेरौँ:
‘जुन समाजमा, जुन वर्गको आधिपत्य रहन्छ, त्यसै वर्गको सांस्कृतिक आधिपत्य हुने गर्छ ।’ – कार्ल मार्क्स
‘संस्कृति भनेको सम्बन्धित समाजको अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिबिम्बन हो ।’ – माओत्सेतुङ
‘जसरी एक वर्गको आर्थिक र राजनीतिक स्वार्थ अर्को वर्गको स्वार्थसँग टकराउँछ, त्यसरी नै एक वर्गको संस्कृतिसित अर्को वर्गको संस्कृति पनि टकराउँछ ।’ – पुष्पलाल श्रेष्ठ
‘संस्कृति भनेको समाजको ऐतिहासिक विकासको प्रक्रियामा निर्मित भौतिक तथा आत्मिक मूल्यहरूको संश्लेषण हो ।’ – मोहन वैद्य ‘किरण’
- संस्कृति र संस्कारबिच परिपूरकता
संस्कृति मानवसभ्यताको विकासका क्रममा उत्पादनका लागि सङ्घर्ष, जीवनका लागि सङ्घर्ष र वर्गसङ्घर्षबाट निर्मित जीवनशैली, चिन्तन, प्रवृत्ति र व्यवहार हो । मार्क्सवादी संस्कृतिकर्मी र सौन्दर्यचिन्तकहरूका अनुसार संस्कृतिको निर्माण श्रम प्रक्रिया र सङ्घर्षका बिचबाट हुन्छ । वर्गसमाजमा दर्शन, विचार, राजनीति, अर्थशास्त्र र कलाजस्तै संस्कृति पनि वर्गीय हुन्छ । संस्कृति निर्माणको मूल आधार उत्पादन सम्बन्ध र वर्गसङ्घर्ष हो ।
सामन्तवादी उत्पादन सम्बन्ध भएको समाजको संस्कृति सामन्तवादबाट ग्रस्त/प्रभावित हुन्छ । पुँजीवादी उत्पादन सम्बन्ध भएको समाजको संस्कृति व्यक्तिवादी–पुँजीवादी, साम्राज्यवादी, उत्तरआधुनिकतावादी, नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्था र त्यसैमा आधारित दलाल उत्पादन सम्बन्ध भएको समाजको संस्कृति दलाल, अश्लील, अराजकतावादी हुन्छ भने समाजवादी उत्पादन सम्बन्ध भएको समाजको संस्कृति वैज्ञानिक समाजवादी हुन्छ ।
यसको अर्थ सत्ता र संस्कृतिबिचको सम्बन्ध अन्योन्याश्रित हुन्छ र संस्कृतिसँगै संस्कार पनि अभिव्यक्त हुन्छ । संस्कृति विचार, संस्कार र व्यवहारका माध्यमबाट अभिव्यक्त हुने भएकाले यिनीहरूबिच गहिरो अन्तरसम्बन्ध हुन्छ ।
यतिबेला नेपाली समाज नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थामा जकडिएकाले यहाँको सत्ता संस्कृति पनि दलाल पुँजीवादी नै रहेको छ । यस किसिमको मानवताविरोधी संस्कृतिका विरुद्ध जनवादी–समाजवादी संस्कृति निर्माणका प्रयासहरू पनि क्रान्तिको प्रक्रियासँगसँगै अघि बढिरहेका छन् ।
सत्ताको मूल चरित्र र स्वरूप राष्ट्रियताविरोधी, जनतन्त्र, जनजीविका, स्वतन्त्रता, समानता र मूलतः मालेमा (मार्क्सवाद-लेनिनवाद-माओवाद) वा वैज्ञानिक समाजवादविरोधी भएकाले सत्ता संस्कृति पनि मूलतः दलाल छ । यस किसिमको अपसंस्कृतिका विरुद्धको आन्दोलन राजनीतिक आन्दोलनकै पूरक भएर अघि बढिरहेको छ । संस्कृतिका बारेमा कार्ल मार्क्स, माओ, पुष्पलाल र किरणले गर्नुभएको परिभाषा र व्याख्याले वर्गसमाजको चरित्र र वर्गसङ्घर्ष–उत्पादन सम्बन्धमा आएको परिवर्तनअनुसार नै संस्कृति पनि रूपान्तरित र निर्माण हुँदै जाने विषय हो भन्ने प्रस्ट हुन्छ ।
वर्गसङ्घर्षले नै नयाँ संस्कृति निर्माण गर्ने विषय नेपालमा जनयुद्धका क्रममा निर्माण, प्रयोग र विकास भएको नयाँ अर्थात् जनवादी संस्कृतिका भ्रूणहरूले पनि प्रस्ट पारिसकेका छन् । यद्यपि यथास्थितिवादसँग परिवर्तनकारी शक्तिको मूल नेतृत्वले गरेको लज्जाजनक सम्झौताका कारण उत्पन्न राजनीतिक प्रतिक्रान्तिसँगै वर्गसङ्घर्ष निर्मित नयाँ संस्कृतिका भ्रूणहरूको पनि हत्या भएको छ । अहिले नयाँ ढङ्गबाट उठ्दै गरेको समाजवादी जनक्रान्तिका कार्यक्रमको गति र प्रवाहसँगै पुनः नयाँ वा जनसंस्कृतिको निर्माण हुने क्रम जारी छ ।
यो मानवसभ्यताको विकासको निरन्तर प्रक्रिया भएकाले वर्गसङ्घर्षसँगै यसको स्वरूपमा परिवर्तन भइरहन्छ र भौतिक तथा आत्मिक अवस्थाले एकले अर्कालाई रूपान्तरित गर्ने प्रक्रिया पनि चलिरहन्छ । क्रान्तिको तीव्रताको समयमा सांस्कृतिक रूपान्तरणको प्रक्रिया पनि तीव्र रूपमा अघि बढिरहेको हुन्छ भने त्यो सुस्त हुँदा सांस्कृतिक क्रान्ति पनि मन्द हुन्छ । विगत इतिहासमा जस्तो सांस्कृतिक क्रान्ति अहिले तीव्रतामा देखिएको छैन तर दलाल संस्कृतिसँग निरन्तर सङ्घर्ष भने भइरहेकै छ ।
संस्कृतिको सामान्य अर्थ निर्माण, रचना, परिष्कृति वा परिमार्जन हुने किरण बताउँछन् । संस्कृतिअन्तर्गत मूलतः विचार, आचार, मूल्य, मान्यता, रीतिरिवाज, चालचलन, कला आदि आउने मार्क्सवादी मान्यता छ । किरणका अनुसार संस्कृति र सभ्यता परस्पर सम्बन्धित छन् । सभ्यता मुख्यतः भौतिक र संस्कृति मुख्यतः आत्मिक पक्षसँग सम्बन्धित हुन्छन् ।
मार्क्सवादी संस्कृतिका अर्का अध्येता डा. ऋषिराज बरालका अनुसार संस्कृति व्यक्ति र समष्टि, जीवन, समाज, व्यवहार र सिद्धान्तबिचको सम्बन्धलाई दर्साउने र विभिन्न रूप तथा माध्यमद्वारा प्रस्तुत हुने सामाजिक अभिव्यक्ति हो । बरालका अनुसार संस्कृति मानव जीवन व्यवहारसित सम्बद्ध जटिल संरचनात्मक पक्ष हो । यसको सम्बन्ध सामाजिक मान्छेको जीवनव्यवहार, जीवनशैली, उसका समग्र आत्मिक र भौतिक क्रियाकलापसित छ । त्यसैले संस्कृति मान्छेको आत्मिक र भौतिक क्रियाकलाप, समग्र व्यवहार तथा जीवनशैली हो । यसमा मान्छेका जीवन व्यवहारका विविध पक्षका साथै विश्वदृष्टिकोण र वैचारिक पक्ष पनि प्रतिबिम्बित भइरहेको हुन्छ । सांस्कृतिक पक्ष व्यक्ति र उसको व्यवहारमा मात्र सीमित हुँदैन, वर्गसमाज र वर्गसत्ताको अभिव्यक्ति बनेर प्रतिबिम्बित भइरहेको हुन्छ । संस्कृति मानिसको चिन्तन, प्रवृत्ति, विचार, व्यवहार र विश्वदृष्टिकोणसँग सम्बन्धित छ । बरालका अनुसार संस्कृति समष्टिको व्यक्तिमा र व्यक्तिको समष्टिमा रूपान्तरित र अभिव्यक्त हुने प्रक्रिया हो ।
संस्कृति सामाजिक घात–प्रतिघात र द्वन्द्वको उपजका रूपमा रहेको उनको मान्यता छ । मान्छेले प्रकृति, समाज र आफू स्वयंसित गरेको सङ्घर्षको कुल प्रतिफलका रूपमा संस्कृति निर्माण र अभिव्यक्त हुने मार्क्सवादी मान्यता छ । अवैज्ञानिक मान्यताका विरुद्ध वैज्ञानिक मान्यताले सञ्चालन गरेको सचेत वर्गसङ्घर्षबिचबाट नवीन संस्कृतिको निर्माण हुन्छ । संस्कृतिले कुरूप र सुन्दर, वैज्ञानिक र अवैज्ञानिक, जनविरोधी र जनपक्षीय गरी दुई वर्गदृष्टिकोणअनुसारको चरित्र र सारतत्व बोकेको हुन्छ ।
- उठान
सामन्ती युगमा त्यतिबेलाको चेतनाले आरम्भ गरेका संसारका हरेक बस्ती, समुदाय, सम्प्रदाय र जातिविशेषका प्रायः उत्सव, विशेष पर्व, चाडबाड, संस्कार, संस्कृति, सिर्जना र कलाहरू अध्यात्म, अन्धविश्वास र रूढिसँग जेलिएका छन् । पुँजीवादी चरम उपभोक्तावादले पनि तिनै रूढि र अन्धविश्वासको टेको वा सहारा लिएर आफ्ना व्यापार–व्यवसाय सञ्चालन गरेर अस्तित्व धानिरहेको छ । समाजमा सभ्यता र चेतनाअनुसार आवश्यकताले अनिवार्य प्रक्रियाका रूपमा संस्कार र संस्कृतिहरू निर्माण हुन्छन् ।
मानिस सामाजिक प्राणी भएकाले समाजमा घुलमिल हुन, रमाउन, एकापसमा मिलेर काम गर्न, आत्मीयता बाँड्न चाहन्छ । सभ्य र उन्नत संस्कार तथा संस्कृतिहरूले मानिसलाई सामूहिकतामा रमाउन ऊर्जा र उत्प्रेरणा भर्ने गर्छन् । सामूहिक रूपमा गरिने यस्ता उत्सवहरूले संस्कार र संस्कृतिको स्वरूप धारण गर्छन् तर शासकहरूले षड्यन्त्रपूर्वक यस किसिमका संस्कार र संस्कृतिमा अध्यात्म, रूढि, पाखण्ड, उपभोक्तावाद र निजी सत्तास्वार्थ घुसाइदिन्छन् र क्रमशः त्यो रूढिका रूपमा सञ्चालन हुन थाल्छ ।
हिजोको समाजमा हिजोको चेतना, क्षमता र आवश्यकताअनुसार निर्माण गरेका संस्कार र संस्कृतिहरू आज 'मिति सकिएको औषधि' जस्तै भइसक्दा पनि समाजले ग्रहण गरिरहेको पाइन्छ । मक्किएर ढल्न लागेको जीर्ण घरजस्तै बनिसक्दा पनि त्यसलाई जोगाएर र आड दिएर राख्ने काम परम्परावादीहरूको हो । संस्कार र संस्कृतिका नाममा ऐँजेरु र उपभोक्तावादी, अश्लील, व्यक्तिवादी, अराजक र निराशावादी संस्कृति निर्माण गर्नु साम्राज्यवादी तथा नवऔपनिवेशिक दुष्कर्म हो ।
अगाडिको उज्यालो भविष्य देख्न नसक्ने, वर्तमानमै रुमल्लिइरहने र पश्चगमनको यात्रा गर्न रुचाउने परम्परावादीहरूले जोगाएका अनावश्यक संस्कार तथा साम्राज्यवाद र नवऔपनिवेशिक पुँजीवादले निर्माण गर्ने उत्तरआधुनिकतावादी, अराजक, छाडा, व्यक्तिवादी र निराशामा आधारित संस्कृतिको प्रतिस्थापन नयाँ चेतना, नयाँ आवश्यकता र नयाँ तत्परताले मात्र गर्न सक्छ । यो आवश्यक मात्र होइन, सम्भव पनि छ ।
नेपाल बहुजातीय र बहुसांस्कृतिक समाज भएको मुलुक भएकाले यहाँ विभिन्न किसिमका पर्वहरू संस्कृति र संस्कारका रूपमा मनाउने गरिएको पाइन्छ । हरेक पर्व र संस्कृतिले आ-आफ्नो समुदायअनुसारका धार्मिक वा गैरधार्मिक आस्था बोकेका हुन्छन् । नेपाल हिन्दुबहुल समाज भएकाले यहाँ हिन्दु संस्कृतिहरूको प्रभाव बढी छ । हिन्दु धर्मावलम्बीहरूको नेतृत्वले लामो समयसम्म शासनसत्ता सञ्चालन गरेकाले यो सत्ता संस्कृतिका रूपमा समाजमा हाबी छ । अर्कातिर, यस समुदायभित्रका रूढि, अन्धविश्वास र पाखण्डपूर्ण संस्कारका कमजोरीमा टेकेर आयातित अर्को पाखण्ड क्रिस्चियन धर्म र छाडा–अराजक संस्कृतिले समाजलाई बिथोल्न थालेको छ ।
हिन्दु अतिवाद र क्रिस्चियन अतिक्रमणका कारण अन्य धर्म, संस्कृति र समुदाय चेपाइमा पर्दै गएका छन् । यद्यपि कार्ल मार्क्सले भन्नुभएझैँ कुनै पनि धर्म 'अफिम' हो । अफिममय धर्म, संस्कार र संस्कृतिबाट मुक्ति पाउन र समाजवादी संस्कार तथा संस्कृति निर्माण गर्न वर्गसङ्घर्षलाई निर्णायक बनाउनैपर्छ । वर्गसङ्घर्ष तीव्रतामा अघि नबढेको अवस्थामा जनसंस्कृति निर्माणको क्रम पनि सुस्त हुन्छ ।
संस्कृति मानवचेतनाको उत्कर्ष स्वरूप हो । वर्गसङ्घर्षको माध्यमबाट निर्मित समाज जति चेतनशील बन्दै जान्छ, उति नै सभ्य, सुसंस्कृत र वैज्ञानिक हुन्छ । परम्परावादी र उपभोक्तावादी संस्कार–संस्कृतिलाई त्याग्दै नयाँ जनवादी र समाजवादी संस्कृति निर्माण तथा अवलम्बन गर्दै जानु नै आजको आवश्यकता हो । समाज जति द्वन्द्ववादी र वैज्ञानिक बन्दै जान्छ, उति नै सुसंस्कृत हुन्छ । आदिम साम्यवादी युगपछिको वर्गसङ्घर्षको इतिहास हेर्दा मानिस क्रमशः बढी वैज्ञानिक र सचेत बन्दै गएको देखिन्छ । यो वर्गसङ्घर्षको परिणाम र सामूहिक चेतनाको उपज हो ।
मानिसको जन्मदेखि मृत्युसम्मका संस्कारमा उसको जीवनदर्शन अभिव्यक्त हुन्छ । शोषणरहित, सभ्य र उच्च चेतनाले ओतप्रोत समाजवादी युगको निर्माणका लागि वर्गसङ्घर्षकै क्रममा संस्कार र संस्कृतिका लागि पनि सङ्घर्ष भएका छन् । यस अर्थमा वैचारिक–राजनीतिक सङ्घर्ष र सांस्कृतिक सङ्घर्ष एकअर्काका परिपूरक हुन् । संस्कृति र संस्कार सत्तासँग जोडिएको प्रश्न भएकाले समाजमा वर्गसङ्घर्ष जति घनीभूत बन्छ, उति नै वैज्ञानिक र जीवनवादी संस्कृतिको निर्माण हुन्छ ।
महान् जनयुद्धका क्रममा निर्मित संस्कार–संस्कृतिले यो कुरा प्रमाणित गरिसकेको छ । यद्यपि राजनीतिमा भएको प्रतिक्रान्तिसँगै दलाल पुँजीवादी संस्कृति सत्ता संस्कृति बनेकाले विद्यमान संस्कार र संस्कृतिमा भ्रष्टीकरण हुँदै गएको छ । हामीलाई विश्वास छ, वर्गसङ्घर्षको निरन्तर प्रक्रिया र अर्को उचाइको वैज्ञानिक समाजवादी जनक्रान्तिसँगै परम्परागत संस्कार पनि रूपान्तरित भई नयाँ र समाजवादी संस्कृति निर्माण हुनेछन् ।
राजनीतिक क्रान्तिसँगै निर्माण हुने जनसत्तामा संस्कार र संस्कृति पनि जनपक्षीय बन्दै जान्छन् । मानिस पढेर मात्र होइन, लडेर, परेर र खारिएर सुसंस्कृत बन्छ । सामाजिक प्राणी मानिसले आफूसँगै समग्र समाजलाई नै सभ्य बनाउने प्रयत्न गर्छ । त्यसैले संस्कार र संस्कृति पनि राजनीतिक सत्ताजस्तै सामूहिक प्रयत्नबाट बदलिन्छन् । यो लामो र कठिन प्रयत्नबाट मात्र सम्भव हुन्छ ।
- विस्तार
विभिन्न अध्ययनहरूबाट प्रमाणित भइसकेको छ– संस्कृतिलाई मानवजातिको चेतनाअनुसार पुरातन र नवीन गरी दुई पक्षमा आबद्ध गर्न सकिन्छ । पुरातन संस्कृति मानवचेतना अविकसित र पछौटे हुँदाको अवस्थाको प्रतिगमनकारी संस्कृति हो । यसले अग्रगमनको विरोध गर्छ । यो सामन्तवाद, साम्राज्यवाद तथा नवऔपनिवेशिक दलाल पुँजीवादी संस्कृति हो ।
पुरातन अन्धविश्वासमा आधारित भएर राजा-महाराजा, गुरुपुरोहित, सामन्त र मुखिया आदिको हित रक्षा गर्ने यो संस्कृति विज्ञानमा नभएर दासतामा आधारित हुन्छ । यसले मानवमूल्य र श्रमको सम्मान गर्दैन । शिल्पी, श्रमिक, दलित, महिला र उत्पीडित समुदायमाथि झन् दमन गर्ने, पितृसत्तावाद लाद्ने र महिलालाई विलासिताका साधन ठान्ने मनुवादी मान्यता यसले बोकेको हुन्छ । सतीप्रथा, अनमेल विवाह, बहुपत्नी प्रथा जस्ता कुसंस्कार यसैको उपज हुन् । पाश्चात्य र पूर्वीय दुवै पुरातन संस्कृतिले महिलालाई उपभोग्य वस्तुका रूपमा लिन्छन् ।
पूर्वीय पुरातन संस्कृति वर्णव्यवस्था र जातपातमा आधारित रहेको किरणको भनाइ छ । यसले समाजलाई चार वर्णमा विभाजन गरेको छ, जुन लिच्छवि कालदेखि जयस्थिति मल्ल हुँदै आएको छ । यसबाट दलित समुदाय सबैभन्दा बढी प्रताडित छ । धनी र गरिब हुनु पाप र पुण्यको फल हो भन्ने यसले पुनर्जन्म र भाग्यलाई स्वीकार्छ । यो पूर्ण रूपमा आदर्शवादमा आधारित छ । मालिकको सेवा गर्नुलाई 'सौभाग्य' ठान्ने र स्वर्ग-नर्कको भय देखाउने यो संस्कृतिका मुख्य आधार वेद, स्मृति र पुराणहरू हुन् ।
पश्चिमा साम्राज्यवादी चिन्तनको प्रतिनिधित्व गर्ने संस्कृति विकृत पुँजीपति वर्गको एकाधिकार अर्थतन्त्र र फासिवादी राजनीतिमा आधारित हुन्छ । बहुलवाद, शून्यवाद र भूमण्डलीकरण यसका विशेषता हुन् । यसले उत्पीडित राष्ट्र र वर्गलाई हेय ठान्छ र नाफाका लागि मानिसलाई प्रविधिको कठपुतली बनाउँछ । यौनअराजकता, उत्तरआधुनिकतावाद, चरम व्यक्तिवादिता र निराशा लाद्नु यसको मूल चरित्र हो ।
सामन्तवादी र साम्राज्यवादी संस्कृतिको मिश्रण वा 'खिचडी' संस्कृति नै संशोधनवादी संस्कृति हो । यसको आफ्नै मौलिक दार्शनिक आधार हुँदैन । वर्गसङ्घर्ष र मालेमा परित्याग गर्नु, सामन्तवाद-साम्राज्यवादको पक्षपोषण गर्नु र सदैव अवसरवादी बनिरहनु यसको चरित्र हो । यसले आमूल परिवर्तन र सांस्कृतिक क्रान्तिको विरोध गर्छ । यो मिश्रित संस्कृतिमा एकातिर मठमन्दिर र पूजाआजा हुन्छ भने अर्कातिर डान्सबार र वेश्यालयहरू पनि साथसाथै चल्छन् । देवीको पूजा गर्ने तर मन्दिरमै बलात्कार पनि गर्ने र सुन्दरी प्रतियोगिता सञ्चालन गर्ने प्रवृत्ति यसैको उपज हो ।
यी सबैभन्दा बेग्लै र उन्नत संस्कृति 'नयाँ संस्कृति' वा वैज्ञानिक समाजवादी संस्कृति हो । यो मालेमावादमा आधारित हुन्छ र विज्ञानलाई आधार मान्छ । यसले सामन्तवादी र साम्राज्यवादी विकृतिविरुद्ध सङ्घर्ष गर्छ । यसले जनवादको सम्मान गर्छ, श्रमप्रति आस्था राख्छ र नारीप्रति सम्मानजनक दृष्टिकोण राख्छ । यसले छुवाछूतको अन्त्य, प्रेमविवाहको प्रोत्साहन र राष्ट्रिय स्वाधीनताको रक्षामा जोड दिन्छ । नेपालमा कम्युनिस्ट विचारधारा, विशेषतः जनयुद्धको प्रक्रियाबाट यो संस्कृतिको विकास भएको हो ।
- सांस्कृतिक प्रतिरोध दिवस
सांस्कृतिक प्रतिरोध दिवस नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धले स्थापित गरेको नयाँ सांस्कृतिक पर्व हो । जनयुद्धले पुरातन र आयातीत साम्राज्यवादी विकृतिविरुद्ध सङ्घर्ष गर्दै सर्वहारा मानवतावादमा आधारित नयाँ संस्कृति निर्माणको अभियान सुरु गरेको थियो । आत्मत्याग, सामूहिकता, कमरेडली भावना र अन्तर्राष्ट्रियतावाद जनयुद्धले निर्माण गरेका संस्कृतिका अङ्ग हुन् ।
तत्कालीन फासिवादी सत्ताको सशस्त्र दमनका विरुद्ध निहत्था जनवादी संस्कृतिकर्मीहरूले विचार र आस्थाको रक्षा गर्दै प्रतिरोध गरेको सन्दर्भमा यो दिवस आरम्भ भएको हो । यो दिवस दिलमाया बम्जन र मस्त बिष्टदेखि काभ्रेको अनेकोटमा दुश्मनको बर्बर आक्रमणको सामना गर्दै बलिदान गर्ने सातजना जनकलाकारहरू— च्याङ्बा लामा, मञ्जु कुँवर, चिनीमाया तामाङ, गुम्बासिं तामाङ, सुभद्रा सापकोटा, डम्बर श्रेष्ठ र निर्मला देवकोटाको सम्झनामा मनाइन्छ । साथै इच्छुक, चुनु, शिव, शारदा र रक्तिम लगायतका योद्धाहरूको सहादतको सम्मानमा हरेक वर्ष चैत ५ गते यो दिवस मनाउने गरिन्छ । यो वर्ष हामी २७औँ सांस्कृतिक प्रतिरोध दिवस मनाइरहेका छौँ ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालको 'जनतामा आऊँ, जनताको सेवा गरौँ' अभियान यसै प्रतिबद्धताको एउटा ठोस प्रमाण हो । यो संस्कृति वैज्ञानिक समाजवादी जनक्रान्तिको सफलतासँगै समृद्ध बन्ने हाम्रो विश्वास छ ।
- उत्कर्ष
नेपालमा वर्गसङ्घर्षको नयाँ कडीका रूपमा २०५२ फागुन १ गते जनयुद्ध आरम्भ भएको थियो । यसले नयाँ जनवादी सत्ता कायम गर्दै समाजवाद स्थापना गर्ने उद्देश्य राखेको थियो । जनयुद्धले दार्शनिक र सांस्कृतिक रूपमा श्रेष्ठता हासिल गर्दै गर्दा फासिवादी सत्ताले अत्यन्त क्रूर दमन सुरु गर्यो । सरकारले क्रान्तिकारी नेताहरूको टाउकाको मूल्य तोक्ने र गैरकानुनी हत्यालाई प्रोत्साहन गर्ने काम गर्यो । निहत्था नागरिकको हत्या, सामूहिक बलात्कार र बस्तीहरू जलाउने जस्ता आततायी गतिविधि भए । 'रोमियो', 'किलो सेरा टु', 'सर्च एन्ड किल' जस्ता आपराधिक अभियानहरू सञ्चालन गरिए ।
यसै क्रममा २०५५ चैत ५ गते काभ्रेको अनेकोटमा सातजना जनकलाकारहरू वाद्यवादनका साथ बसिरहेको घरमा दुश्मनले आगो लगाइदियो र घेरा तोड्ने क्रममा उनीहरूको हत्या गरियो । उनीहरूले आत्मसमर्पण गरेर बाँच्नुभन्दा सर्वहारा वर्गका लागि सहिद हुनुलाई गौरव माने । यसैले उक्त दिनलाई 'सांस्कृतिक प्रतिरोध दिवस' घोषणा गरियो ।
सत्ताले अनेकोटमा मात्र होइन, रोल्पाको भाबाङ र गुम्चाल, अछामको डुङ्गला, डोटीको मुडभरा लगायतका दर्जनौँ स्थानमा सामूहिक हत्या गर्यो । कृष्ण सेन ‘इच्छुक’, चुनु गुरुङ, डीबी थापा, शिव श्रेष्ठ लगायतका सयौँ संस्कृतिकर्मीको हत्या गरियो । रोल्पाको भाबाङमा प्रशिक्षण लिइरहेका ११ जना जनकलाकारलाई २०५६ असार ८ गते कब्जामा लिएर हत्या गरियो ।
नेपालमा निरङ्कुश राणाशासनविरुद्ध 'मकैको खेती' लेखेबापत जेलमै बलिदान गर्ने प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीदेखि जनयुद्धका १७० भन्दा बढी सांस्कृतिक सहिदहरूप्रति हामी श्रद्धाञ्जली व्यक्त गर्दछौँ । सहिदहरूको सपना पूरा गर्न हामी जस्तोसुकै प्रतिरोध र बलिदानका लागि तयार छौँ ।
- निष्कर्ष
नेपालमा संस्कृतिकर्मीहरूको बलिदानको इतिहास लामो छ । १९८० सालमा सुब्बा कृष्णलाल अधिकारीले गरेको विद्रोहदेखि गङ्गालाल श्रेष्ठ र योगमायाको विद्रोहसम्मका इतिहास महत्वपूर्ण छन् । २०५५ चैत ५ गते अनेकोटमा भएको सातजना कलाकारको बलिदानले एउटा ऐतिहासिक कीर्तिमान कायम गर्यो । पेरिस कम्युनका योद्धाहरूको स्पिरिटमा उनीहरूले गौरवशाली मृत्यु रोजे ।
२७ वर्षदेखि चैत ५ गतेलाई मालेमावादी क्रान्तिकारीहरूले सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएका छन् । हामी संसारभरका प्रतिरोधी सांस्कृतिक आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।
नेपालमा अहिले मुख्य नेतृत्वको आत्मसमर्पण र वर्गघातका कारण जनयुद्धले निर्माण गरेको नयाँ चेतना र संस्कृति पनि प्रतिक्रान्तिको सिकार भएको छ । तर, वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशासहित पुनः नयाँ संस्कृति निर्माणको प्रक्रिया अघि बढेको छ । प्रतिरोधी सांस्कृतिक चेतना र निरन्तर क्रान्तिबाट नै वैज्ञानिक समाजवादी सत्तासँगै समाजवादी संस्कृति निर्माण हुनेमा कुनै सन्देह छैन ।
(लेखक समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य एवं अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण