शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपा ठुलो पार्टी बनेर आएसँगै संसदीय दलका कार्यालय साटफेर

बिहीबार, ०५ चैत २०८२, १५ : ००
बिहीबार, ०५ चैत २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियत परिवर्तन भएपछि संसदीय दलका कार्यालयहरू साटफेर गरियो।
  • सचिवालयले नेकपा र रास्वपाको दलको कार्यालय साटफेर गरेको छ, जसमा रास्वपा पहिलो दल बनेको छ।
  • सचिवालयले बिहीबार राजनीतिक दलहरूसँग औपचारिक छलफल गर्दैछ, जसमा ६ वटा दल राष्ट्रिय दल बनेका छन्।

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राजनीतिक दलहरूको हैसियतमा फेरबदल भएको छ । दलीय हैसियत फेरबदल भएपछि संघीय संसद् सचिवालयले राजनीतिक दलका लागि छुट्ट्याएका संसदीय दलका कार्यालय पनि साटफेर गरिदिएको छ ।

संघीय संसद् सचिवालयले अघिल्लो प्रतिनिधिसभामा दलहरूलाई दिएका दलका कार्यालयबाटै काम चलाउने र दलीय हैसियतका आधारमा साटफेर गर्ने निर्णय लिएको हो ।

सचिवालयले मुख्यगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दलको कार्यालय साटफेर गरिदिएको हो । अघिल्लो संसदमा तेस्रो ठुलो दल रहेको नेपाली कम्युनिस्ट पार्टी चौथो दलमा झरेको छ भने चौथो रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेर आएको छ ।

नेकपाले प्रयोग गर्दै आएको भवन सबैभन्दा ठुलो दल रास्वपालाई दिने योजना सचिवालयले बनाएको हो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा रास्वपाले प्रयोग गरेको संसदीय दलको कार्यालयमा नेकपासहितका अन्य साना दलहरूका लागि व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ । अब त्यो भवनमा नेकपासहित राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीको पनि संसदीय दल रहनेछ ।

नेपाली कांग्रेस र नेकपा एमालेका संसदीय दलका कार्यालय भने पुरानै स्थानमा रहनेछन् ।

सचिवालयले निर्वाचनपछि राजनीतिक दलहरूसँग बिहीबार औपचारिक छलफल गर्न लागेको छ । दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बैठक हुने महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनबाट ६ राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।  निर्वाचनबाट रास्वपाले १८२ सिट जित्दै पहिलो दल बनेको छ । कांग्रेसले ३८ सिट जितेर दोस्रो बनेको छ । एमाले २५ सिट जितेर दोस्रो तथा नेकपा १७ सिट जितेर चौथो ठुलो दल बनेको छ ।

नयाँ पार्टी श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौ र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिट जितेर छैटौँ पार्टी बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप